समाज

अस्पतालको बेडबाटै बाबु आमाको खोजी गरिरहेका छन् घाईते बच्चा

अस्पतालको बेडबाटै बाबु आमाको खोजी गरिरहेका छन् घाईते बच्चा

चैत्र १ । २७ जनाको ज्यान जानेगरी गत फागुन २६ गते जाजरकोटको बोहरा मोडमा भएको बस दुर्घटनावाट भएका ३५ जना घाईते मध्य ४ जना नाबालक रहेका छन् ।

उपचारको क्रममा रहेका घाईते नाबाकहरु अस्पतालको बेडवाट आमाको खोजी गरि रहेका छन् । उक्त बस दुर्घटनामा घाईते घाईते भएर बेहोस अबस्थामा पुगेका मजकोट–७ का डेढ बर्षिय केशव तिरुवालाई नेपाली सेनाको हेलिकप्टरमा राती १२ बजे नेपालगंज मेडिकल कलेजमा पुर्याएर उपचार सुरु गरियो । मेडिकल कलेजको बेडमा राखेर उपचार सुरु गरिएका नाबालक केशव तिरुवा २७ गते मात्र होसमा आए । उपचार पछि होसमा आएका डेढ बर्षिय केशव तिरुवा नेपालगंज मेडिकल कलेजको बेडवाट आमाको खोजी गर्न थालेका छन् ।

बस दुर्घटनावाट गम्भीर घाईते भएका नाबालकको उपचार नेपालगंज मेडिकल कलेजमा उपचार भैरहेको छ । आज सम्म पनि राम्रोसंग शरिर छुन नदिने ति बच्चाले उपचार भैरहेको बेडवाट आमा र बुवाको खोजी गरि रहेका छन् । दुर्घटनामा परी आमा लालसरी तिरुवाको मृत्यु भैसकेको छ भने, बाबा तुले तिरुवा गम्भिर घाईते भएर नेपालगंजमा रहेको वेष्टन अस्पतालमा उपचार भैरहेको ति डेढ बर्षिय नाबालक तिरुवालाई थाहा छैन । एकहोरो ति नाबालकले बाबा आमाको खोजी मात्र गरिरहेका छन् ।

त्यसैगरी उपचारकै क्रममा रहेका भेरी नगरपालीका–३ का एक बर्षिय निशासन सुनारले पनि अस्पतालकै बेडवाट आमाको खोजी गरिरहेका छन् । नाबालक निशासनकी २६ बर्षिय आमा शान्ता सुनारको बस दुर्घटनामा परि मृत्यु भैसकेको छ भने, बुवा मनसुने सुनार बैदेशिक रोजगारीका लागि विगत एक बर्ष देखि कतारमा थिए । दुर्घटनामा परी श्रीमती शान्ताको मृत्यु र एक बर्षको नाबालक छोरा घाईते भएको खबर सुनेपछि मनसुने सुनार छोराको उपचार भैरहेको नेपालगंज मेडिकल कलेजमा सोमवार कतारवाट आई पुगेका छन् । त्यसैगरि घाईते भएर उपचारमा रहेका भेरी नगरपालीका–११ का ४ बर्षिय दिनेश लुहार पनि अस्पतालको बेडवाटै आमाको खोजी गरिरहेका छन् ।

बस दुर्घटनामा परेर उनकी आमा गोप्ली लुहारको मृत्यु भैसकेको छ भने, बाबा गोपाल लुहार बैदेशिक रोजगारको लागि विगत तीन बर्ष देखि मलेसियामा छन् । त्यसैगरी बस दुर्घटनामा परेर गम्भिर घाईते भएकी भेरी नगरपालिका–११ मटेलाकी ५ बर्षिय बालिका पुनम सुनारको उपचार नेपालगंज मेडिकल कलेजमा सम्भाव नभएपछि थप उपचारका लागि काठमान्डौं टिचीङ्ग हस्पीटलमा रिफर गरिएको छ । पुनम सुनारका बुवा गोपाल सुनारको बस दुर्घटनामा परेर मृत्यु भैसकेको छ ।

काठमान्डौं टिचीङ्ग हस्पीटलमा पुनमको उपचार भैरहेको छ । बस दुर्घटनामा परेर घाईते मात्र नभएर टुहुरा भैसकेका यि चार नाबालकको उपचार, लालन पालन, शिक्षाको जिम्मेवारी राज्यले लिनु पर्ने नागरिक समाजका अगुवा राजेन्द्र बिक्रम शाहको भनाई रहेको छ । हाल उपचारमा रहेका घाईते बच्चाहरुको लगाउने कपडा नभएको, सम्बन्धित बस व्यवसायीले बच्चाको उपचार खाना तथा कुरुवाको लागि पैसा नपठाएको, आमा तथा बुवा गुमाएर टुहुरा भैसकेका बच्चाहरुको उपचारमा कुरुवा एउटै घरको नभएको जिल्ला बाल कल्याण समिति जाजरकोटले जनाएको छ ।

दुर्घटना परि घाईते भएका बच्चाहरुलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमा नेपालगंज पुर्याए पछि गत फागुन २७ गते काठमाडौंमा बस्दै आएका जाजरकोटका ज्ञानबहादुर शाहीले बच्चाहरुको उपचारका लागि जनही १०-१० हजार सहयोग गरेका छन् । शाही जाजरकोट दह–७ पंचालाका हुन् । शाही बिगत ४ बर्ष देखि मरनाथ ट्रवल्सको सञ्चालक भएर काठमाण्डौंमा बस्दै आएका छन् ।

दुर्घटना परी घाईते भएका ३५ जना मध्ये गम्भिर घाईतेहरुको नेपालगन्ज भेरी अञ्चल अस्पताल, नेपालगंज मेडिकल कलेज र वेष्टन अस्पताल र काठमान्डौं टिचीङ्ग हस्पीटलमा उपचार भैरहेको छ भने, सामान्य घाईतेहरुलाई विभिन्न अस्पतालले डिस चार्ज गरिसकेका छन् । २०७१ साल मंसिर ४ गते पनि जाजरकोट भुरको रावतगाउँमा ५४ जनाको ज्यान जाने गरि बस दुर्घटना भएको दुई बर्ष पछि यो बस दुर्घटना भएको हो ।

Jajarkot Accident

विशेष