कभर स्टोरी भिडियो सफलताको कथा समाज

प्यारालासिस, पथ्थरी र ट्युमर कारण बाँच्ने आश मारेकी विष्णुमाया भइन् योगगुरु, १४ वर्षदेखि योगा सिकाउँदै (भिडियाेसहित)

प्यारालासिस, पथ्थरी र ट्युमर कारण बाँच्ने आश मारेकी विष्णुमाया भइन् योगगुरु, १४ वर्षदेखि योगा सिकाउँदै (भिडियाेसहित)


उमेरले ६२ काटेकी विष्णुकुमारी ताम्राकारको विहान ३ नबज्दै उठेर घरधन्दामा लाग्नु नित्यकर्म हो । पाँच बजेसम्ममा घरको सम्पूण कामकाज सकेर बानेश्वरस्थित छक्कुबक्कु मन्दिरमा पुग्न हतारो हुन्छ । छक्कुबक्कु मन्दिर पुग्दा ३० जनाको हाराहारीमा रहेका गृहणीहरुले उनी आउने बाटो कुरिरहेका हुन्छन् ।

उनी मुसुक्क मुस्कुराउछिन् र सबैलाई अभिवादन गर्दाै हलको ढोका खोलिदिन्छन् । त्यसपछि सुरु हुन्छ योगा अभ्यास गराउने सिलसिला । विसं २०६५ सालबाट उनले निरन्तर योगा अभ्यास सिकाउँदै आएकी छिन् । उनले योगा अभ्यास गराएकै कारणले धेरै गृहणीहरु विभिन्न रोगबाट मुक्त पनि भइसकेका छन् । उनी योगा सिकाउने गुरुआमा हुन्, तर उनीलाई गृहणीहरुले ‘विष्णु दिदी’ भनेर सम्बोधन गर्छन् । अहिलेकी हसिली र फरासिली विष्णु दिदीको कथा आजभन्दा १८ वर्षअघि भने अर्कै थियो ।

१८ वर्षअघि न विष्णु दिदीको शरीर स्वस्थ थियो न साथमा पैसा । प्यारालाइसिस्, पाठेघर क्यान्सर, मृगौलामा पथरीलगायत रोगले ग्रसित उनलाई उपचार गराउँदा गराउँदै जायजेथा पनि सकिनै आँठेको थियो । औषधिको प्रयोग र रोगका कारणले उनको तौल ९५ किलोभन्दा माथि पुगेको थियो । उपचार गराउँदा गराउँदै सम्पत्ति रितियो तर रोग अलिकति पनि कम भएन । बरु ज्यानै जाने जोखिम बढ्यो ।

२०५४ सालमा उनको देब्र खुट्टा अचानक चल्न छोड्यो । खुट्टामा समस्या देखिएपछि विष्णु दिदी उपचारका लागि गोर्वाकोस्थित बी एण्ड बी अस्पताल पुगिन् । बी एण्ड बी अस्पतालका डाक्टर चक्र बास्तोलाले उनको स्वास्थय परीक्षण गरे । डा बास्तोलाको निग्रानीमा उनले उपचारलाई क्रमिक रुपमा अगाडि बढाइन् ।


जति उपचार गर्दापनि उनको समस्या उन्नाइसको बिस पनि भएन । खुट्टा तलमाथी दोब्रिन छोड्यो । उनी हिड्डुल गर्नपनि नसक्ने भइन् । विष्णु दिदीलाई हरेक हप्ता अस्पताल जानुपथ्र्यो । तीन–तीन महिनामा एकपटक खुट्टामा सुइ लगाउनुपथ्र्यो । लगातार छ वर्षसम्म उपचार गराउँदा पनि ठीक नभएपछि ६० सालमा डाक्टरले शल्यक्रिया गर्ने सल्लाह दिए । तर, उनले शल्यक्रिया गर्न मानिन् ।

