समाज

पर्ममा घर ठड्याउँदै महिला

पर्ममा घर ठड्याउँदै महिला

चैत्र ७ । आँगनछेउ ढुंगाको चाङ छ । आँगनको भित्ता र डिलैडिल लहरै १३ जना महिला धमाधम गिटी कुटिरहेका छन् ।

त्यही लहरको बीचमा छिन् मुजुर तामाङ । ढुंगा कुट्दा निस्केको धुलोले उनको अनुहार ढपक्कै छोपेको छ । तीन दिनभयो कुट्न थालेको, अब दुई दिनमा त पुग्ला कि मुजुरले मुख फेरिन् । छिमेकी मोती तामाङको घरआँगनमा तीनदिनदेखि लगातार टकटके हम्मर चलाइरहेका छन् उनीहरु ।

ज्याला मजदुरीका लागि होइन, पर्म आलोपालो श्रम साटासाटमा मोतीको घर बनाउन खटिइरहेका छन् ।  आज मोतीको काम गरिरहेका छौँ, पालैपालो सबै मिलेर घर बनाउँदैछौँ, उनले सुनाइन् । मुजुरलाई न चुनावको चटारो छ, न गाउँमा मत माग्न आउनेको कुरा सुन्ने फुर्सद । चिन्ता छ त मात्र वर्षायामअघि नै कसरी घर ठड्याउने भन्ने ।

नेपालगाउँ पुग्न दोलखा बजारबाट ७ किलोमिटर घुमाउरो र अप्ठेरो खालको ओरालो सडक यात्रा गर्नुपर्छ । गाउँभरिका ६३ धुरीमध्ये ५७ घर तामाङ समुदायकै छ । ३ मगर र ३ धुरीमा दलित । झुरुप्पको यो बस्तीलाई दुई वर्षअघिको भुँइचालोले झिरिप्पै बनाइदियो । कसैले वास्ता गरेनन् । गत साल चौधरी फाउण्डेसनले ६३ धुरीलाई नै घर बनाइदियो, तर सानो एक कोठे ।

जुन परिवार धान्न पर्याप्त थिएन । फाउण्डेसनले बनाइदिएको घर राखनधरन र सुत्ने कोठाका रुपमा प्रयोग गरेका स्थानीयले आफ्नै खर्चमा अस्थायी कटेरो बनाए । यसपालि बल्ल उनीहरु घर बनाउन जुटेका छन् । मोतीका अनुसार ६३ मा तीन जनाले घर बनाउन सुरु गरेका छन् ।

नागरिक

विशेष