देश

सेवा सुविधासँगै खानेपानीका लागि बसाइँसराइँ

सेवा सुविधासँगै खानेपानीका लागि बसाइँसराइँ
फागुन - २६ । तेह्रथुम, गाउँमा आवश्यक सेवा सु्विधा नभएको भन्दै गत माघमा तेह्रथुम सिम्ले–७ का ११ परिवार एकसाथ बसाइँ सरे । खानेपानी, विद्युत्, गुणस्तरीय सडकलगायत सुविधाका नाममा छिमेकीजति सबै हिँडेपछि पूर्व वडाध्यक्ष मनबहादुर श्रेष्ठ पनि स्थानीय भीमबहादुर थापासँगै मोरङतिर बसाइँ सरे । पहिले गाविसकै ठूलो बस्ती रहेको यो गाउँमा अहिले बसाइँ सरेर जान बाँकी एक दर्जन परिवार मात्र बस्छन् । गाविसका वडा नं ३, ४ र २ को अवस्था पनि उस्तै छ । उता ओख्रे–५ का २५ परिवार पनि यही वर्षमात्रै थातथलो छाडेर हिँडेका छन् । सो वडामा अब केही परिवारमात्र बाँकी रहेका र उनीहरु पनि बसाइँ सराइकै पहलमा छन् । तर गाउँको सिँचाइ सुविधा नपुग्ने जमिन बिक्री पनि नहुने र त्योबाहेक अन्य धन सम्पत्ति पनि नभएका कारण छाडेर हिँड्न सकेका छैनन् । पछिल्लो तीन वर्षमा मात्रै सम्दुका ५४ परिवार पनि बसाइँ सरेर पूर्वी तराई र काठमाडौँतर्फ गएका छन् । यहाँबाट बसाइँ सरेर जानेहरू सबै सुविधा र अवसरको खोजी गर्र्दै गएको गाविस सचिव दुर्गा भण्डारीले बताए । इसिवुबाट पनि बसाइँ सर्नेको सङ्ख्या कम छैन । पछिल्लो चार वर्षमा यहाँबाट पनि १५४ परिवार हिँडेका छन् । यस्तै जिल्लाका पञ्चकन्या, फाक्चामारा, इवा, चुहानडाँडा, थोक्लुङलगायत गाविसबाट पनि प्रत्येक वर्ष गाउँ छाडेर बसाइँ हिँड्नेको ताँती लाग्ने गरेको छ । तराईमा रोजगारी, औषधि उपचार, शिक्षा, खानपान तथा अन्य सेवा सुविधा बढी हुने तथा सहजै प्राप्त गर्न सकिने भएकाले धेरैले थातथलो छाडिरहेको पूर्व जिविस उपसभापति तेजमान कन्दङ्वाले बताए ।

बसाइँसराइँ

विशेष