देश

लेखनाथ महानगरपालिका कार्यालयले औपचारिक रुपमा काम सुरू

लेखनाथ महानगरपालिका कार्यालयले औपचारिक रुपमा काम सुरू
फागुन - ३० । पोखरा लेखनाथ महानगरपालिका कार्यालयले आजदेखि औपचारिक रुपमा आफ्नो काम थालेको छ। सरकारको गत फागुन ११ गतेको निर्णयअनुसार स्थानीय निकायहरू स्थानीय तहमा रुपान्तरण भएपछि तत्कालीन पोखरा उपमहानगरपालिका र लेखनाथ नगरपालिकाका साथै कास्कीका गाविसमध्ये मौजा, चापाकोट, कास्कीकोट, पुरनचौर, भदौरे तामागीको ३ देखि ९ वडा, माभठानाको १ नं वडा र ४ देखि ९ वडा, कालिकाको १ देखि ५ वडा मिलाएर पोखरा लेखनाथ महानगरपालिका घोषणा गरिएको थियो । सरकारले यही फागुन २७ गतेदेखि स्थानीय निकाय भङ्ग गरी तह कार्यान्वयनमा ल्याएकामा आजदेखि पोखरा लेखनाथले महानगरका रुपमा काम थालेको हो । महानगरपालिकाका प्रवक्ता अनन्तप्रसाद कोइरालाका अनुसार कार्यालयले आजदेखि महानगरभित्रका ३३ वटै वडाका प्रमुख पदाधिकारीलाई वडा सचिवको जिम्मेवारी प्रदान गरी अभिमुखीकरण तालिम दिएको थियो । स्थानीय तहको शासन सञ्चालनका लागि जारी भएको आदेशअनुसार महानगरभित्रका वडामा काम सञ्चालन गर्न वडा सचिवहरूलाई निर्देशन दिइएको उनले बताए। सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले गत फागुन २४ गते ७५ वटै स्थानीय विकास अधिकारीलाई पत्राचार गरी नेपालको संविधानको धारा २९५ को उपधारा ९३० बमोजिम कायम भएका गाउँपालिका, नगरपालिका र संविधान बमोजिमका जिल्लासभामा निर्वाचित जनप्रतिनिधि वहाल नभएसम्म स्थानीय तहबाट प्रदान गरिने सेवालाई निरन्तरता दिन स्थानीय तहको शासन सञ्चालन सम्बन्धमा जारी गरिएको आदेशअनुसार काम गर्न निर्देशन दिएको थियो । पोखरा लेखनाथ महानगरपालिका घोषणासँगै महानगरका बासिन्दाले मिश्रित प्रतिक्रिया दिन थालेका छन् । पूर्वाधारको उचित व्यवस्थापन भइनसकेको अवस्थामा महानगरपालिका घोषणा गरिनुले केवल करको दायरामात्र बढ्ने हो कि भन्ने चिन्ता यतिखेर सर्वसाधारणमाझ छाएको छ । स्थानीय समाजसेवी तारा पाखेका अनुसार पोखरा उपमहानगरपालिका भइरहेका अवस्थामा नै धेरै पूर्वाधार बन्न नसकेको अबस्थामा महानगरको घोषणाले जनतामा करमात्रै थोपरिने हो कि भन्ने विषयले चिन्तित बनाएको छ। पाखेका अनुसार पोखरा क्षेत्रभित्र अझै पूर्वाधार निर्माणका धेरै काम हुन सकेको छैन र फोहर व्यवस्थापनलगायतका धेरै समस्या छन्। महानगरपालिकाले अब केवल पृथ्वीचोक, महेन्द्रपुल, लेकसाइडलगायतका क्षेत्रलाई मात्र हेरेर नपुग्ने उनको भनाइ छ। पानी बत्तीलगायतका धेरै कुरा व्यवस्थित बन्न नसकेको बताउँदै पाखेले योजना बन्ने तर कार्यान्वयनमा नआउने प्रवृत्तिका कारण समस्या समाधान हुन नसकेको अवस्थालाई गम्भीरताका साथ लिनु आवश्यक भएको उल्लेख गरे। महानगर घोषणा भइसकेको पोखरा लेखनाथ क्षेत्रमा सार्वजनिक शौचालयसमेत व्यवस्थित बन्न नसकेको यथार्थतासँगै धेरै पूर्वाधारको विकास गर्नु आवश्यक रहेको पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष विश्वशङ्कर पालिखे बताउँछन्। “महानगर भएसँगै त्यही स्तरका सडक, खानेपानी, यातायात, विद्युत्लगायतका धेरै पूर्वाधार व्यवस्थित बन्नु आवश्यक छ,” उनले भने– “महानगर घोषणा पोखराका लागि गौरवको विषय हो, तर यहीअनुसारको संरचना निर्माण एवम् व्यवस्थापन चुनौतीपूर्ण छ ।” भोलिको अन्तर्राष्ट्रिय सहरका रुपमा पोखरालाई विकास गर्न त्यहीअनुरुपको दीर्घकालीन सोच अपरिहार्य भएको पालिखेको भनाइ छ ।कास्की जिल्लाभित्र पोखरा लेखनाथ महानगरपालिकासहित अन्नपूर्ण, माछापुच्छ्रे, मादी र रुपा गाउँपालिका गरी पाँच स्थानीय तह छन्।

Lekhnath

विशेष