मधेसी मोर्चाले लाशको खेतीलाई राजनीति ठान्छ
डा. राजेश अहिराज
सप्तरीमा प्रहरीसँगको झडपमा पाँच जनाले ज्यान गुमाए । ज्यान गुमाउनेहरु कसका कार्यकर्ता हुन् केही थाहा छैन । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले एमालेको मेची महाकाली अभियानमा आफूहरुको निषेध छैन तर जनताले प्रतिकार गर्न सक्छन् भनेको थियो । तर जब पाँच जना मारिए, तब मोर्चाका नेताहरु झन्डा ओढाउन पुगि हाले । उनीहरुको लाश बोकेर सहर सहर घुमे ।
मूल विषय के हो भने पार्टी–पार्टीबीचको लडाईमा, देशभित्रको आन्तरिक राजनीतिक मूभमेन्टमा मारिने व्यक्ति कोही पनि शहीद होइनन् । शहीद त ती हुन् जो आफ्नो देशको रक्षाका लागि, आफ्नो देशको सार्वभौमसत्ता, अखण्डतकाका लागि डटेर लड्छ र उसले आफ्नो ज्यान दिन्छ । त्यो नै शहीद हो । यसअर्थमा कञ्चनपुरका गोविन्द गौतम शहीद हुन् । मोरङमा मारिएका शाह थरका एक नेपाली शहीद हुन् । तर सप्तरीका पाँचको मात्रै होइन राणाविरोधी अभियानमा मृत्यु वरण गर्ने जसलाई हामी ‘चार शहीद’का रुपमा बुझ्छौं उनीहरु पनि शहीद होइनन् । गाउँमा डाक्टर नहुँदा अहेबलाई नै ‘डाक्टरसाब’ भनिए जस्तै हो ‘चार शहीदको प्रशंग’ पनि । यसकारण पहिले त शहीदको मापदण्ड तोकिनु पर्छ ।
आज एमाले भन्ने एक पार्टीको कार्यक्रम बिथोल्न जाने क्रममा पाँच जना मरे । भोली संघीय समाजवादी र सद्भावनाबीच यस्तौ सम्बन्ध हुन सक्ला । मानौं संघीय समाजवादी र सद्भावनाका कार्यकर्ताबीच झडप भयो र कसैको ज्यान गयो भने के उनीहरु शहीद हुन्छन् ? सीधा कुरा हो हुँदैनन् । एमाले पनि अरु पार्टी जस्तै एउटा पार्टी हो । यो पार्टीको कार्यक्रम बिथोल्ने क्रममा मारिएकाहरु शहीद हुँदैनन् । मलाइ यो पनि थाहा छ कि मेरो यो धारणाले धेरै मानिसहरुको क्रोधले सीमा काट्ने छ । तर म यति भन्छु शहीद शब्दको अपमान नगरियोस् ।
मधेसी मोर्चाले तराईमा ‘इमोस्नल पोलिटिक्स’ गरिरहेको छ । उसले निषेधको राजनीति गरिरहेको छ । मोर्चालाई एमालेको विचार मन परेन भने उसले विचारले नै परास्त गर्नु पथ्र्यो । अझ मोर्चाले एमालेको सभामा आफू पनि सामेल भएर बोल्ने वातावरण तयार पार्नु पथ्र्यो । तर उसले औपचारिक हिसाबले एमालेलाई निषेध गरेन । जनताले प्रतिकार गर्न सक्छन् भनेर जनता उक्सायो । तर जब मानिसहरु मेर अनि हतार हतार गएर पार्टीको झन्डा ओढायो । मृतकको शवमा पार्टीको झन्डा ओढाएपछि त एमालेको सभा बिथोल्ने मोर्चा नै रहेछ भन्ने स्पष्ट भएन र ?
