समाज

राजधानीमा पेट्रोलको हाहाकार

राजधानीमा पेट्रोलको हाहाकार
फागुन २७ । राजधानीमा एकाएक फेरि पेट्रोलको कृत्रिम हाहाकार देखिएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको कुनै समस्या नरहेको दाबी गरिरहे पनि बिहीबार राजधानीका अधिकांश पम्पमा पेट्रोल भर्नेको लामो लाइन नै देखियो । ‘के गर्नु फेरि पेट्रोल नपाएर दुःख पाइने भयो, बिहानदेखि विभिन्न पम्पमा पेट्रोल भर्नका लागि पुगें, अहिले बल्ल लगनखेलको आर्मी पम्पमा लाइनमा बसेको छु,’ ललितपुर गोदावरीका विकास केसीले भने, ‘अस्तिसम्म कुनै रोकतोक थिएन पेट्रोल भर्न, मधेस बन्द र मधेसमा देखिएको समस्या आउनेबित्तिकै यस्तो समस्या भोग्न प¥यो । अघिल्लो वर्ष त ज्यादै दुःख पाइयो, यसपालि त ठीकै होला भनेको उफ् † पेट्रोल भर्न फेरि लाइन । यो हल्लैहल्लाले पनि दिक्क बनायो ।’ उपत्यकाका पेट्रोल पम्पमा उपभोक्ताको लामो लाइन हुनुमा पेट्रोल अभाव हुन्छ भनेर हल्ला गर्नु एक कारण भएको सर्वसाधारणले बताएका छन् । ‘अभाव हुन्छ भनेर हल्ला फैलिन्छ,’ एकान्तकुनाको एक पम्पमा तेल हालिरहेका एक व्यक्तिले भने, ‘अनि मान्छे भटाभट पेट्रोल हाल्न पुग्छन्, आवश्यकताभन्दा बढी हाल्दै अभाव हुन सक्छ ।’ अधिकांश पेट्रोल पम्पहरूले लामो लाइन लगाएरै भए पनि पेट्रोल वितरण गरिरहँदा कति पम्पले ‘पेट्रोल छैन’ भन्ने सूचनासमेत टाँसेका छन् । तराईमा आन्दोलन चर्किएपछि तेल अभाव चर्किने आशंकामा धेरै उपभोक्ता आफ्नो सावरीमा ट्यांकभरि तेल भर्न लागेका छन् । वर्तमान राजनीतिक परिस्थितिमा मधेसी मोर्चालगायतका मधेस केन्द्रित दलले आन्दोलन गरे फेरि पनि पेट्रोलियम पदार्थ अभाव हुने अनुमानका आधारमा पनि सर्वसाधारणले तेल भरेका छन् । निगमले नियमितजस्तै तेल बजारमा पठाइरहेको दाबी गरे पनि एक्कासि माग बढ्दा आपूर्ति प्रभावित भएको छ । सेवा सुविधालगायतका मागसहित पेट्रोलियम पदार्थ ढुवानी मजदुरहरूले ३ साताअघि ढुवानी अवरुद्ध गर्दा पनि एकदुई दिन उपत्यकामा समस्या देखिएको थियो । नेपाल आयल निगमले ढुवानी विनियमावली संशोधन गरेपछि ढुवानी व्यवसायीहरूले त्यसको विरोधस्वरूप इन्धन ढुवानी ठप्प पारेका थिए । आयल निगमले ढुवानी विनियमावली हेरफेर गर्न एक महिना समयसीमा मागेपछि ढुवानी व्यवसायीहरूले आन्दोलन फिर्ता गरेका छन् । राजधानी

Pterol Hahakar

विशेष