Technology

अनलाइनमार्फत व्यक्तिगत घटना दर्ता हुने

अनलाइनमार्फत व्यक्तिगत घटना दर्ता हुने
चैत्र - ९ । सङ्घीय मामिला तथा स्थानीय मन्त्रालय, पञ्जीकरण विभागले व्यक्तिगत घटना तथा दुर्घटना दर्ता अनलाइनमार्फत गर्ने तयारी गरेको छ । विभागले आगामी वैशाखदेखि देशभरका महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका अन्तर्गतका स्थानीय तहमा अनलाइनमार्फत जन्म, मृत्यु, विवाह, बसाइँसराइ र सम्बन्धबिच्छेद दर्ता गर्ने भएको विभागका सूचना अधिकारी खिलप्रसाद सुवेदीले जानकारी दिए । नागरिकले अनलाइनमा रहेको फाराम भरेर सम्बन्धित नगरपालिकामा पठाएपछि प्रमाणपत्र लिन मात्र जानुपर्ने छ । उनले अनलाइन सेवा पहिलो चरणमा सबै नगरपालिकामा गरिसकेपछि दोस्रो चरणमा सबै गाउँपालिकामा विस्तार गरिने बताए । ‘देशभरि नै सबै नगरपालिका र गाउँपालिकामा एकैसाथ अनलाइनमार्फत सेवा सुरु गर्ने योजनामा थियाैँ’, उनले भने, ‘सबै गाउँपालिका इन्टरनेटको पहुँच नपुगेकाले पहिलो चरणमा नगरपालिकामा सेवा सुरु गर्न थालेका हाैँ ।’ यसैगरी विभागले पहिले दर्ता भएका व्यक्तिगत घटना तथा दुर्घटना पनि अनलाइनमा राख्न सबै स्थानीय तहलाई निर्देशन दिएको छ ।

विशेष