समाज

मुक्त हलियाको लालपूर्जा लिने सपना खोस्यो जाजरकोट बस दुर्घटनाले

मुक्त हलियाको लालपूर्जा लिने सपना खोस्यो जाजरकोट बस दुर्घटनाले

दीपबहादुर घर्ती, जाजरकोट चैत्र ३ । सिङगै जिल्ला शोकाकुल हुने गरी गत फागुन २६ गते भएको बस दुर्घटनाले मुक्त हलियाका सुन्दर सपना चुडालेर लगेको छ ।

क वर्गका ५ जना मुक्त हलियाको ज्यान लिनुका साथै ४ जना “क” वर्गका मुक्त हलियालाई गम्भीर घाईते बनाएर दुर्घटनाले उनीहरुको सुन्दर सपना खोसेको हो । पिडायुक्त २०७१ साल मंसिर ४ गते जाजरकोट भुरको रावतगाउँमा ५४ जनाको ज्यान जाने गरि भएको बस दुर्घटनाको दुई बर्ष पछि २७ जनाको ज्यान जानेगरी भएको यस बस दुर्घटनाले जिल्लाका मुक्त हलियालाई बढी पिडित बनाएको जिल्ला मालपोत कार्यालय जाजरकोटले जनाएको छ ।

पुस्तौ देखि अर्काको घरमा हलिया बस्दै आएका मजकोट–७ का ५१ बर्षिय कालो तिरुवा “क” वर्गका मुक्त हलिया हुन् । नेपाल सरकारको मुक्त हलिया कार्यक्रममा कालो तिरुवा यसबर्ष जग्गा खरिद कार्यक्रममा परेका थिए । नेपाल सरकारको कार्यक्रम तथा अनुदानमा कालो तिरुवाले गत फागुन २६ गते ४ रोपनी जग्गा खरिद गरेका थिए ।

जिल्ला मालपोत कार्यालयवाट जीवनमा पहिलो पटक आफ्नो नाममा जग्गा धनी पुर्जा हातमा लिएकै दिन तिरुवा बस दुर्घटनामा परेर मृत्यु भए । त्यसै गरी मजकोट–७ का “क” वर्गका मुक्त हलिया बर्ष ४० का तुले तिरुवाकी ४३ बर्षिय श्रीमती लालसरी तिरुवाको पनि लालपुर्जा हात लिएकै दिन बस दुर्घटनामा परेर मृत्यु भयो । श्रीमान तुले तिरुवा र डेढ बर्षिय छोरा केशव तिरुवा गम्भीर घाईते भए ।

डेढ बर्षिय छोरा केशव तिरुवाको उपचार नेपालगंज मेडिकल कलेजमा भैरहेको छ भने, श्रीमान तुले तिरुवाको उपचार नेपालगंजमा रहेको वेष्टन अस्पतालमा भैरहेको छ । मजकोट–७ का ३३ बर्षिय “क” वर्गका अर्का मुक्त हलिया धनपति चदाराकी ३३ बर्षिय श्रीमती कल्दरी चदारा पनि ४ रोपनी जग्गा खरिद गरेर जग्गा धनी पुर्जा हातमा लिएकै दिन बस दुर्घटनामा परेर मृत्यु भएकी छन् । उनका श्रीमान धनपति चदारा बैदेशिक रोजगारको सिलसिलामा विगत बर्ष देखि कतारमा रहेका छन् । त्यसैगरी साल्मा–५का आईते कामी पनि “क” वर्गका मुक्त हलिया हुन । नेपाल सरकारको कार्यक्रम अनुसार कामी यस बर्ष घर निर्माण कार्यक्रममा परेका थिए ।

घर निर्माण कार्यक्रममा नेपाल सरकारले ३ लाख २५ हजार अनुदान दिदै आएको छ । घर निर्माणका लागि जिल्ला मालपोत कार्यालयमा निवेदन दिन जिल्ला सदरमुकाम पुगेका आईते कामी निवेदन दिएर घर फर्कने क्रममा बस दुर्घटनामा परेर मृत्यु भएका हुन । उनी जस्तै साल्मा–५ का जीते कामी पनि हुन । जीते कामी पनि “क” वर्गका मुक्त हलिया हुन् । उनी पनि यस बर्ष घर निर्माण कार्यक्रममा परेका “क” वर्गका मुक्त हलिया हुन् ।

आईते कामी जस्तै जीते कामी पनि घर निर्माणको लागि जिल्ला मालपोत कार्यालयमा निवेदन दिएर घर फर्कने क्रममा बस दुर्घटनामा परेर मृत्यु भएका हुन् । मजकोट–७ की गोरी तिरुवा बस दुर्घटनामा परेर गम्भीर घाईते अबस्थामा पुगेपछि नेपालगंज उपचारमा रहेकी छन् । गोरी तिरुवा मृतक “क” वर्गका मुक्त हलिया कालो तिरुवाकी श्रीमति हुन् । त्यसैगरी साल्मा–५ का “क” वर्गका मुक्त हलिया वुदे कामी पनि बस दुर्घटनामा परेर गम्भिर घाईते भएका छन् । कामी यस बर्ष घर निर्माण कार्यक्रममा परेका थिए ।

उनी पनि घर निर्माणका लागि जिल्ला मालपोत कार्यालयमा निवेदन दिएर घर फर्कने क्रममा बस दुर्घटनामा परेर गम्भीर घाईते भएपछि हाल नेपालगंजमा उपचारमा रहेका छन् । त्यसैगरी घाईते भएर नेपालगंज उपचारमा रहेका “क” वर्गका अर्का मुक्त हलिया कार्कीगाउँ–७ का प्रशाद नेपाली हुन् । नेपाल सरकारको मुक्त हलिया कार्यक्रम अनुसार नेपालीले गतबर्ष नै जग्गा खरिदमा गरि सकेका मुक्त हलिया हुन् । उक्त बस दुर्घटनामा परी दुई जना शिक्षकले ज्यान गुमाएका छन् ।

ज्यान गुमाउने शिक्षकमा लहँ–४ का रामबहादुर बस्नेत र गर्खाकोटका हरिबहादुर शाही रहेका छन् । बस्नेत जनप्रिय माध्यामिक विद्यालय दशेराका सामाजिक बिषयका शिक्षक हुन् । बस्नेतले मावि अस्थायी दरबन्दीमा रहेर विगत ४ बर्ष देखि अध्यापन गरि रहेका थिए भने, शाही भानुभक्त प्राथमिक विद्यालय पैरम पजारुका शिक्षक हुन् । शाही विगत २० बर्ष पहिले देखि स्थायी दरबन्दीमा रहेर अध्यापन गरि रहेका शिक्षक हुन् ।

Jajarkot Accident

विशेष