समाज

बच्चाको तनावले किशोरीलाई परीक्षामा मुस्किल

बच्चाको तनावले किशोरीलाई परीक्षामा मुस्किल
चैत ४ । कार्कीगाउँकी १६ वर्षीया निर्मला खत्री अहिले माध्यमिक शिक्षा परीक्षा दिनु र साथमा रहेको एक वर्षको छोराको पालनपोषण गर्नु मात्र होइन, घर नजिकैको परीक्षा केन्द्रमा परीक्षा दिन नपाएपछि जगतिपुरमा बसेर परीक्षा दिन बाध्य हुनु परेको बताउँछिन् । जगतिपुरमा होटल नभएका कारण कोठा लिएर परीक्षार्थीले आफैँ खाना बनाई खानुपर्ने र डेढ घन्टा लगाएर पानी बोकेर ल्याउनुपर्ने अर्को बाध्यता रहेको निर्मलाको भनाइ छ । बच्चा सँगै भएका कारण पढाइ पनि राम्रो नभएको उनको भनाइ छ । “पढ्न लाग्दा छोरा रुन्छ, रुँदारुँदै कसरी पढ्नु ?” उनले भनिन् । उनी जस्तै अर्की भुरकी सबिना पुन पनि १६ वर्षकी भइन् । उनका साथमा पनि ६ महिनाकी छोरी छिन् । छोरीका कारण उनको पढाइ र अन्य काम सवै अलपत्र परेको छ । पढाइ नहुँदा नहुँदै उनी ६ महिनाको छोरी च्यापेर जगतिपुरमा परीक्षा दिन आएकी छिन् । बिहीबारको परीक्षा दिँदादिँदै तीनपटक छोरीलाई दूध ख्वाउँदा उनले सोचे जति लेख्नसमेत नसकेको बताइन् । छोरी, परीक्षा र बिरानो ठाउँ, अनि आफँै खाना वनाएर खानु परीक्षाको सबैभन्दा पीडाको विषय भएको पुनको भनाइ छ । घर नजिकैको विद्यालयमा परीक्षा केन्द्र भएपनि सेन्टर परिवर्तनले गर्दा विद्यार्थी मारमा परेका छन् । उमेर नपुग्दै विवाह बन्धनमा बाँधिने र छिट्टै बच्चा पाउँदा घरधन्दा र आमाको जिम्मेवारीले गर्दा यहाँका छात्राको पढाइ बिगँ्रदो अवस्थामा रहेको छ । आमाबाबाको दबाब र देखासिकीका कारण छिटो बिहे गर्दा जिम्मेवारी बढ्ने समस्याले त्यहाँका छात्राको पढाइमा समस्या आएको जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंहले बताए । परीक्षामा सहभागीमध्ये ३० प्रतिशत विवाहित भएको परीक्षा सहभागी केन्द्राध्यक्षले बताएका छन् । जिल्ला शिक्षा कार्यालयका अनुसार जाजरकोटमा ६४ माविका १९ वटा परीक्षा केन्दबाट पाँचहजार ६ सय १५ विद्यार्थीले परीक्षा दिँदैछन् । कुनै पनि विद्यालयले आफू अध्ययनरत विद्यालयबाट परीक्षा दिन पाउने छैनन् । परीक्षालाई मर्यादित र व्यवस्थित बनाउने भन्दै शिक्षा विभागको परिपत्रअनुसार नै यो निर्णय विगत ४ वर्षदेखि लागू गरिँदै आएको जिल्ला शिक्षा अधिकारी सिंहले बताए ।

mother student

विशेष