३३ अर्ब झ्वाम पार्ने ‘प्रचण्ड– एनसेल कनेक्सन’ विरुद्ध सिम जलाउने चेतावनी (भिडियाेसहित)

चैत्र–६ । निजी क्षेत्रको मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले सरकारलाई बुझाउन बाँकी पूँजीगत लाभकर नबुझाएको विरोधमा आइतबार काठमाडौंको भद्रकालीमा प्रदर्शन भएको छ । नागरिक अधिकार अभियानले एनसेलले सरकारलाई बुझाउन बाँकी ३३ अर्ब पुँजीगत लाभकर अविलम्व बुझाउन माग गर्दै बिरोध कार्यक्रम गरेको हो । सरकारले ३३ अर्ब करबाट एनसेललाई मुक्ति दिन खोजिएपछि चौतर्फी बिरोध भएको छ । भद्रकालीमा भएको कार्यक्रममा विभिन्न संघसस्थामा कार्यरत युवाहरुको सहभागिता थियो । उनीहरुले एनसेल बिरोधी, सरकारको नीतिगत भ्रष्टाचारविरोधी नारा भएको पम्प्लेट बोकेका थिए । ‘कर छल्न पाईदैन, एनसेल हाम्लाई चाहिदैन् ।’ पम्प्लेटमा लेखिएको थियो । –‘३३ अर्ब ल्याउ फास्ट ट्रयाक आफै बनाउँ ।’

बिरोध कार्यक्रममा बोल्दै उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले राज्यलाई कर तिर्ने दायित्वबाट कुनै पनि संस्थाले उन्मुक्ति नपाउने तर्क गरे ।‘ एनसेलले नतिरेको ३३ अर्ब करले देशमा धेरै हाइड्रोपावर बन्छ । विमानस्थल बन्छ । फास्ट ट्रयाक बन्छ ।’ उनले भने –‘ ती बनेमा धेरै युवाहरुले रोजगार पाएर खाडीमा श्रम बेच्नु पर्दैन् ।’ कार्यक्रममा नो ट्याक्स नो एनसेल, ब्याक अफ एनसेल, चुनाब खर्च जनताले तिर्दैनन्, कर नतिर्नेलाई सार्वजनिक वहिष्कार गरौं । इमान्दारीता पूर्वक कर तिर्ने कम्पनीलाई प्रोत्साहन गरौं जस्ता नाराहरु लेखिएको पम्प्लेट पर्दशन गर्दै बिरोध गरिएको थियो ।

अध्यक्ष बानियाँले एनसेलले दुइ चार करोड चुनाव खर्च दिने बित्तिकै राजनीतिक दलहरुले कर नतिर्ने कम्पनीको बिरोध नगरेकोमा आक्रोश ब्यक्त गरे । ‘ एनसेलले कर नतिरे निषेधित क्षेत्रमा गएर एनसेलको सिम जलाउछौ ।’ उनले भने –‘ त्यसपछि प्रधानमन्त्रीले पनि आगो ताप्न आए हुन्छ ।’ प्रदर्शनमा अभियानका सदस्य हरिराम रिमालले कर नतिर्ने, नतिराउनेविरुद्धको अभियान जारी रहने बताए । उनले भने, ‘अधिकार छ भन्दैमा सरकारले नीतिगत भ्रष्टाचार गर्ने र लाभ उठाउने तत्वहरु हावी हुने हो भने जनता सडकमा उत्रनेछन् । ’ - सागर बुढाथोकी




