आमा, आमा जस्तै सासु
सरला रेग्मी
घर दुबै घर नै हुन् । एउटा जन्म घर, एउटा कर्म घर । आफ्नो वालापन विताएको घरको माया र आफ्नो आधा भन्दा धेरै जीवन विताउने घरको माया अनि घर भित्र बस्नेको माया बराबर नै हुनुपर्ने हो । बराबर होस् भनेरै होला ससुरालाई बुबा, सासुलाई आमा, जेठानी अनि आमाजुलाई दिदि, देउरानी अनि नन्दलाई बहिनी, जेठाजुलाई दाजु र देवरलाई भाई भनिएको । एउटा विवाहको कसारमा पुगेको थिएँ । मिठो गीत वरिपरी महिला हात समातेर गोलो घेरा लगाएर ताली बजाउँदै घुम्दै नाच्दा रहेछन् । भिन्न परिवेशको भएर मलाई त्इो अनौठो लाग्यो । संगीनी नाच्ने भन्दै मेरो नी हात समातेर उनीहरुले नचाइदिए । त्इो नया पल मेरो लागि अनौठो र रमाइलो भयो । गीतको बोल थियो– घरमा एउटा ससुरा रहेछन् , बुबा भनेको होइन पो रहेछन् हे शिव नारायण घरमा त एउटी सासुनी रहेछिन् , आमा भनेको हाइन पो रहेछिन् हे शिव नारायण घरमा एउटा जेठाजु रहेछन् , दाजु भनेको होइन पो रहेछन् हे शिव नारायण घरमा एउटी जेठानी रहेछिन् , दिदि भनेको होइन रहेछिन्
हे शिव नारायण देवर .........................................
देउरानी ......................................
बैनी ...........................................
हे शिव नारायण ....................................।
यस्तै यस्तै गितको भाका हाल्दै संगीनी खेल्दा रहेछन् । त्यसपछि त्यो गित मेरो मुखैमा झुण्डियो । अनि यो गीतको अर्थ खोज्न मन लाग्यो घरमा त एउटा ससुरा रहेछन् बुबा भनेको होइन पो रहेछन्, ड्ड घरमा एउटा सासुनी रहेछिन् आमा भनेको होइन पो रहेछिन्, ड्ड के साँच्चै ससुरा बुबा जस्ता अनि सासु आमा जस्ती हुन्नन् त ? यदि हुँदैनन् भने किन नभएको होला ? उनीहरु पनि त कसैका बुबा आमा हुन् किन मेरा बुबा आमा मेरा लागि बुबा आमा र मेरी भाउजु बुहारीको लागि सासु ससुरा हुन् त, किन सासुलाई आमा नभनेर आमा जस्तै सासु भनिएको त ? हामी जसरी आफ्नी आमासँग सबै कुरा साट्छौं, दुःख सुख तर किन सासुसँगसाट्न नसकिएको त ?
विहानै उठ्दा घरमा हुँदा एक किसिमको त्रास मनमा हुन्छ । कतै सबै उठी सकेपछि विउँझिने हो की ! माइतमा त ढिला उठेनी त्रास नी नहुनु, पकाएको खाना मिठो नमान्ने हुन् की ? किन त्यहि डर माइतमा नहुने ? ठूलो स्वरमा हाँस्दा, ठूलो स्वरमा बोल्दा, गीत गाउन मन हँुदा किन भित्रभित्रै हाँस्नु पर्ने विस्तारै बोल्नु पर्ने मन भित्रै गुनगुनाउनु पर्ने ? किन जन्म घर र कर्म घर अनि जन्माउने आमा र सासु आमा फरक ? माइती घरमा ठूलो भएनी सानो सम्झिन्छन्, कर्म घरमा सानो हुँदा नी ठूलो सम्झिन्छन् ? समाज परिवर्तन छ भनेनी अझै परिवर्तन भएको छैन । सासुले जतिसुकै छोरीलाई गरे जस्तो गरेपनि बुहारीलाई कमी नै लाग्ने । अनि बुहारीले आमा जस्तै ठाने पनि सासुलाई गुनासै रहने । हुन त आजभोली थोरै परिवर्तन आएता पनि सासु बुहारीको सम्बन्ध थोरै निकट भएता पनि बुहारी छोरी अनि सासु आमा कहिल्यै बन्न भने सक्दैनन् ।
त्यहि कुरा छोरीले गरे आहा ! बुहारीले गरे छ्या ! आफ्नी आमाले गरे राम्रो अनि सासुले गरे किचकिचे बुढी ! यो अवस्था जबदेखि सासु बुहारीको सृजना भयो तब देखि शुरुभएको मेरो हजुरआमा सुनाउनुहुन्थ्यो । भोकलागेर पटुकी बाँधेर सबैले खाइसकेपछि खानुपर्ने त्यो चलन त अझै पनि परिवर्तन भएको छैन । पटुकी नबाँधे पनि खाना त सबैले खाइसकेपछि नै खानुपर्ने बुहारीको सामाजिक बन्धन छ । जसरी एउटा महिला शिक्षित हुँदा पूरा परिवार शिक्षित हुन्छ, त्यसरी नै एउटा घरमा सासु बुहारी मिलेर घरको ब्यवस्थापन गर्ने हो भने त्यो घर स्वर्ग बन्छ । जसरी एउटी बुहारीलाई टाउको दुख्दा छेउमा बसेर टाउको छामेर एकछिन आराम लेऊ तिमी भन्दिदो साासुको के विग्रिन्छ र !
एउटी सासुले कुनै कुरा चित्त नबुझाउँदा त्यसलाई किचकिच नसम्झिने हो भने के बुहारी र सासु बीचको सम्बन्ध सुमधुर बन्दैन होला त ? बुहारीको गल्ती छोरीको जस्तै ठानेर घरमा बचाउ गरे के त्यो बुहारीको मनले आमा जस्तै मात्र मान्थ्यो होला त ? सासुले भनेका साना कुरालाई मनमै राखेर बुहारीले सकारात्मक सोंचिदिने हो भने के सासु बुहारी बीचको सम्बन्ध आमा छोरीको जस्तै हँदैन थियो होला त ? एउटी बुहारी जब विवाह गरेर घरमा आउँछिन ।
उनीसंगै हजार सपना आएको हुन्छ । उनले आफ्नो पुरै परिवारको सपनाको भारी बोकेर आउछिन् । त्यसरी नै एउटी सासुले बुहारी भित्र¥याउँदा अनेकौं चाहाना, सपना बाँधेकी हुन्छिन् । बुहारीभित्र अनेकौं सपना देखेकी हुन्छिन् । दुबैको सपना एकै हुँदा हुँदै पनि यी बीचमा दुरी के ले त ? सामाजिक सँस्कार या ब्यवहारिक मतभेद ? सासुले आफुले भनेकै मान्नु पर्छ भन्ने सासुको मान्यता अनि स्वतन्त्रता हनन् भएको बुहारीको गुनासो । आफुले गरिरहेको ठाउँमा अर्कैको उपस्थिति अनि आफुले हुर्काएको छोरा अचानक अर्कैको छेउमा बसेको अनुभुतिले सासु बुहारी बीचको बढेको हो त ? यदि बुहारीले भनेका कुरा सासुले मान्ने भए । सासुको भावनालाई बुहारीले बुझिदिए । सासुको घाउमा बुहारीले मलम लगाइदिए । बुहारीको आँखाको आँसु सासुले पुछिदिए सबैले भन्थे आमा जस्ती सासु, वहाँको आमा मेरो पनि आमा ।
आमा सरला रेग्मी सासु