समाज

पाल्पाको जुरे गुफा संरक्षणको पर्खाइमा

पाल्पाको जुरे गुफा संरक्षणको पर्खाइमा
चैत्र–४ । पाल्पामा रहेको भुरे राजाहरुले राजकाज गरेको ऐतिहासिक जुरे गुफा संरक्षणको पर्खाइमा रहेको छ । पौराणिक कालमा भुरे राजाहरुले आफ्ना सेनासहित राजकाज गरेको जुरे गुफा भौगोलिक, प्राकृतिक र पर्यटकीय क्षेत्रले भरिपूर्ण छ । सहलकोट गाविस–७ घागीमा रहेको उक्त गुफाको संरक्षणमा कसैले ध्यान नदिँदा ओझेलमा परेको छ । माछापुच्छ्रे र धौलागिरि हिमाल, रामपुर उपत्यका, स्याङ्जा, तनहुँ, कास्की, लमजुङ, नवलपरासीलगायतका विभिन्न स्थानको एकैनजरमा अवलोकन गर्न सकिने ऐतिहासिक पर्यटकीय क्षेत्र जुरेगुफा विकास पूर्वाधारको अभावमा ओझेलमा परेको हो । यहाँबाट मोति झैं टल्केका हिमालका दृश्यले अवलोकन गर्न आउने पर्यटकलाई लालायित पारिरहेको हुन्छ । विसं २०३८ मा सो क्षेत्रका बासिन्दाले चमेरा मार्न जङ्गलमा जाँदा गुफा फेला पारेका कथन छ । गुफाभित्र नाग, भगवान्का विभिन्न आकृति, तरबारजस्तो आकृति, केराको खाप, गाईका थुनको आकृति देखिन्छ । दुई तलामा रहेको सो गुफाको माथिल्लो तला १० मिटर र तल्लो तला करिब ६० मिटर लामो रहेको छ । सहलकोटको उच्च भेगमा वनभित्र रहेको उक्त गुफामा पौराणिक समयमा भुरे राजाहरुले बसोबास गरी आफ्ना विपक्षीसँग यहाँबाट लडार्इं लडेको स्थानीयवासी बताउँछन् । यहाँबाट लुकेर झिरुवासको काउँलेडाँडा, मुहरियाडाँडा, नवलपरासीको हुक्सेकोटको थुम्काडाँडामा रहेका विपक्षीसँग लडेको इतिहास छ । अझै पनि गुफा आसपासका परिसरमा गोलीका अवशेष रहेका स्थानीयवासी गनबहादुर विक बताउँछन् । “गुफा संरक्षणमा अहिलेसम्म कुनै पनि निकायबाट सहयोग प्राप्त हुन सकेको छैन,” उनले भने । यहाँका स्थानीयवासी, राजनीतिक दल, सामाजिक व्यक्तित्व, बुद्धिजीवीलगायत सरोकारवालाले गुफा संरक्षणका लागि पहल गरे पनि सहयोग प्राप्त नभएको विकले बताए । गुफासम्म पुग्ने गोरेटो बाटो सामुदायिक वनका उपभोक्ता र स्थानीयवासीले निर्माण गरेपछि पछिल्लो समय अवलोकन गर्न आउने पर्यटकलाई सहज भएको छ । रामपुर नगरपालिकाको केन्द्रबाट सवारी साधनमार्फत करिब दुई घन्टामा गुफा पुगिन्छ । सहलकोटको जुरेबाट गुफा पुग्न १५ मिनेटको उकालो चढ्नु पर्छ । यहाँ मासिक करिब तीन सयको हाराहारीमा पर्यटक भित्रने गरेका वन समूहका अध्यक्ष रामबहादुर सारु बताउँछन् । “आर्थिक अभावका कारण गुफाको संरक्षण हुन सकेको छैन,” उनले भने । भौतिक पूर्वाधार विकास र विस्तार गर्न सकेको खण्डमा गुफालाई मुलुककै पर्यटकीय गन्तव्यस्थलका रुपमा चिनाउन सकिन्छ । गुफा नजिकै घागी पोखरी रहेको छ । उक्त पोखरी संरक्षणको अभावमा खण्डहरमा परिणत भएको छ । भुरे राजाहरुले जुरे गुफामा बसोबास गरेका बखत नुहाउने गरेको सो पोखरीको संरक्षण हुन सकेको छैन । प्रशस्त पानी रहने उक्त पोखरीमा २०६० साल यता पानी सुक्दै गएको छ । करिब एक सय मिटर क्षेत्रफलमा फैलिएको उक्त पोखरीको अस्तित्व सङ्कटमा परेको छ ।

जुरे गुफा पाल्पा संरक्षण

विशेष