देश

बर्दियामा जंगली हात्तीको आक्रमणबाट एकको मृत्यु, हात्ती धपाउन स्थानीयवासी रातभर जाग्राम

बर्दियामा जंगली हात्तीको आक्रमणबाट एकको मृत्यु, हात्ती धपाउन स्थानीयवासी रातभर जाग्राम
फागुन – २५ । बर्दियाको बबई नगरपालिकामा जंगली हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको छ । बर्दिया राष्ट्रिय निकुञ्ज भित्रबाट आएको जंगली हात्तीको आक्रमणमा परी बबई नगरपालिका ३ कर्मलाका १८ वर्षीय बिजय नेपाली (अर्जुन) को ज्यान गएको हो ।
मंगलबार राति निकुञ्जबाट गाउँमा पसेको जंगली हात्तीलाई धपाउन घर बाहिर निस्किएका बेला नेपालीलाई हात्तीले कुल्चिएको ईलाका प्रहरी कार्यालय भुरीगाउँले जनाएको छ । निकुञ्जबाट आएको जंगली हात्तीले कुल्चेर नेपालीको ज्यान गएपछि आक्रोशित स्थानीयवासीले विहान ८ बजे पूर्व पश्चिम राजमार्ग बन्द गराएका थिए । मृतक नेपालीका बुवा बिश्राम नेपालीसहित स्थानीयवासी, निकुञ्जका निमित्त संरक्षणकर्मी अशोक भण्डारी, बर्दिया राष्टिय निकुञ्ज मध्यवर्ति क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष नेत्रराज आचार्यसहितको बार्ता टोलीबाट सहमति भएपछि अवरुद्ध राजमार्ग खुलेको छ । बर्दिया निकुञ्जबाट आएका जंगली हात्तीले केही दिन यता निकुञ्ज आसपास क्षेत्रका बबई नगरपालिका, सुर्यपटुवा, ठाकुद्वारालगायतका गाँउमा अन्नवाली नोक्सान र घरगोठ भत्काएर आतंक मच्चाएका छन् । निकुञ्ज किनारमा लगाएको सुधारिएको विद्युतिय तारबारसमेत चुँडालेर हात्तीले गाउँमा पसेर आतंक मच्चाउन थालेको हुन् । जंगली हात्ती गाउँमा पसेर नोक्सान गर्न थालेपछि स्थानीय गाउँलेहरु आफ्नो वालीनाली जोगाउन ज्यान जोखिममा राखी हात्ती धपाउन रातभर जाग्राम बस्ने गरेका छन् । ६ महिना यता निकुञ्ज आसपासका विभिन्न गाउँमा जंगली हात्तीले सयौँ बिगाहामा लगाएको अन्नबाली, उखु खेती र तरकारी नष्ट गरेको छ । निकुञ्ज भित्रबाट जंगली हात्ती गाउँमै आएर यस वर्ष मात्रै ६ जनाको ज्यान लिनुका साथै ५७ वटा घरगोठ भत्काएको छ ।
भावुक योगी/ बर्दिया

Bardiya

विशेष