स्वास्थ्य

राजधानीमा हेपाटाईटिस ई देखियो, गर्भवती महिला उच्च जोखिममा

राजधानीमा हेपाटाईटिस ई देखियो, गर्भवती महिला उच्च जोखिममा

फागुन २७ । गर्मीयाम सुरु नहुँदै उपत्यकामा हेपाटाइटिस ‘ई’ जन्डिसका बिरामी देखिन थालेका छन् । सुरुवाती दिनमै उपत्यकामा तीनजना बिरामी फेला परेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. रमेशकुमार खरेलले जानकारी दिए ।

हेपाटाइटिस ‘ए’ तथा ‘ई’ पानी र खानेकुराबाट सर्ने भएका कारण पछिल्लो समय नेपालमा यसका रोगी देखिन थालेका हुन् । पानी नउमाली प्रयोग गर्ने र केमिकलयुक्त खानेकुराको उपभोगले हेपाटाइटिस ‘ई’को जोखिम बढेको चिकित्सकहरूले बताएका छन् ।

अस्पतालका डा. शेरबहादुर पुनका अनुसार मैतीदेवी र ललितपुरका तीनजनामा हेपाटाइटिस ‘ई’ देखिएको हो । सन् २०११ मा विराटनगरमा एक महिनाको अवधिमा हेपाटाइटिस ‘ई’का कारण १४ जनाको मृत्यु भएपछि यो रोगबारे चासो बढ्न थालेको हो ।

धेरै अस्पतालले परीक्षण गर्दा सामान्य रूपमा लिइदिने गरेका कारण पनि यसको समस्या बढ्ने गरेको डा। पुनले बताए । ‘बिरामीहरूले सुरुमा उपचार गराउन निजी अस्पताल रोज्ने गरेका छन् । स्वास्थ्य परीक्षणमा निजी अस्पताल तथा नर्सिङ होमहरूले स्पष्टका साथ रोग नभनिदिँदा बिरामीको स्वास्थ्य अवस्था गम्भीर बन्न पुग्छ । औषधि नपाउने भएका कारण पनि हेपाटाइटिस ‘ई’का बारेमा सचेत बन्नुपर्ने अवस्था छ,’ उनले भने ।

गर्भवती महिला र बच्चा उच्च जोखिममा

हेपाटाइटिस ‘ई’को उच्च जोखिममा गर्भवती महिला र बच्चा पर्ने गरेको अस्पतालका निर्देशक खरेलले बताए । ‘अरू जन्डिसजस्तो हेपाटाइटिस ‘ई’ होइन । गर्भवती भएका वेला महिलामा हर्मोन परिवर्तन हुने गर्छ । यसले कलेजोमा संक्रमण गर्ने भएकाले आमा र बच्चा दुवैमा बढी खतरा हुन्छ,’ उनले भने ।

हेपाटाइटिस ‘ई’ भएका गर्भवतीमध्ये ३० प्रतिशत मृत्यु हेपाटाइटिस ‘ई’कै कारणले हुने गरेको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ । त्यसैले गर्भवती महिलाले आफ्नो खानपानमा विशेष ध्यान दिनुपर्ने डा। पुन बताउँछन् । ‘हेपाटाइटिसलाई जन्डिस मात्रै भन्ने चलन छ । इपटाइटिस ‘ए’ ‘बी’ ‘सी’ र ‘ई’ छन् । हेपाटाइटिस ‘बी’ र ‘सी’ पानीबाट नभई रगतको माध्यमबाट सर्ने गर्दछ । तर, ‘ए’ र ‘ई’ पानी र खानेकुराको प्रयोगबाट सर्ने गर्छ,’ डा। पुनले भने, ‘कुनै पनि कोणबाट गर्भवती महिलालाई हेपाटाइटिस ‘ई’ हुनुहुँदैन । यदि ‘ई’ भएको अवस्थामा गर्भवतीको पेटमा रहेको बच्चाको मृत्यु हुनुका साथै आमाको समेत मृत्यु हुने सम्भावना धेरै हुन्छ ।’

नयाँ पत्रिका

Hepataitis E

विशेष