देश

निर्वाचनका लागि खोटाङमा १ सय ८० मतदान केन्द्र निर्धारण

निर्वाचनका लागि खोटाङमा १ सय ८० मतदान केन्द्र निर्धारण
चैत - ५ । स्थानीय तहको निर्वाचनका लागि खोटाङमा मतदान केन्द्र निर्धारण गरिएको छ । जिल्ला मतदान केन्द्र पुनरवलोकन सिफारिस समितिको शनिबार बसेको बैठकले १८० वटा मतदान केन्द्र निर्धारण गरेको हो । सरकारले आगामी वैशाख ३१ मा स्थानीय तहको निर्वाचन घोषणा गरेलगत्तै राजनीतिक दलहरु चुनावमा होमिएपछि जिल्ला पुनरवलोकन समितिले चारवटा नयाँ केन्द्र थप गरेर आयोगमा सिफारिस गरेको छ । भौगोलिक विकटताको समस्यालाई ध्यानमा राख्दै हिमगङ्गा निमावि राजापानी, तोमाने निमावि फेदी, महेन्द्रोदय मावि वाप्लुखा र डिकुवा निमावि डिकुवामा नयाँ केन्द्र राख्न सिफारिस गरिएको बैठकमा सहभागी नेकपा (माओवादी केन्द्र) खोटाङका अध्यक्ष देवान किरातीले जानकारी दिए । जिल्लामा यसअघि २०७० सालको संविधानसभाको निर्वाचनमा १७६ वटा मतदान केन्द्र तथा १३२ वटा मतदान स्थलबाट मत दिने व्यवस्था मिलाइएको थियो । यसअघिको सबै मतदान केन्द्र यथावत् रहने गरी चारवटा केन्द्र थप्न सिफारिस गरिएको जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले बताए । जिल्लाबाट प्रस्ताव गरिएको केन्द्र आयोगबाट प्रमाणित भएपछि कार्यान्वयनमा आउने कार्यालयले जनाएको छ । जिल्लामा अहिलेसम्म एक लाख १८ हजार ३६ जनाले फोटोसहितको मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएका छन् ।

मतदान केन्द्र

विशेष