अमेरिकाको युवा संयोजकमा सुमनको उम्मेदवारी
चैत–९ । गैरआवसीय नेपाली संघ अमेरिकाको निर्वाचनको मिति नजिकिँदै जाँदा विभिन्न पदहरुमा उम्मेदवारी घोषणा पनि सुरु भएको छ । हालै गैरआवसीय नेपाली संघ अमेरिका राष्ट्रिय समन्वय परिषद्को युवा संयोजकमा सुमन हुमागाईंले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । राष्ट्रिय समन्वय परिषद् अन्तर्गत अमेरिकामा रहेका आठ च्याप्टरमध्ये सबैभन्दा ठूलो न्यूयोर्क च्याप्टरमा युवा संयोजकको जिम्मेवारी पूरा गरिसकेका हुमागाईंले अहिले राष्ट्रिय युवा संयोजकमा आफ्नो उम्मेदवारी प्रस्तुत गरेका हुन् । हुमागाईँ न्यूयोर्क च्याप्टरको युवा संयोजक हुँदा नेपालमा विनाशकारी भूकम्पले ८ हजार भन्दा बढी मानिसको ज्यान लिएको थियो । सो बेला आपतमा परेका नेपालीहरुका लागि सहयोग संकलन, राहत संकलन, वितरण आदि कार्यमा हुमागाईंले महत्वपूर्ण योगदान दिएका थिए ।
अमेरिकामै पनि उनले विभिन्न समस्यामा परेका नेपालीहरुको बसोबासलाई सहज बनाउन अमेरिकी सरकारलाई घचघच्याउन, नेपालीहरुको हितका लागि बहस पैरवी गर्न हुमागाईं क्रियाशील छन् । हुमागाईंको यस्ता योगदानले राष्ट्रिय युवा संयोजकको पदमा परेको उनको उम्मेदवारीको औचित्य पुष्टि हुन्छ ।
आफ्नो उम्मेदवारी घोषणा गर्दै हुमागाईंले मतदातासमक्ष केही प्रतिवद्धता पनि सार्वजनिक गरेका छन् । उनले एनआरएनहरुका लागि परिचय वितरणमा पहल गर्ने, अमेरिकामा रहेका दक्ष व्यक्तिहरुको शिप र ज्ञानलाई नेपाल र नेपालीको हितमा प्रयोग गर्न पहल गर्ने, नेपालीहरुले गठन गरेको विभिन्न स्थानीय संघ संस्थासँग समन्वय गर्ने, अमेरिकामा रहेका दोस्रो पुस्ताका नेपालीहरुलाई आफ्नो भाषा, संस्कृतिप्रति जानकार गराउन प्रयास गर्ने, नेपाली बहुल भएका क्षेत्रहरुमा नेपाली पाठशाला खोल्न पहल गर्ने हुमागाईंको प्रतिबद्धता छ । सात वर्षअघि अमेरिका पुगेका हुमागाई मोरङका हुन् ।
गैर आवसीय नेपाली संघ अमेरिकाको निर्वाचन मे २० र २१ मा तोकिएको छ । निर्वाचनमा यसपटक १६ हजार ८ सय ८१ मतदाता छन् । मतदान अनलाईनमार्फत हुनेछ ।
अमेरिकामा २ लाख ७० हजार नेपालीहरुको बसोबास छ ।