अर्को कुरा मधेसी मोर्चा नै मधेस वा मधेसी हो भन्ने भ्रमबाट निस्किनु पर्छ । मधेसी मोर्चा नेपालको के भनौं तराइकै साना दलहरुको एउटा गठबन्धन हो । यो गठबन्धनको आधिकारिक हैसियत एकदम सामान्य छ । तर मोर्चाले यसरी भ्रम छरिरहेको छ कि मधेस र मधेसी भनेकै मोर्चा हो ।
मोर्चाले भ्रममात्रै फैल्याएको छैन । राजनीतिक गण्डागर्दी पनि गरिरहेको छ । कुनै पनि राजनीतिक दललाई देशको ७५ नै जिल्लामा गएर सभा सम्मेलन गर्ने अधिकार छ । तर मोर्चाले गुन्डागर्दीको शैलीमा एमालेलाई निषेध गरेको छ । एमालेलाई मधेसमा निषेध गर्ने मोर्चाका नेताहरु आफू चाहीँ काठमाडौंमा आलिसान महल बनाएर बसेका छन् । यदि गहिरिएर हेर्ने हो भने मधेसी मोर्चाले देश र मधेसकै अपमान गरिरहेका छन् । यो कुरा आगामी दिनमा अझ स्पष्ट हुनेछ ।
एमालेले हारेको ठाउँमा उसलाई पस्न नदिने हो भने मधेसी दलका नेताहरु आफुचाहिँ किन काठमाडौं बस्छन् ? मोर्चाका नेताहरुले पनि त काठमाडौंमा कहि कतै जितेका छैनन् । अर्थात राजनीतिमा यस्तो निषेध गरिनु हुँदैन । यो गलत हो ।
[caption id="attachment_60725" align="alignleft" width="187"] गजेन्द् नारायण सिंह[/caption]फोरमको पहिलो आन्दोलनमा ५४ ले ज्यान गुमाए । संविधान जारीको बेला ५६ ले अहिले पाँच जनाले ज्यान गुमाए । मधेसी नेताहरु नै सरकारमा जाँदा विशेष सुरक्षा योजनामार्फत तराईमा २८१ जनाको गैर न्यायिक हत्या भयो । मधेसी मोर्चाले जे जे एजेन्डा उठाएर राजनीति गरिरहेका छन् तिनै एजेन्डा गजेन्द्रनारायण सिंहले उठाएर ३० वर्ष राजनीति गरे । तर एक जनाको पनि ज्यान गएन । मोर्चाले यति धेरैको रगत बगाइसकेका छ तर पनि उनीहरुको मन शान्त भएको छैन ।
मधेसी मर्दा किन मोर्चा मौन ?
मैले मधेसको राजनीतिबारे अध्ययन गर्न थालेको २० वर्ष भयो । तर मैले मधेसी मोर्चाले राजनीति कसको लागि गरिरहेको छ बुझ्न सकेको छैन । केही वर्ष अघि मोरङमा वासुदेव साहलाई भारतीय एसएसबीले गोली हानी हत्या गर्यो तर मधेसी नेताहरु बोलेनन । ७२ मंसिरमा सप्तरीमा चार जना यादव थरका नेपालीहरुलाई एसएसबीले गोली हानी घाइते बनायो मोर्चाका नेताहरु चुइक्क बोलेनन् । यसपटक कञ्चनपुरमा गोविन्द गौतमको हत्या गर्यो मधेसी मोर्चा चुइक्क बोलेनन् । जाजरकोटमा २६ जनाको बस दुर्घटनामा ज्यान गयो । त्यसमा पनि मोर्चाको चट्टान भएर बस्यो ।
वास्तवमा यो मोर्चा कस्को लागि राजनीति गर्छ ? देशको लागि त गरेको देखिएन । क्षेत्रीय पार्टी जस्तो देखियो । यदि यसको औकात क्षेत्रीय पार्टीकै हो भने उसले एमाले कांग्रेसका मधेस ब्यूरोसँग प्रतिस्पर्धा गर्नु पर्यो । कांग्रेस एमालेसँग होइन ।
अर्को तिर हेर्नुहोस्, हालै भारतीय राजदूतको बिदाई मोर्चाले औपचारिक रुपमा नै गर्यो । छिमेकी हो भनेर सम्मानमा बिदाइ गर्नुलाई गलत नबुझौं । प्रश्न यहाँ यो छ कि छिमेकी त चीन पनि हो । अलि परेको छिमेकी त पाकिस्तान पनि हो । यी देशका राजदूतको बिदाई पनि मोर्चाले गर्छ ? (मधेस मामिला जानकार डा. अहिराजसँग ध्रुव रिजालले गर्नुभएको कुराकानीमा आधारित)