खेल

नेपाली क्रिकेटमा प्रतिभाशाली खेलाडिको जन्म भएकै हो त ?

नेपाली क्रिकेटमा प्रतिभाशाली खेलाडिको जन्म भएकै हो त ?

चैत्र–४ । गत सोमबार नेपाल र केन्याको बीच भएको आइसिसी विश्व लिग क्रिकेट च्याम्पियनसिप म्याच सकिएपछि दीपेन्द्रसिंह ऐरीको चर्चा चुलियो । पहिलो म्याचमा हार व्यहोरेको नेपालले दोस्रो म्याचमा सानदार जित निकाल्यो । उक्त खेलमा ऐरीले ६६ बलमा ८ चौका र १ छक्काको मदतले ६२ रन बनाए । त्यतिमात्र हैन, उनीसँग कप्तान ज्ञानेन्द्र मल्लले १ सय ११ रनको महत्वपूर्ण साझेदारी पनि गरे । खेल सकियो । तर, उनको चर्चा सेलाएन । धेरै क्रिकेट पण्डितहरुले उनलाई नेपाली क्रिकेटमा अर्को प्रतिभाशाली खेलाडीको जन्म भनेर चर्चा गरेका छन् । नेपाली क्रिकेटमा अर्को प्रतिभाशाली खेलाडीको जन्म भएकै हो त ? प्रश्नले प्रष्ट उत्तर पाउँदैन । किनकि, एक सिजन चम्किएर अर्को सिजनमा हराउने खेलाडीहरु धेरै छन् । प्रशंशकहरुले भने जस्तै ऐरीसंग प्रतिभाशाली खेलाडीको लक्षण छ त ? यो सबै थाहा पाउन उनको खेलजीवनलाई नियाल्न जरुरी हुन्छ । ऐरीको खेल जीवन त्यति लामो छैन । अहिले पनि उनी १९ वर्षमै हिड्दै छन् । उनी ३ वर्ष अघि महेन्द्रनगरबाट सामान्य खेलाडीको रुपमा काठमाडौं आएका थिए । यु–१९ प्रतियोगितामा सहभागी हुन आएका उनले राष्ट्रिय स्तरको खेलाडी बन्छु भन्ने सोचेका थिएनन् । किनकि, उनीसँग नत राम्रो ब्याटिङ क्षमता थियो नत बलिङको नै । उनको एउटै विशेषता थियो आक्रमक फिल्डर । त्यही एउटै विशेषताको कारणले प्रशिक्षक जगत टमाटाले १४ वर्ष १० महिनाको उमेरमा उनलाई युथ–१९ मा स्थान दिए । टमाटा ऐरीको आक्रमक फिल्डिङमा लोभिएका थिए । फिल्डिङमा ऐरीले २०–२५ रन रोक्न सक्नेमा टमाटा विश्वस्त थिए । ब्याटिङमा पनि त्यस्तै गरे उनले टिममा ५० रनको हाराहारीमा योगदान गर्न सक्ने टमाटाको सोच थियो । यसरी टिममा अटाएका ऐरीले ३ वर्षकै अविधिमै लामो फड्को मारेका छन् । टमाटाको लोभ र भरोसलाई मर्न नदिईकन स्टार बन्ने झझल्को दिएका छन् । त्यसका लागि उनले केन्यासँगको खेलमार्फत प्रमाणित गरेर देखाएका छन् । उनी क्रिजमा आउदा नेपालको २ विकेट गुमिसकेको अवस्थामा जम्मा १४ रन मात्र थियो । उनले केन्याको तेज बलिङलाई निस्तेज पार्दै ब्याटिङको उत्कृष्ट क्लास देखाए । पेस एट्याक बलमा चौका प्रहार गर्दै गए । आफूभन्दा निकै अनुभवी कप्तान ज्ञानेन्द्र मल्ललाई क्रिजमा ठूलो आड र विश्वास दिलाए । ऐरीले सन् २०१४ मा कुवेतमा भएको एसिसी युथ–१९ प्रिमियर लिगबाट ‘डेब्यू’ गरेका थिए । त्यतिबेला उनलाई आठौं नम्बरमा ब्याटिङ गर्न पठाइएको थियो । ब्याट्सम्यानका लागि प्रतिकूल मानिने यस्तो अवस्थामा पनि उनले पुरै प्रतियोगितामा ५७ को औसतले १ सय १४ रन बनाए । कुवेतबाट नै फिल्डिङ मात्र होइन, ब्याटिङको पनि अपार सम्भावना भएको पुष्टी गरे । उनले त्यतिबेला कुवेतविरूद्ध आठ नम्बरमा ब्याटिङ गर्दै २० बलमा ४८ रन बनाएका थिए । ४ छक्का र २ चौकाको सहयोगले करिब अर्धसतकको नजिक पुगेका दीपेन्द्र त्यतिबेला दूर्भाग्यवस रनआउट हुन पुगेका थिए । उनको यो इनिङले प्रशिक्षक टमाटाको मन पुरै जितेको थियो । त्यसको अर्को वर्ष मलेसियामा भएको