विचार

पहाडबाट कार्यकर्ता ओसारेर मधेसमा ताण्डव गरे ओलीले

पहाडबाट कार्यकर्ता ओसारेर मधेसमा ताण्डव गरे ओलीले

बिनोज शर्मा एक दशक लामो माओवादी जनयुद्धको अन्त्यपछि पहिलो संविधानसभाको चुनावमा विश्लेषकहरुले माओवादीले १०–१५ सिटमात्रै जित्ने विश्लेषण गरेका थिए । त्यसको ठीक विपरीत तत्कालीन नेकपा माओवादीले पुराना पार्टीहरु नेकपा एमाले र नेपाली कांग्रेसलाई ठूलो अन्तरले पछाडि पार्यो । त्यसैगरी दोस्रो संविधान सभाको चुनवामा धेरैले माओवादीले चुनाव जित्ने आँकलन गरेका थिए । त्यसको ठीक विपरीत माओवाद प्रथम पार्टीबाट तेस्रो पार्टीमा खुम्चिनु पर्यो । दोस्रो संविधानसभाको निर्वाचनमा पुष्पकमल दाहाल प्रचण्डले अहिले नेकपा एमालेले गरको जस्तै मेची महाकाली यात्रा गरेका थिए र दुई तिहाई मत जनतासँग मागेका थिए । यसै गरी पूर्वराजा ज्ञानेन्द्र शाहले पनि आफ्नो भ्रमण व्यापक बनाएका थिए । व्यापक जनसहभागिता भए पनि न माओवादीले आफ्नो विजय यात्रा कायम गर्न सक्यो त ज्ञानेन्द्रले सत्ता जोगाउन सके ।

अहिले नेकपा एमालले यस्तै यात्रा गरिरहेको छ । मेची महाकाली जागरण अभियान नाम दिइएको यस यात्रा माओवादी र ज्ञानेन्द्रको सिको गरेको देखिन्छ । दुवै प्रचण्ड र ज्ञानेन्द्र आफ्नो पक्षमा जनमत रहेको कुरामा विश्वस्त थिए । सतही रुपमा एमालेले गरेको यात्रामा व्यापक जनलहर देखिन्छ । तर यसको भित्री अर्थ गम्भीर तथा फरक देखिन्छ ।

एमालेले आफ्नो यात्रा मधेस केन्द्रीत गरेको देखिन्छ । यसको अर्थ एमालेको जनाधार मधेसमा कमजोर हुनु हो । मधेसमा जनाधार कमजोर हँदै गएको कारणले गर्दा एमालेले पहाडबाट मधेसतर्फ झरेको स्पष्ट हुन्छ । नाकाबन्दीमा भारतसँग लिएको अडानका कारण ओली पहाडी समुदायमा लोकप्रिय छन् । त्यसै कारणले गर्दा उलने हिमाल र पहाडमा जागरण अभियान सञ्चालन गर्न जरुरी सम्झेनन् ।

एमालेले एउटा कुरा बुझ्न जरुरी छ कि सडकमा देखिएका सबै जनताहरु एमालेका मतदाता होइनन् । ज्ञानेन्द्र र पचण्डलाई हेर्न पनि मानिसहरुको भिड लागेकै हो । यहाँ त सिंगो एमालेका राष्ट्रिय स्तरका नेताहरुका सहभागीता छ । हेर्नै पनि भिड लाग्ने भयो ।

दोस्रो पहाडबाट भाडाका गाडीमा एमालेले ठूलो संख्यामा आफ्ना कार्यकर्ता मधेसतर्फ ओसारेको आरोप पनि लागेको छ । पहाडबाट ठूलो संख्यामा मधेसमा मान्छे ओसार्नु भनेको के हो ? यसको दुइवटा कारण छ । पहिलो, आफ्नो जनाधार बलियो देखाउनु । यसले मनोवैज्ञानिक रुपमा एमाले बलियो छ भनेर देखाउन सहयोग पुग्दछ । दोस्रो, झडपको स्थिति सिर्जना गर्नु । नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीको मात्र नभएर गुण्डाहरुको पनि नेतृत्व गर्ने गरेको चर्चा सुनिन्छ । एमालेकै विपरीत गुटका नेता कार्यकर्ता यस विषयमा खुलेर कुरा गर्छन् ।

