स्मार्ट पोलिक्लिनिक एण्ड डाइग्नोसिस्ट सेन्टरमा पुनः सिलबन्दी
फागुन - २४ । नयाँबानेश्वरमा रहेको डा स्मार्ट पोलिक्लिनिक एण्ड डाइग्नोसिस्ट सेन्टर प्रालि नियमविपरीत सञ्चालन रहेको भन्दै पुनःसिलबन्दी गरिएको छ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले आज गरेको अनुगमनका क्रममा जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौँमा दर्ता नगरी सञ्चालन गरेको भन्दै आज फेरि सिलबन्दी गरेको हो ।
विभागले गत माघ २४ गते गरेको अनुगमनका क्रममा बिना इजाजत सञ्चालन गरेको भन्दै सिलबन्दी गरेको थियो । लामो समय बितिसक्दासम्म सञ्चालनका लागि आवश्यक कागजपत्र नबनाएको हुँदा मंगलबार फेरि सिलबन्दी गरिएको विभागका निर्देशक लक्ष्मण श्रेष्ठले जानकारी दिए।
अनुगमन संयोजक लोकबहादुर कार्कीको संयोजकत्वमा आज भएको अनुगमनका क्रममा म्याद सकिएको सात बोतल पेय पदार्थ नष्ट गरिएको छ । न्यू किनमेल सप, साइराम स्टोर, प्रथा कोल्ड स्टोर र काठमाडौँ पानी सप्लायर्स बुद्धनगरलाई व्यवसाय दर्ता नवीकरण नगरेको, लेबल नभएको सामग्री बिक्री वितरण गरेको, खाद्य अखाद्य सामग्री एकै स्थानमा राखेको र मूल्यसूची समेत अपडेट नगरेको फेला परेपछि सात दिनभित्र विभागमा आउन निर्देशन दिएको छ । रासस
सिलबन्दी