समाज

तालिमले आत्मनिर्भर बन्दै कोसीपीडित महिला

तालिमले आत्मनिर्भर बन्दै कोसीपीडित महिला
चैत ४ । सुनसरी जिल्ला हरिपुर गाविस–३ की संगीतादेवी ठाकुरलाई पहिले मैनबत्ती बनाउन आउँदैनथ्यो । विद्युत्भार कटौती भएको बेला पसलबाट रु पाँचदेखि १० मा मैनबत्ती किनेर ल्याई बाल्थीन । तर अहिले उनी आफँै मैनबत्ती बनाउछिन् । संगीतादेवी मात्र नभई हरिपुर–३ की सुलेखादेवी झाको पनि कुरा उही हो । उनलाई पनि मैनबत्ती कसरी बनाइन्छ भन्ने ज्ञान थिएन । तर हरिपुर गाविसमै रहेको सामुदायिक कोसीपीडित संस्थाबाट मैनबत्ती बनाउने सीप सिकिन् । उनी अहिले तालिम लिएर मैनबत्ती बनाउन थालेपछि अब मोम, मैनबत्ती बनाउने फर्मा लगायतका सबै सामग्री भयो भने आफैँले मैनबत्ती बनाएर आयआर्जन गर्न सक्ने बताउँतछन् । महिला घरमा बसेर चुल्होचौको सम्हाल्नेबाहेक गरिखाने खास सीप नभएको बेला कोसीपीडित संस्थाले दिएको एकहप्ते मैनबत्ती बनाउने तालिमले सुलेखा, संगिता लगायतका त्यहाँका महिलालाई निक्कै सहयोगी बनेको छ । उक्त संस्थाले दुई समूहमा करिब ८० जना स्थानीय महिलालाई मैनबत्ती बनाउने तालिम दिएको थियो । हरिपुर–३ की ऋचा पाठकले पनि यही संस्थाबाट मैनबत्ती बनाउने तालिम लिएका हुन् । घरमा फुर्सदिलो र बेरोजगारीको जीवन बिताइरहेका बेला पाएको मैनबत्ती बनाउने तालिमले उनलाई निक्कै राहत दिएको छ । बेरोजगार बसेका महिला तालिमपछि मैनबत्ती बनाउन सिपालु भई उनीहरुमा उद्यमशीलता बढेको देख्दा प्रशिक्षक लक्ष्मण मेहतालाई पनि खुसी लागेको छ । गरिखान सीप नै चाहिन्छ । कोसीको बाढीले बिजोग बनाएका परिवारका महिलालाई गरिखान सघाउ पुग्नेगरी मैनबत्ती बनाउने तालिम दिनसकेकामा आयोजक सामुदायिक कोसीपीडित संस्थाका अध्यक्ष धिरेन्द्र पाठक खुसी छन् । विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाले दिएका धेरैजसो तालिमबाट समुदाय लाभान्वित भएको कमै सुनिन्छ । तर कोसीपीडित महिलाले पाएको मैनबत्ती बनाउने तालिमले उनीहरुको जीवनमा थोरै भए पनि उज्यालो दिएको छ ।

women empowerment

विशेष