एकातिर उनी प्यारालाइसिसले पीडित थिइन् भने त्यसकोसंगसंगै उनको मृगौलामा पथ्थरी देखियो । त्यसको पनि उपचार थालेपछि पाठेघरमा ट्युमर पलायो । यता विभिन्न थरिका औषधि खाँदाखाँदै उनलार्इ ग्याष्ट्रिक बिग्रेर अल्सर भयो । यतीले पनि नपुगेर शरीरभरी एलर्जी देखिन थाल्यो । उनलाई एकपल पनि सुख थिएन । सधैँ जसो उनलाई अस्पताल धाइरहनुपथ्र्यो । मृगौलाको उपचार डाक्टर ऋषीराज काफ्लेसँग गराइरहेकी थिइन् ।

पाठेघरको उपचार डाक्टर सरस्वतीले गरेका थिए भने डाक्टर अनिल कुमार झाले ग्याष्ट्रिको उपचार । जति उपचार गरे पनि केही कुनै रोगबाट पनि मूक्त हुन सकेकी थिइनन् । रोगले च्याप्दै लगेपछि उनको बाँच्ने आशा पनि सेलाउँदै गयो । त्यसै समय भारतीय टेलिभिज च्यानल आस्थामा स्वामी रामदेवको योग कार्यक्रम आउने गर्दथ्यो । उनले विहान सधैँ उक्त कार्यक्रम हेर्ने गर्दथिन् । रामदेवले योगबाट प्राणघातक रोगबाट मूक्ति पाइने बताउँथे । तर, उनले कहिल्यै योग गरेकी थिइनन् ।


सबै आश मरेपछि विष्णु दिदी मनमा नयाँ सोच पलायो अब योगा सिक्ने । बाबा रामदेवको कार्यक्रम हेर्दै उनले योगा सिक्न थालिन् । सुरुमा योगा अभ्यास गर्ने निकै नै कठिन भयो । उनलाई सँगै बसेर सिकाउने पनि कोही थिएन त्यही माथि उनी प्यारालाइसिसलगायतका रोगको शिकार पनि थिइन् । उनलाई योगा सिक्नु भनेको फलामको चिउरा चपाउनु जस्तै थियो ।

तर, विष्णु दिदी कहिल्यै हार मान्ने पक्षमा थिइनन् । एकदिन दुईदिन गर्दागर्दै उनको योगाको अभ्यास अगाडि वढ्दै गयो । योगा अभ्यासको परीणाम उनको स्वास्थ्यमा सुधारका आशा देखिन थाले । उनको तौल घाट्यो, खुट्टाको समस्या कम हुन थाल्यो, अन्य रोगलेपनि अलि कम सताएको महसुस हुन थाल्यो । निरन्तरको योगा अभ्यासपछि उनी साधारण हिँड्डुल गर्न सक्ने भइन् । उनीको मनमा सकारात्मक ऊर्जासंचार हुन थाल्यो । स्वास्थ्यमा रहस्यमय परिवर्तन देखिन थाल्यो । हिँडडुल गर्नै नसक्ने विष्णु दिदी ललितपुरस्थित अल्का अस्पताल अगाडि उग्रचण्डी मन्दिरमा योगा सिकाउन पुगिन् ।

सात महिनासम्म उनले त्यहाँ योगा सिकाइन् । त्यसपछि उनी बानेश्वरको छक्कु बक्कु मन्दिरमा आइन् । त्यहाँ ६५ सालदेखि योगा सिकाउन थालेकी उनी अहिलेसम्म निरन्तर योगा सिकाइरहेकी छिन् । छक्कु बक्कु मन्दिरमा विष्णु दिदीले नै योगा गराउन सुरु गरेकी हुन् । सुरुमा योगा अभ्यासमा आउने गृहणीहरु डराउने गर्दथे । उनले आफ्नो उदाहरण दिँदै नआतिन र नडराउन सम्झाँउथिन् । अभ्यासले गृहणीहरुको रोगहरु निको हुँदै गएपछि उनीहरुले अरु आफू जस्तै गृहणीहरुलाई बोलाउन थाले ।

