पाठेघरको मुखमा हुने क्यान्सरको परिक्षण सबै जिल्लामा हुने
चैत्र–९ । स्वास्थ्य मन्त्रालयले यसै आर्थिक बर्षभित्रमा देशभरका सवै जिल्लामा पाठेघरको मुखमा हुने निःशुल्क क्यान्सरको परिक्षण (VIA Test Screening) सेवा सुरु गर्ने भएको छ ।
नेपालका अधिकांश महिलाहरुको मृत्युको मुख्य कारणको रुपमा रहेको पाठेघरको मुखमा हुने क्यान्सर न्युनिकरणका लागि मन्त्रालयले देशभरी सेवा विस्तार गर्ने भएको हो ।
नुवाकोटको विदुरमा भएको प्रजनन् स्वास्थ्य मेलालाई पठाएकाे शुभकामना सन्देशमा मन्त्री थापाले महिला सम्बन्धी रोगहरुको उपचार सेवा र चेतना बृद्धिका कार्यक्रमहरु तिव्ररुपमा विस्तार गरिने उल्लेख गरेका छन् । नुवाकोटमा भएको जस्तो प्रजनन स्वास्थ्य मेला देशभरका २० ठाँउमा संचालन गरिने उनले जानकारी दिए ।
त्यस्तैे पाठेघरको मुखमा क्यान्सर हुन रोक्ने एचपीभी भ्याक्सीन दिने कार्यक्रम अहिले चितवन र कास्कीमा संचालन भईरहेको उनले सन्देशमा उल्लेख गरेका छन् । आगामी बर्षदेखि यस्ता कार्यक्रम क्रमश सवै गाँउपालिका, नगरपालिका र स्थानीय स्वास्थ्य संस्थासम्म पुर्याउने मन्त्रालयको लक्ष्य रहेको मन्त्री थापाको भनाई छ ।
महिलाको पाठेघरको मुखमा हुने क्यान्सरबाट जोगिन जति सजिलो छ, क्यान्सर भर्ईसकेपछि जीबन जोगाउन त्यति नै गाह्रो छ भन्दै स्वास्थ्य मन्त्री थापाले यसको रोकथाम निकै सजिलो र सस्तो भएकाले त्यसलाई उपयोग गर्नपनि सबैलाई आग्रह गरेका छन् । स्वस्थ जीवनशैली अपनाउन र नियमित स्वास्थ्य परिक्षण गर्न मन्त्री थापाले सवैलाई आह्वान गरेका छन् ।
मन्त्रालय अन्तर्गतको परिवार स्वास्थ्य महाशाखाको आयोजनामा मेलामा मिनिल्याव, परिवार नियोजन, यौन रोग, आङ खस्ने, पोषण लगायतका विषयमा परामर्श तथा उपचार सेवा दिइएको छ । महाशाखाका प्रमुख डा नरेशप्रताप केसीले २७१ जनाको परिक्षण गरिएको जानकारी दिए ।
क्यान्सर
निःशुल्क
परिक्षण
पाठेघर