स्वास्थ्य

'पानी पिउन अल्छीले मृगाैलालाई सास्ती'

'पानी पिउन अल्छीले मृगाैलालाई सास्ती'

“बाहिर त कहाँ पानी पिउनु पटकपटक शौचालय जानुपर्छ, मत घरमा मात्र पानी पिउँछु” यदि हामीमध्ये कसैले यस्तो खालको बानी अपनाएका छौँ भने ख्याल राखौँ आफूले आफ्नै मृगाैला बिगार्दै छौँ । पछिल्लो समय आम्दानीका लागि विदेशिका युवाको मृगाैलामा समस्या देखिएपछि वर्षदिन नबित्दै स्वदेश फर्किनु परेको घटना सार्वजनिक हुन थालेको छ। जाँदा चिकित्सकको प्रतिवेदन राम्रो आएपनि खाडीमुलुकमा पुगेपछि त्यहाँ हुने जलवियोजनका कारण मृगाैलामा समस्या देखिएको विभिन्न अनुसन्धानले देखाएको छ । खाडीमुलुकमा गएका युवा लामो समयसम्म काम गर्ने, आवश्यक मात्रामा पानी नपिउने र शरीरको थकाइ दुखाइबाट छुटकारा पाउन पेनकिलर (नदुख्ने औषधि) खाने र अत्याधिक मासु सेवन गर्ने गरेकाले धेरैको मृगाैलामा समस्या देखिएको राष्ट्रिय मृगाैला उपचार केन्द्रका कार्यकारी निर्देशक डा ऋषिराम काफ्ले बताउँछन् । शरीरमा जम्मा हुने दूषित पदार्थ छानेर बाहिर निकाल्नु मृगाैलाको मुख्य काम हो । यसबाहेक मृगाैलाले हर्मोन पैदा गर्छ । रगत बन्नका लागि आवश्यक हर्मोन पनि यसले बनाउँछ । शरीरको आन्तरिक वातावरण मिलाउने काम मृगाैला र फोक्सोको हो । हामीले खाएको खानाबाट आवश्यक पोषण लिने र नचाहिने तत्व फाल्ने काम मृगाैलाको हो । तर पर्याप्त पानी पिउँदा मृगाैलाले काम गर्न छोडेकाले नेपाल फर्कनुपर्ने अवस्था बढ्न थालेको हो । पानी मात्र होइन खानामा आएको परिवर्तनले मोटोपनले पनि मृगाैला खराबीको जोखिम बढाएको छ । मोटोपनले पनि मृगाैला खराब गर्ने भएकाले खानपान र जीवनशैलीमा ध्यान दिनुपर्ने सम्बद्ध चिकित्सकको भनाइ छ । अनियन्त्रित खानपान र व्यायामको कमीका कारण मोटोपन बढ्दै गएको हो। त्यसरी मोटोपन हुनु मृगाैलामा समस्या हुने सङ्केत बन्ने सम्भावना रहन्छ । त्रिवि शिक्षण अस्पतालका मृगाैला रोग विशेषज्ञ डा दिव्यसिंह ठकुरी मधुमेह, र उच्च रक्तचापका बिरामीमा पनि मृगाैलामा समस्या बढी देखिने बताउँछन् । यस्ता कारणले मात्र पनि मृगाैलामा खराबी नदेखिने भएकाले बेलाबेलामा पिसाब र रगत जाँच गरी मृगाैलाको अवस्थाबारे थाहा पाइ राख्नुपर्नेमा उनी जोड दिन्छन् । हामीले चौबिस घन्टामा कम्तीमा दुई लिटर पिसाब फेर्नु आवश्यक छ तर मृगाैलामा कुनै समस्या भए पिसाब कम हँदै जान्छ र यसको रङ पनि फरक हुन्छ । पिसाबमा फिँज देखिन्छ, जिउ सुनिन्छ, स्वास फेर्न गार्हो हुन्छ, रक्तचाप बढ्छ, खानामा रुची घट्दै जान्छ र खानै मन नलाग्ने पनि हुन्छ । यीमध्ये कुनै पनि समस्या छ भने तुरुन्त जाँच गराउनुपर्छ । नेपालमा १२ प्रतिशत मानिसलाई मधुमेह भएको प्राप्त तथ्याङ्कमा उल्लेख छ । जसमध्ये ३५ देखि ४० प्रतिशतको मृगाैला खराब हुन्छ । रक्तचाप भएका १५ देखि २० प्रतिशतको पनि मृगाैला खराब हुने गरेको विभिन्न तथ्याङ्कले देखाएका छन् । डा ठकुरीका अनुसार नेपालमा प्रत्येक वर्ष करिब तीन हजार अन्तिम अवस्थाका मृगाैलाका नयाँ रोगी थपिने गरेको र उनीहरु डायलासिस वा मृगाैला प्रत्यारोपण गर्नुपर्ने अवस्थाका हुन्छन् । विश्व स्वास्थ्य सङ्गठनका अनुसार प्रत्येक दशमध्ये एक जनालाई कुनै न कुनै प्रकारको मृगाैलासम्बन्धी समस्या हुन्छ । त्यसैले मृगाैला स्वस्थ राख्न सन्तुलित खानपान र पर्याप्त पानी पिउनुका साथै व्यायाम गरेर शरीरलाई सक्रिय राख्नु पर्नेमा उनको सुझाव छ । समयमै ध्यान पुयाउन सके सबै मृगाैला रोग निको हुने हुन्छ । सरकारले मृगाैला रोगीका लागि डायलासिस सेवा निःशुल्क गरेको छ । मृगाैलाको उपचार महँगो भएकाले नेपालीले सहज रुपमा उपचार पाउन सकून भनेर डायलासिस जस्तै आगामी वर्षदेखि मृगाैला प्रत्यारोपण सेवा पनि निःशुल्क गर्ने तयारी गरिरहेको स्वास्थ्यमन्त्री गगनकुमार थापा बताउँछन् । हाल नेपालका ४३ सरकारी तथा निजी अस्पतालबाट डायलासिस सेवा तथा वीर, त्रिवि शिक्षण अस्पताल, मानवअङ्ग प्रत्यारोपण केन्द्र भक्तपुर र ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा मृगाैला प्रत्यारोपण सेवा उपलब्ध छ । सन् २००६ बाट विश्वमा हरेक वर्षको मार्चको दोस्रो बिहीबार विश्व मृगाैला दिवस मनाउन थालिएको हो । यस वर्ष पनि मिर्गौला रोग र मोटोपन ‘स्वस्थ मृगाैलाको लागि स्वस्थ जीवनशैली’ भन्ने नाराका साथ नेपालमा पनि यो दिवस मनाइँदै छ । रासस  

चिकित्सक मृगाैला

विशेष