हात्तीपाइलेदेखि मधुमेह (सुगर) र नशााको रोगसम्म निको हुँदै गएपछि अहिले योग अभ्यास गर्ने आउने गृहणीहरुको चाप छ । विष्णु दिदीले त्यहाँ योग मात्र सिकाउँदिनन्, गुरु समेत बनाइरहेकी छिन् । उनीसँग योग सिकेका कतिपय विद्यार्थी अहिले योगा गुरुसमेत भइसकेका छन् । अहिले उनलाई धेरैले गुरुआमा बनेर बोलाउँछन् । उनले नै योगा सिकाएर निको भएकाहरुले समयसमयमा उनलाई भेट्न आउछन् । धेरै नै सम्मान गरेर विभिन्न उपहार ल्याइदिन्छन् । उमेरले ६२ काटेकी विष्णु दिदी हेर्दा भर्खरैकी अधवैंश महिला जस्तै देखिन्छन् ।

१८ वर्षअघि विभिन्न जटिल रोगले आक्रन्त उनी अहिले विल्कुल स्वस्थ र फुर्तिली छिन् । योगा गर्न थालेपछि उनको जीवनले यु टर्न लियो । उनले पाठेघरको ट्युमरको अपरेशन गर्नु परेन । मृगौलाको पथ्थरी हरायो । प्यारालाईसिस ठीक भयो । ग्याष्ट्रिक, अल्सर प्रेसर, सुगर र नशाासम्बन्धि रोगहरु विष्णु दिदीको शरीरबाट सधैँका लागि बिदा भए ।

‘योगले मानिसलाई स्वस्थ र निरोगी मात्र हैन जीवन सुन्दर पनि बनाउछ ।’ उनले भनिन्– ‘योग निरन्तर गर्नुपर्छ यसले नै हामीलाई रोगबाट मुक्त गराउँछ ।’ विष्णु दिदीका अनुसार रोगबाट मुक्त हुनुछ भने योगसँगै खानपिनमा पनि सावधानी अपनाउनु पर्छ । ‘पानी धेरै पिउनु पर्छ, दूधजन्य परिकारहरु खान छोड्नु पर्छ, नुन कम खानुपर्छ ।’ उनले भनिन्–‘ खानपिन र योगाले सबै रोग जरैबाट निको पार्छ ।’ पहिला पसल गरेर बस्दा रोगले च्यापेको उनको निष्कर्ष छ । पसलबस्दा खानपिन र कसरत हुन नपाएकोले धेरै रोगी भएको उनी बताउँछिन् । ट्वाईलेट जान समेत अरुको सहारा लिनु पर्ने भएकाले उनको लागि जीवन बोझ थियो ।

अहिले उनी बिहान ५ बजेदेखि ९ बजेसम्म योगामा हुन्छिन् । त्यसपछि सहकारीमा समय दिन्छिन् । उनले आफ्नै घरमा छक्कुबक्कु सहकारी खोलेकी छिन् । योगबाट स्तन क्यान्सर समेत निको बनाउन सकिने उनको तर्क छ । केही समयअघि स्तन क्यान्सरले पीडित एक महिला योगा गर्न आईन् । ती महिलालाई तिन तिन महिनामा ३ प्याकेट रगत दिनुपथ्र्यो । उनी योग गरेर नै निको भईन । उनलाई अहिले रगत दिनु पर्दैन । उनको अनुसार अहिल्लै ती महिला स्वस्थ छिन् । यसरी योगा गरेर विभिन्न रोग निको भएको उनीसँग कैयौं उदाहरण छन् ।

उनी आफैँ त्यसको उदाहरण हुन् । उनको श्रीमानको विभिन्न जटिल रोग पनि योगबाट नै निको भएको बताउँछिन । अहिले उनी जस्तै उनको श्रीमान पनि निरोगी छन् । उनको श्रीमान सधै नियमित योगा गर्छन । ७० वर्षको उमेरमा उनको श्रीमानलाई कुनै रोग छैन । यो योगाले नै सम्भव भएको उनको तर्क छ । उनले ६५ सालदेखि नै योगा निःशुल्क सिकाईरहेकी छिन् । देशका विभिन्न ठाँउमा नि:शुल्क योगा क्लासहरु विगत लामो समयदेखि सञ्चालन भईरहेको छ । उनी त्यही अभियानमा लागेकी छिन् ।

प्रस्तुति: सागर बुढाथोकी


bishnu maya yoga guru

विशेष