देश

आन्दोलनकारीद्वारा जिल्ला हुलाक कार्यालयमा तोडफोड

आन्दोलनकारीद्वारा जिल्ला हुलाक कार्यालयमा तोडफोड
फागुन - २४ । बन्द अवज्ञा नगरेको भन्दै आन्दोलनकारीले पर्सा जिल्ला हुलाक कार्यालय पर्सामा मंगलबार तोडफोड गरेका छन् । वीरगन्जको मुर्लीबगैंचास्थित जिल्ला प्रहरी कार्यालय पर्सानजिकै रहेको हुलाक कार्यालयमा मंगलबार अपराह्न करिब १.३० बजे मोटरसाइकलमा पुगेका आन्दोलनकारीको समूहले तोडफोड गरेको हो । आन्दोलनकारीले कार्यालयको झ्यालको सिसा, कम्युटर, कुर्सी, टेबुल तोडफोड गर्नाको साथै सेवा प्रवाह गरिरहेका कर्मचारीलाईसमेत कुटपिट गरेको कार्यालयका निमित्त प्रमुख प्रदीपकुमार मेहताले जानकारी दिए । हुलाक कार्यालयमा आन्दोलनकारीले तोडफोड गरेपछि कार्यालयको सुरक्षा बढाइएको स्थानीय प्रशासनले जनाएको छ । यता, सप्तरी घटनाको विरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आह्वान गरेको बन्दको प्रभाव पर्सामा परेको छ । बन्द आह्वानकर्ताले बिहानैदेखि वीरगन्जका विभिन्न चोकमा टायर बाली लामो तथा छोटो दुरीका सवारी–साधन सन्चालनमा रोक लगाएपछि बसपार्कमा यात्रीहरु अलपत्र परेका छन् । यातायातका साधन सन्चालन नभएपछि भारतको रक्सौल नाका हुँदै नेपाल प्रवेश गरेका यात्री मर्कामा परेका छन् । जिल्लास्थित नेकपा एमालेको कार्यालय तथा नेताहरुलाई सुरक्षा प्रदान गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गोविन्दकुमार साहले जानकारी दिए ।

Andolan Tarai

विशेष