समाज

श्रमसंग जोडिएको बाल अधिकार

श्रमसंग जोडिएको बाल अधिकार
चैत्र - ८ । जाजरकाेट जिल्लाको पूर्व क्षेत्रमा रहेको भगबती–३ औलगुर्ताका बालबालिकहरु श्रम गर्न बाध्य बनेका छन् ।  त्यस ठाउँका बालबालीकाहरुले खेलकुद तथा मनोरञ्जनको समयमा विद्यालय निर्मणका लागि कठिन श्रम गर्न बाध्य हुन्। शिक्षा, स्वास्थ्य तथा मनोरञ्जनलगायतका बालअधिकार श्रमसंग गाँसिएको हाे । नेपाल राष्ट्रिय माध्यामिक बिद्यालय भगबती–३ औलगुर्तामा जिल्ला शिक्षा कार्यालयको ४८ लाख अनुदानमा ६ कोठे पक्की भवनको निर्माण कार्य अगाडि बढीरहेको छ । विद्यालयको पक्की भवन निर्माण लागि आवश्यक सामाग्री बालबालिकाहरुले जुटाउने गरेका छन् । कक्षा ४ देखि कक्षा ७ मा अध्ययनरत बालबालिकाले भवन निर्माणका लागि चाहिने वालुवा भेरी नदीको किनारवाट बिद्यालयसम्म बोकी रहेका छन् । नदीवाट बालुवा बोक्नेमा भगवती–४ बाईकाँडाकी सुनिता विक नेपाल राष्ट्रिय माध्यामिक बिद्यालय भगबती–३ औलगुर्तामै कक्षा ६ मा अध्ययनरत छात्रा हुन् । उनी अहिले १३ बर्षकी भईन् । विहान ७ वजे देखि ९ बजे सम्म बालुवा बोकेर १० बजे देखि पढाईको लागि बिद्यालयको कक्षा कोठामा जाने गरेको सुनिताले बताईन । उनले बिद्यालय छुट्टी भएपछि वेलुका ४ बजे देखि ६ बजे सम्म फेरी बालुवा बोक्ने गरेको जानकारी दिईन् । बालुवा बोकेर दैनिक ४ सय देखि ५ सय रुपैया कमाउने गरेको सुनिताको भनाई रहेको छ । सुनिता जस्तै बाईकाँडाकै चन्द्रा विक पनि हुन् । चन्द्रा विक बाईकाँडामै रहेको दलित प्राथमिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत छात्रा हुन् । चन्द्रा हाल ११ बर्षिय बालिका हुन् । सुनिताले गरे जस्तै चन्द्राले पनि दैनिक बालुवा बोक्ने काम गरिरहेकी छन् । त्यसैगरी कक्षा ७ मा अध्ययनरत १५ बर्षिय डण्डवीर विकले पनि बालुवा बोक्ने काम गरिरहेका छन् । उनी पनि बिहान बेलुका बालुवा बोक्ने काम गरेता पनि विद्यालय समयमा पढाईका लागि कक्षामा सहभागी हुने गरेका छन् । नेपाल राष्ट्रिय माध्यामिक बिद्यालयकै फिल्डमै भवन निर्माणका लागि आबश्यक पर्ने गिट्ठी नाबालक बच्चाहरुले कुटी रहेका छन् । गिट्ठी कुट्ने नावालकहरुमा युवराज विक, लक्ष्मी नेपाली, रविन्द्र विक, धनकला विक, शान्त विक रहेका छन् । गिट्ठी कुट्ने यि सबै नावालक कक्षा एकमा अध्ययनरत बच्चाहरु हुन् । बालुवा बोक्न तथा गिट्ठी कुट्ने कामवाट आफुले बच्चाहरुलाई रोक्न अनेकौ प्रयास गरेको भएता पनि रोक्न नसकेको नेपाल राष्ट्रिय माध्यामिक विद्यालय औलगुर्ताका प्रअ विरेन्द्रमान श्रेष्ठले जानकारी दिए । शिक्षा, स्वास्थ्य तथा मनोरञ्जन बालअधिकारका क्षेत्र भएता पनि यस क्षेत्रका बालबालीकाले श्रम गर्नु बाध्यता नभएर मनोरञ्जनका रुपमा लिएको प्रअ श्रेष्ठको भनाई रहेको छ । बालबालीकाको समग्र विकासका लागि अविभावकले बालअधिकारलाई शिक्षासंग जोडेर लिनु पर्ने जिल्ला शिक्षा अधिकारी ललित बिक्रम सिंहको भनाई रहेको छ । पढाई प्रति बालबालीेकाको ध्यानाकर्षण गराउन शिक्षक अविभावक सृजनात्मक बन्नु पर्नेमा जिशिअ सिंहले जोड दिदै आएका छन् ।
दीपबहादुर घर्ती / जाजरकोट

विशेष