समाज

‘होम सेन्टर’ परिवर्तनले परीक्षार्थी तनावमा

‘होम सेन्टर’ परिवर्तनले परीक्षार्थी तनावमा
जाजरकोट, २ चैत । गत बर्ष जाजरकोटमा एसएलसीको दशेरा, खुर्पा र झाप्रा परीक्षा केन्द्रमा झाडापखालाको प्रकोप फैलियो । दर्जनौ विद्यार्थी विरामी परे । उपचारपछि रोग नियन्त्रणमा आयो । दुई बर्ष अघि पनि एसएलसी परीक्षा केन्द्र टालेगाँउबाट फैलिएको स्वाइन् फ्लु जिल्लाका दर्जन गाँउविकास समितिमा फैलियो । २७ जनाको ज्यान गयो । सयौ विरामी परे ।
एसएलसीको परीक्षा केन्द्र (होम सेन्टर) परिवर्तनका कारण एसएलसी परीक्षा केन्द्रमा अभिभावक र विद्यार्थीको भिडभाड एकैपटक बढेपछि त्यसरी विभिन्न रोगको संक्रमण फैलिएको थियो तर, पनि होम सेन्टर परिवर्तन नगर्न जिल्लावासीले गरेको आग्रह सरकारले सुनेन । माध्यामिक शिक्षा परीक्षा (एसईई) परीक्षाको तयारीमा रहेकी त्रिभुवन उच्च माध्यमिक विद्यालय खलंगाकी छात्रा जानकी चन्द यतिवेला निकै तनावमा छन् । एसएलसी परीक्षा दिन एक दिन टाढाको अर्को विद्यालय जानु पर्ने भएपछि उनी तनावमा परेकी हुन् । परीक्षालाई मर्यादित बनाउने भन्दै सम्बन्धित विद्यालयबाट परीक्षा दिन नपाईने सरकारी निर्णय सँग फलामे ढोकाको रुपमा लिईने एसईई परीक्षा दिन उनी त्रिभुवन मावि दल्ली जानु पर्नेछ । दल्ली जान एक दिन लाग्छ । उनलाई परीक्षामा के लेख्ने भन्दा पनि त्यहाँ गएर काँहा बस्ने ? कसरी बस्ने ? को सँग बस्ने ? खानपीन ? सुत्ने आदि आदि कुरा कसरी ब्यवस्थापन गर्ने भन्ने कुरा मनमा खेलिरहन्छ । उनलाई मात्र होईन उनको परिवारलाई समेत यो कुराले पिरोलिरहेको छ ।
सोही विद्यालयकी छात्रा रेखा रोकायको समस्या पनि उस्तै छ । पहिलो पटक एसइइ परिक्षा दिन थालेकी उनलाई परीक्षा केन्द्र घरभन्दा निकै टाढा भएपछि उनी त्यहाँ कसरी जाने र काँहा बस्ने भन्ने चिन्तामा छन् । उनी एक दिन टाढा रहेको परीक्षा केन्द्रमा लगिदिने घरमा अभिभावक कोही नभएको बताउँछिन । उनीहरु जस्तै सयौ विद्यार्थी यस्तै तनाव र चिन्तामा छन् होम सेन्टरबाट परीक्षा दिन नपाईने सरकारी निर्णयले । विद्यार्थी मात्र होइन उनका अभिभावक समेत चिन्तामा छन् होम सेन्टर हटाउने निर्णयले । दश बर्ष सम्म घरबाटै विद्यालय गईरहेका छोरा छोरी एसएलसी परीक्षा दिन मात्र अर्को विद्यालय जानु पर्ने भएपछि अभिभावक समेत चिन्तामा परेका छन् । भेरीनगरपालिका ४ का अभिभावक विष्णु भडेल परीक्षालाई मर्यादित बनाउने नाममा परीक्षा केन्द्र परिवर्तन गरेर परीक्षाको मुखैमा विद्यार्थी र अभिभावकलाई तनाव र सास्ती दिने मात्र भएको गुनासो गरे । उनीहरु गत बर्षहरु जस्तै संक्रमण फैलिने हो कि भन्ने त्रासमा पनि छन् । आगामी चैत्र ३ बाट माध्यामिक शिक्षा परीक्षा हुदैछ । परीक्षाको वेला विद्यार्थी तनावमा हुनु हुदैन । तनाव रहित तरीकाले परीक्षा दिन पाउनु पर्छ । तनाव , भय , त्रासका विच दिएको परीक्षाको परीणाम कस्तो होला ? सरकारले दश बर्ष सम्म गरेको लगानी ३ घण्टामा मापन गरिन्छ त्यो पनि सवै विद्यार्थीलाई तनावमा पारेर , अनि कसरी आउँछ सही परीणाम अभिभावक लालबहादुर चन्दले भने ‘ परीक्षा मर्यादित र ब्यवस्थित हुनु पर्छ यस कुरामा दुईमत छैन तर परिक्षालाई मर्यादित गराउने नाममा विद्यार्थीलाई तनाव र सास्ती दिने गरि होम सेन्टर हटाउने सरकारको जुन निर्णय छ यो ब्यबहारिक छैन ।’ अझ जाजरकोट जस्तो दुर्गम जिल्ला जहाँ भौगोलिक विकटता छ एउटा गाँउबाट अर्को गाँउ जान घण्टौ हिड्नु पर्ने बाध्यता छ त्यस्ता ठाँउमा होम सेन्टर हटाउने निर्णयले विद्यार्थी र अभिभावकलाई चिन्ता , तनाव र सास्ती मात्र दिने गरेको नागरिक अगुवा केशव जंग शाह बताउँछन् । अहिले पनि जिल्लाका अधिकांश विद्यालयमा विषयगत शिक्षक छैनन् । तल्लो तहका शिक्षकले माथिल्लो तहको जेनतेन पठनपाठन गरिरहेका छन् । धेरै विद्यालयमा अहिले सम्म आधा कोर्स पनि पुरा भएको छैन । यस्तो अवस्थामा परीक्षा केन्द्र मात्र परिवर्तन गरेर शिक्षामा सुधार ल्याउन सकिन्छ ? प्रतिप्रश्न गदै उनले भने– ‘ एक जना विद्यार्थीको कम्तिमा १० हजार खर्च हुन्छ गरीव विद्यार्थीले कसरी उक्त पैसा जुटाउने ? ।’ कतिपय यस्ता ठाँउ छन् जहाँ पैसा खर्च गरेर पनि खानेबस्ने होटल पाइदैनन् । गाँउलेको घरमा बस्नु पर्छ आफै खान पकाएर खानु पर्ने बाध्यता छ परीक्षाको समयमा । गाडीवाटै परीक्षा केन्द्र सम्म जान सकिने तराई तथा शहरी क्षेत्रका केही विद्यालयमा होम सेन्टर परिवर्तन गरेपनि खासै फरक पदैन तर भौगोलिक रुपमा विकट रहेका जहाँ होम सेन्टर परिवर्तन गर्दा डेरा नै लिएर बस्नु पर्छ जहाँ एकै पटक ठुलो संख्यामा जाने अभिभावक र विद्यार्थीको लागी खानबस्नको समेत समस्या पर्छ त्यस्ता ठाँउको लागी यो निर्णय विल्कुल गलत र अब्यवहारिक छ शिक्षक संघ जाजरकोटका अध्यक्ष जनकबहादुर सिहले भने–‘कतिपयका अभिभावक समेत साथमै जानु पर्ने हुन सक्छ । यसो हुँदा सदरमुकाममा आउनेले त होटल र कोठा पाउलान तर गाँउमा एकै पटक सयौको संख्यामा गएका अभिभावक र विद्यार्थीको बासको समस्या टडकारो रुपमा देखा पर्ने पर्छ । तसर्थ यो निर्णय तत्काल सरकारले फिर्ता लिनु पर्छ ।’ होम सेन्टर कायम गर्दा अभिभावक र शिक्षकहरुको चलखेल हुन्छ र परीक्षा भद्रगोल र अमर्यादिन हुन्छ भनेर यो निर्णय गरिएको हो भने विकल्पहरु अरु पनि हुन सक्छन् । अर्मादित कार्यमा संलग्न शिक्षकलाई निश्काशन गर्ने , ग्रेड रोक्का गर्ने , नसिहत दिने , स्पष्टिकरण सोध्ने लगायतका कार्य गर्न सकिन्छ भने अभिभावकहरुलाई सचेतिकरण र अभिमुखिकरण गरेर सम्झाउन सकिन्छ । भने विद्यार्थीलाई पनि निश्काशन र एक्सफेल्ड गरेर नसिहत दिन सकिने अध्यक्ष सिंहको सुझाव छ । जिल्ला शिक्षा कार्यालयका अनुसार जाजरकोटमा ६४ माध्यमिक विद्यालयका १९ ओटा परीक्षा केन्दबाट ५ हजार ६ सय १५ विद्यार्थीले परीक्षा दिदैछन् । कुनै पनि विद्यालयले आफु अध्ययनरत विद्यालयबाट परीक्षा दिन पाउने छैनन् । परीक्षालाई मर्यादित र ब्यवस्थित बनाउने भन्दै शिक्षा विभागको परिपत्र अनुसार नै यो निर्णय विगत ४ बर्ष देखी लागु गरिदै आएको जिल्ला शिक्षा अधिकारी ललित विक्रम सिहले बताए । जाजरकोट लगायतका कतिपय दुर्गम पहाडी तथा हिमाली जिल्लामा होम सेन्टर हटाउने निर्णय ब्यवहारीक छैन जिल्ला शिक्षा अधिकारी सिहले भने ‘गत बर्ष झाडापखाला फैलिएका परीक्षा केन्द्रहरुको अनुगमन गर्दा खानेपानी र शौचालयको अभाव , दुषित पानीको प्रयोग , सरसफाईको कमी ,गासबासको समस्या , छात्राहरु यौन हिंसामा पर्ने गरेको , दाउराको समस्या , पढाईको चापले कतिपय विद्यार्थीले बासी खाना खान बाध्य भएको पाईयो ।’ यसकारण होम सेन्टर परिवर्तन हटाउन आफुले सम्बन्धित निकायमा पहल गरेपनि सुनुवाई नभएको बताए । होम सेन्टर परिवर्तनका कारण अर्को ठाँउमा एक जना विद्यार्थीको साथमा थप २ जना जाने र एउटै कोठामा कोचिएर धेरै बस्नु पर्ने भएकोले पठनपाठनमा त विद्यार्थीलाई समस्या पर्छ नै स्वास्थ्यमा समेत समस्या पर्ने देखिन्छ । शिक्षा ऐन अनुसार विद्यालय तह सम्म घरबाट आधा घण्टाको दुरीमा अध्यापन गराउने ब्यवस्था मिलाईने उल्लेख छ तर विद्यार्थीलाई थप सास्ती दिने गरी परीक्षा केन्द्र परिवर्तन गरिनु बाल अधिकारको समेत हनन हुने अधिकारकर्मीको धारणा छ । –दीपबहादुर घर्ती /जाजरकाेट

जाजरकोट परिवर्तन परीक्षार्थी होम सेन्टर

विशेष