समाज

‘पृथ्वी जयन्ती’ नपरेपछि वर्षभरीकै सार्वजनिक छुट्टीसम्बन्धी प्रस्ताव अस्वीकृत

‘पृथ्वी जयन्ती’ नपरेपछि वर्षभरीकै सार्वजनिक छुट्टीसम्बन्धी प्रस्ताव अस्वीकृत
चैत १ । गृह मन्त्रालयले ल्याएको सार्वजनिक छुट्टीसम्बन्धी प्रस्तावमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती छुटेपछि केही मन्त्रीहरुले विरोध गर्दा उक्त प्रस्ताव मन्त्रिपरिषदमा अस्वीकृत भएको छ । गृहमन्त्रालयको प्रस्ताव परिमार्जन गरी पुस २७ गते पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिने गरी प्रस्ताव नल्याएसम्म पारित गर्न नसकिने अडान केही मन्त्रीले लिएपछि उक्त प्रस्ताव मन्त्रिपरिषदबाट अस्वीकृत भएको हो । एक मन्त्रीका अनुसार आपूर्ति मन्त्री दीपक बोहोराले पृथ्वी जयन्तीको दिन सार्वजनिक विदा दिने प्रस्ताव ल्याउनु पर्ने माग गरेपछि प्रस्ताव पारित नभएको हो । ‘उहाँले पृथ्वीजयन्तीको विषय उठाउनुभयो, अरु केही बिषय पनि मिलाउनु पर्ने देखिएकोले त्यो प्रस्ताव पारित नभएको हो,’ ती मन्त्रीले भने । गृहमन्त्री बिमलेन्द्र निधिले फागुन १७ गते स्वीकृत गरी फागुन २२ गते आइतवारको मन्त्रिपरिषद् बैठकमा छलफलका लागि प्रस्ताव गरिएको थियो । गत पुसमा पनि मन्त्रिपरिषद् बैठकमा सहरी विकास मन्त्री अर्जुननरसिंह केसीले पृथ्वी जयन्तीमा बिदा दिनु पर्ने माग राखेका थिए तर उनको मागको सुनुवाइ भएको थिएन । अन्नपूर्ण पोस्ट

Prthibi Jayanrti

विशेष