खेल

चौथो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता चैतमा हुने

चौथो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता चैतमा हुने
फागुन–२३ । सर्वाधिक पुरस्कार राशि भएको चौथो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता आगामी चैत महिनामा म्याग्दीमा आयोजना हुने भएको छ । गँगटा युथ क्लब र म्याग्दी जिल्ला ब्याडमिन्टन एसोसिएसनको संयुक्त आयोजनामा चैत ९ देखि १२ गतेसम्म प्रतियोगिता सञ्चालन हुने क्लबका अध्यक्ष रेशम पुनले साेमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए। प्रतियोगिताको खेल म्याग्दीको सदरमुकाम बेनी कालीपुलस्थित बेनी कभर्ड हलमा हुनेछ । प्रतियोगितामा विभिन्न पाँच खेलमा प्रतिस्पर्धा हुनेछ । पुरुष डबल्स विधाको विजेताले एक लाख, उपविजेताले ५० हजार तथा तेस्रो स्थान हासिल गर्नेले १० हजार रुपैयाँ पाउनेछन् । त्यस्तै पुरुष सिङ्गल्सतर्फको विधामा पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने खेलाडीले क्रमशः ६० हजार, ३० हजार र १० हजार रुपैयाँ पाउनेछन् । यसैगरी महिला सिङ्गल्स र भेट्रानतर्फका विजेताले भने ३०–३० हजार रुपैयाँ पाउनेछन्। उपविजेताले १५ हजार तथा तेस्रो स्थान हासिल गर्नेले पाँच हजार रुपैयाँ प्राप्त गर्नेछन् । सत्र वर्षमुनि (यु १७) छात्र सिङ्गल्सका विजेतालाई भने काठमाडौँ जिल्ला ब्याडमिन्टन सङ्घले पुरस्कार प्रायोजन गरेको आयोजकले जनाएको छ। प्रतियोगितामा करिब ३०० खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजकको भनाइ छ। रासस

चौथो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता ब्याडमिन्टन म्याग्दी

विशेष