एमाले अध्यक्ष ओलीले मधेसवाद दलका नेता कार्यकर्ताहरुलाई भित्तामा पुर्याउने गरी गाली गर्ने गरेका छन् । उनको छुच्चोपन तथा आक्रामक अभिव्यक्तिका कारण ओली मधेस विरोधी नेताका रुपमा केही मोर्चाका नेताहरुले अथ्र्याउने गरेका छन् ।

मधेसी मोर्चाका नेताहरुले त केपी ओलीलाई ‘महापापी’ नै भन्ने गरेका छन् । पाँच महिना नाकाबन्दी गरेर नेपाली जनतालाई मर्नु न बाँच्नुको अवस्थामा पुर्याउन सहयोग गर्ने मोर्चाका नेता कार्यकर्ता पनि ‘महापापी’को आरोपबाट मुक्त छैनन् ।

मधेसी नेताहले एमालेमुक्त मधेस बनाउने अभिव्यक्ति दिने गरेका हुन् । यस्तो स्थितिमा झडप हुने सम्भावना प्रबल थियो । हालै भएको झडपमा केहीको मृत्यु भइसकेको छ भने १५–२० जना मोर्चाका कार्यकर्ता घाइते भएका छन् ।

एमालेका नेता कार्यकर्ताले यो स्थितिको आंकलन पक्कै पनि गरेका थिए । यस्तो स्थितिमा मधेसलाई केन्द्रमा राखेर जागरण अभियान संचालन गर्नुमा केपी ओलीको मुढे बलको परिणाम भएको जानकारहरु बताउँछन् । मुलुकको दोस्रो ठूलो दल, प्रमुख प्रतिपक्षी एमाले जस्तो पार्टीले क्षेत्रीय जातीवादी मोर्चासँग जोरी खोज्न सहाउँछ ? जबकी एमालेको एक भातृसंगठन जत्तिको सञ्जाल पनि मधेसी मोर्चामा आबद्ध सबै दलको छैन । यसरी भए पनि चुनाव गराउनु पर्छ भन्ने एमाले र संविधान संशोधन गरेपछि मात्र चुनाव गराउनु पर्छ भन्ने मोर्चाको अपरिपक्व राजनीतिले गर्दा मानिसहरुको ज्यान जाने स्थिति बनेको छ ।

यस झडपले गर्दा अन्य पार्टी, समुदायका मानिसको पनि ज्यान जान सक्छ । जो मरे पनि नेपालीको मृत्यु भएको छ । यस्तो झडपले देशलाई अस्थिरतातर्फ धकेल्छ । केपी ओलीको यस्तो अपरिपक्व राजनीतिले देश विभाजनको स्थितिसम्म पुर्याउन सक्छ । मधेसीहरुलाई झन टाढा पुर्याएर सिके राउत जन्माउने एमालेको नियत देखिन्छ । यस्तो स्थिति कायम रहे बहुराष्ट्रवादको मुद्धा चर्को हुने सम्भावना छ । बिभाजनवादी शक्तिहरुको कुकर्म सतहमा आउन सक्छ ।

यसले एमालेलाई पनि प्रभाव नपारी रहन सक्दैन । मान्छेको मृत्यु भएको स्थितिमा विभिन्न समुदायमा एमालको जनमत गुम्दै जान्छ । पहाडबाट मधेसमा गएका मानिस मरेमा पहाडीको जनमत एमालेले गुमाउने सम्भावना छ । मधेसीहरु त रिसाउने नै भए ।

एमालेले चुनाव जित्न दुईवटा हतियार प्रयोग गरेको देखिन्छ । पहिलो मधेसविरोधी भावना बढाएर पहाडी समुदायको भाटे तान्ने । अर्को शब्दामा भन्नु उग्र राष्ट्रवादको नारा लिएर जनताहरुर्ला भ्रममा पारेर भोट माग्ने । अर्को हतियार भनेको ‘मसल पावर’ प्रयोग गर्ने । कांग्रेस र माओवादीका नेता कार्यकर्तालाई आक्रमण गर्ने । जिल्ला प्रवेशमा रोक लागउने । कांग्रेस नेता रामशरण महत र अमरेश कुमार सिंहमाथि भएको आक्रमणले यसको संकेत गर्छ । अन्ततः क्षणिक रुपमा एमालेलाई फाइदा भए पनि देश टुक्रयाउने बिऊ यसैबाट सिर्जना हुन्छ ।

विशेष