अर्को संस्करणको खेलमा उनलाई छैठौं नम्बरमा ब्याटिङ गर्न पठाइयो । त्यतिबेला पनि उनी प्रतियोगितामा नेपालको तर्फबाट सर्वाधिक रन (३ इनिङमा १ सय १५) बनाउने ब्याट्सम्यान बन्न पुगे । उनले कुवेतविरूद्ध नै समूह चरणको महत्वपूर्ण खेलमा ३४ रनमा ५ विकेट गुमाइसकेको अवस्थामा नेपाली टोलीको उद्दार गरे । त्यतिबेला उनले २ छक्का र १ चौकाको सहयोगले ८५ रन बनाएका थिए । प्रत्येक खेलमा उनको खेलको स्तर परिस्कृत हुँदै गयो । उनको खेल टमाटाले नजिक बाट नियालिरहेका थिए । थुप्रै स्टार खेलाडी हुदाँ हुँदै प्रशिक्षक टमाटाले सन् २०१६ को युथ–१९ विश्व कप र एसिया कपमा १६ वर्षका दीपेन्द्रलाई छनौट गरे । क्रिकेटपण्डितहरुकै भाषामा भन्नुपर्दा दिपेन्द्रमाथि जुवा खेले । सन् २००० को विश्वकप पछि पहिलो पल्ट सुपर–८ मा प्रवेश गरेको विश्वकपमा दीपेन्द्रले ७ विकेट लिँदै बलिङबाट केही प्रभाव देखाए । तर, ब्याटिङबाट खासै जम्न सकेनन् । युथ विश्वकपमा ब्याटिङमा ‘फ्लप’ भएका दीपेन्द्रले एसिया कपमा भने श्रीलंकाविरूद्ध सनसनीपूर्ण व्याटिङ गरे । टेस्ट राष्ट्र श्रीलंकाको युवा टोलीविरूद्ध पाँचौ नम्बरमा ब्याटिङ गर्ने क्रममा उनले १ छक्का र ९ चौकाको सहयोगले ९० रन बनाए । उक्त प्रतियोगितामै उनले भारतजस्तो सशक्त टिमविरूद्ध पनि ३४ रन ठोके । उनको यस्तै खेलले क्रिकेटप्रेमी, समिक्षक र प्रशिक्षकहरुलाई राष्ट्रिय टिममा आउन लागेको आभाष दिलाए । परिस्कृत हुँदै गएको खेल कौशलको कारण छनोट समितिले केन्याविरुद्ध उनलाई मैदानमा उत्रार्ने निर्णय गर्यो । उनको राष्ट्रिय टिममा खेल्ने सपना पुरा भयो । केन्याविरुद्धको खेल उनको लागि राम्रो प्रर्दशन गरेर मात्र हैन, कप्तान पारस खड्काको ठाउँमा ब्याटिङ गर्न २ नम्बरमा क्रिजमा उत्रिएर यादगार बन्यो । आठौं नम्बरबाट ब्याटिङ सुरु गरेका उनी ५ नम्बरमा ब्याटिङ गर्न आइपुगेका थिए । राष्ट्रिय टिममा ‘डेब्यू’ गर्दा सफल र आटिलाँ कप्तान पारस खड्काको ठाँउमा आए । ‘डेब्यू’ खेलमै तेत्रो स्थान दिनु उनको लागि कम गौरबको कुरा थिएन । उनले सदाझै आफूमाथि देखाएको विश्वासलाई टुट्न दिएनन । ५ विकेटले हारेको प्रतिकुल परिस्थितिको खेलमा पनि उनले १९ रन बनाएका थिए । हालको राष्ट्रिय टोलीका उत्कृष्ट ‘क्लोज फिल्डर’ दीपेन्द्र आँखा र हातबीचको समन्वय गर्न माहिर छन् । कुन बललाई कतिबेला प्रहार गर्ने ‘सर्ट सेलेक्सन’ मा पनि उनको सुझबुझ राम्रो देखिन्छ । प्वाइन्ट र कभर क्षेत्रमा उनको निपूर्णता केन्याविरूद्धको खेलले पनि उजागर गरिसकेको छ । अहिले ऐरी राष्ट्रिय टिमका उत्कृष्ट अलराउण्डर हुन् । उनी ब्याटिङ, बलिङ र फिल्डिङ सबैमा पोख्त छन् । धेरै खेलाडीहरु कुनै समय अत्यन्त राम्रो खेलेर पछि खेल्न नसकेका उदारण प्रशस्तै छन् । त्यसैले उनलाई प्रतिभाशाली भनिहाल्न नमिल्ने एकथरी क्रिकेट प्रेमीहरुको भनाइ छ । नेपाली क्रिकेटमा प्रतिभाशाली खेलाडीको जन्म भएकै हो त ? यसको जवाफ उनले बिगतका खेलहरुमा दिइसकेका छन् । अझै राम्रो जवाफ पाउन आगामी दिनमा उनले कस्तो खेल्छन् भन्ने महत्वपुर्ण हुन्छ । प्रस्तुतिः सागर बुढाथोकी

दीपेन्द्रसिंह ऐरी नेपाली क्रिकेट प्रतिभाशाली खेलाडि

विशेष