कभर स्टोरी भिडियो मनोरञ्जन

‘मेरो विवाह नहुनुको मुख्य कारण रेडियो नेपाल पनि हो’ — कोमल ओली (भिडियोसहित)

‘मेरो विवाह नहुनुको मुख्य कारण रेडियो नेपाल पनि हो’ — कोमल ओली (भिडियोसहित)


फागुन २२ । चर्चित लोक गायिका तथा राप्रपाको केन्द्रिय सदस्य कोमल ओलीलाई आज आइतबार औपचारिक रुपमा रेडियो नेपालले बिदाइ गरेको छ । राजनीतिमा होमीन कोमलले रेडियो नेपालको जागिरबाट राजीनामा दिएकी हुन् । राप्रपाको एकता महाधिवेशनमा भारी मत ल्याएर उनी राप्रपा नेपालको केन्द्रिय सदस्यमा नियुक्त भएकी छिन् । आज आइतबार सिंहदरबारस्थित रेडियो नेपालको कार्यालयमा एक विशेष कार्यक्रमको आयोजना गर्दै ओलीलाई बिदाई गरियो । करिब २३ वर्ष समय रेडियो नेपालमा बिताएकी कोमल ओलीले केही महिनाअघि नै रेडियो नेपालको जागिरबाट राजीनामा दिएकी थिइन् । उनको राजीनामा स्वीकृत भएपनि बिदाई भने भएको थिएन । आज रेडियो नेपालले कोमलसँगै रेडियो नेपालकै पहिलो महिला इन्जिनियर प्रभा बस्नेतलाई पनि बिदाई गरेको छ ।
कार्यक्रममा ओलीबारे रेडियो नेपालका केही सदस्यहरुले आफ्ना अनुभव साटे । कोमल ओलीको आदर्श, इमान्दारिता तथा स्वरको चौतर्फी प्रशंशा भयो । उनले आफ्नो जीवनको उर्जाशील समय रेडियो नेपालमा बिताइन् । अहिलेसम्म पनि अविवाहित रहेकी कोमल ओली रेडियोमा निरन्तर रुपमा लागेर पनि विवाह नभएको हो की भन्ने नेपाल आजको प्रश्नमा उनले हाँस्दै जवाफ दिइन् ‘मेरो विवाह नहुनुमा एक मुख्य कारण रेडियो नेपाल पनि हो । कामको चापले गर्दा प्रेम गर्दै हिड्ने समय नै पाइन ।’
पत्रकारितालाई त्यागेर राजनीतिमा होमिने कोमलको चर्चा अहिले नेपाली संचारमाध्यममा व्यापक रुपमा छाएको छ । रबिन्द्र मिश्रजस्ता देशभर सकारात्मक रुपमा ख्याती कमाएका पत्रकार यसरी राजनीतिको मैदानमा उत्रिँदा अहिले संघर्ष गरिरहेका राजनीतिज्ञको लोकप्रियतामा धक्का पुग्ला भन्ने नेपाल आजको प्रश्नमा कोमलले ढुक्क हुँदै जवाफ दिइन् । सकेसम्म पार्टी धेरै नखोल्नु नै राम्रो भएको र जे भएपनि कसैको लोकप्रियताले आफूलाई कुनै फरक नपार्ने र आफूले गर्ने काम आफ्नो ठाउँबाट गर्दै जाने उनले बताइन् । दाङको गाउँबाट काठ्माडौं आएकी उनी रेडियो नेपालमा प्रवेश गर्दाको पहिलो दिन स्मरण गर्दै भनिन्, ‘सुरुसुरुमा निकै नर्भस हुन्थे । समाचार वाचन गर्दा मुटु धक्क फुलेर आउँथ्यो । तर विस्तारै बानी बस्यो ।’ सुरुवाती दिनमा पत्रकारिता पढेर नआएपनि उनले तालिम लिएर आफूलाई तिखार्दै लगिन् । पत्रकारिताको आचारसंहिता सिक्दै जाँदै उनले २३ वर्षको अनुभव रेडियो नेपालमा संगाल्न पाइन् । आज देशभर कोमल ओली भनेर चिचिनु सबै रेडियो नेपालकै देन भएको उनको भनाइ छ ।

komal oli farewell Radio Nepal

विशेष