कभर स्टोरी भिडियो

संघीयताले देश टुक्रेका उदाहरण पनि छन्, नेपालको संघीयता बैज्ञानिक भएन (भिडियोसहित)

संघीयताले देश टुक्रेका उदाहरण पनि छन्, नेपालको संघीयता बैज्ञानिक भएन (भिडियोसहित)


डा. सुनिलकुमार पोखरेल, द्वन्द्व व्यवस्थापन विज्ञ डा. सुनिलकुमार पोखरेल नेपाल टेलिकमका प्रवन्धक हुन् । सिभिल इञ्जिनियरिंगको पढाई पछि उनले विभिन्न क्षेत्रमा पनि विज्ञता हासिल गरे । अमेरिकाबाट उनले द्वन्द्व व्यवस्थापनमा पिएचडी गरेका छन् । जागिर नेपाल टेलिकमको भए पनि पोख्रेलको तिखो नजर भने नेपाली समाजमा छ । उनी नेपाली राजनीति र नयाँ व्यवस्थाबारे पनि चाख राख्छन् । डा. पोखे्रलले राख्नु भएको धारणाको मुख्य अंशहरु यस्ता छन् । संघीयताबारे नेपालीको गलत धारणा बसेको छ । यसका विषयमा राज्य सञ्चालकहरु पनि आफैँमा प्रष्ट छैनन् । त्यसकारण संघीयता भनेको के हो ? यो कहाँबाट र कसरी आयो ? यसको मूल मूल्य मान्यता के हो ? भन्ने कुरा जान्न जरुरी छ ।
यसरी सुरु भयो संघीयता पहिलो विश्वयुद्धभन्दा अघि जतिबेला बेलायतले विश्वको धेरै देशमा राज गरेको थियो । त्यसबेला अमेरिकाका साना–साना राज्यहरुले विश्वको चाललाई रोक्न नसकेपछि सबै राज्य मिलेदेखि रोक्न सकिन्छ उनीहरुले महशुस गरे । त्यसै अनुरुप १३/१४ वटा राज्य एकआपसमा मिले । मन लागेपछि आफू छुटिन पनि सक्ने र आफूमाथि कुनै बाहिरी हस्तक्षेप भएमा सबै एकै हुने सर्तमा १३÷१४ वटा राज्य मिलेपछि संयुक्त राष्ट्र अमेरिका बनेको हो । त्यसैगरी, भारतको सन्दर्भमा हेर्दा स्वतन्त्रता अघि विभिन्न राजाले राज्य गरेका थिए । सबै राज्य एकै भएर भारत पनि संघीयतामा गयो । तर, नेपाल सुरुदेखि नै एकात्मक राज्य (युनिटेरी सिस्टम) मा थियो । यहाँ धेरै जातका मानिसहरुको बसोबास सदियौँदेखि हुँदै आएको छ । नेतृत्व तहबाट सबै जातका मानिसलाई राम्ररी मिलाउन सकेको भए संघीयताको आवश्यक हुने थिएन ।
संघीयता के हो ? विभिन्न साना राज्यलाई एक गरेर राज्य व्यवस्थापन गर्नु र केन्द्रमा भएको शक्तिलाई सबैतिर परिचालन गर्नु नै संघीयता हो । संघीयता भनेको सुविधा हो, आफूलाई आफ्नो निर्णयमा काम गर्न पाउने स्वतन्त्रता पनि हो । संघीयतामा सबै नागरिकले सुख सुविधा पाउन् भन्ने धारणा हुन्छ । तर, यहाँ जात र धर्मको नाममा राज्य सञ्चालन भइरहेको छ । यहाँ आफू शक्तिशाली हुनको लागि जात, क्षेत्र, भाषाका नाममा संघीयतालाई गलत रुपमा प्रयोग गरियो । जात, भाषाको नाममा राज्य सञ्चालन गर्नु संघीयता होइन ।
संघीयता हुँदैमा देश विकास हुन्छ भन्ने धारणा गलत नेपालमा संघीयता नेपालीकै मागले आएको हो या होइन भन्ने कुरा स्पष्ट छैन । विश्वको इतिहासमा हेर्दा बाहिरी हस्तक्षेपले गर्दा एक हुनका लागि संघीयता आएको देखिन्छ । तर नेपालमा जनजातीहरुलाई एकात्मक राज्य (युनिटेरी सिस्टम) मा मिलाएर राख्न नसकेको कारण नेपालमा संघीयताको आवश्यकता महशुस गरिएको हो । नेपालका धेरै जनजाती र पिछडिएका वर्गमाथि थिचोमिचो भएपछि संघीयताले सबै समस्याको समाधान गर्न सकिन्छ भन्ने निष्कर्ष निस्कियो । बुझ्नु पर्ने कुरा संघीयताले विकास पनि गरेको छ र देश टुक्राएको पनि छ । संघीयताले मात्र देश बन्छ भन्ने कुरा पनि गलत हो । र संघीयता हुँनै हुँदैन भन्नु पनि गलत हो । यदि संघीयता हुने बित्तिकै मिल्ने भइदिएको भए दशौँ वर्ष संघीयताको प्रयोग भएको नाइजेरिया अहिले समस्यामा पर्ने थिएन ।
संघीयताबारे राम्ररी नबुझ्दा देश उल्टिने सम्भावना विश्वको इतिहास पल्ट्याउने हो भने संघीयताकाबारेमा राम्ररी बुझाउन नसक्दा देश उल्टिएको देखिन्छ । संघीयता, अधिकार र विकाससँग जोडिएको हुन्छ । जाति, जनजाती र सबै जनतालाई अधिकार दिलाउने हो भने देश टुक्रिदैँन । संयुक्त राज्य (युके) को स्कटल्याण्ड कुनै समयको छुट्टै देश थियो । अहिले पनि त्यहाँबाट छुटिन खोज्दै छ । स्कटल्याण्ड छुट्टै देश भएको र भिन्न रहनसहन भएको हुँदा त्यहाँबाट छुटिन पाउँछ । सिक्किमको कुरा गर्दा भर्खर भारतमा गाभिएको हो । त्यसलाई अब भारतले छुटिन दिदैँन । तर, नेपालको तराईं भनेको सयौँ वर्षअघिदेखि नै नेपालमा थियो र अहिले पनि नेपालमै छ । त्यसैले अलग हुन पाउँदैन । विश्वको कुनै पनि संविधानले छुटिने अधिकार दिदैँन । यो कुरा सबैले बुझ्न जरुरी छ ।
संघीता भनेको केन्द्रको शक्तिलाई फैलाउने काम संघीयता भनेको केन्द्रमा भएको शक्तिलााई देशका कुना कन्दरामा लैजाने हो । अर्थात एक ठाउँको शक्तिलाई फैलाउँदै लैजाने हो । तर नेपालमा त्यो मर्मलाई लागू गर्नु भन्दा पनि शक्तिलाई एकै ठाउँमा जाम गराएर राख्ने काम भएको छ । संघीयतामा आफूलाई गर्न मन लागेको विकासको कार्य आफ्नै ढंगमा गर्न पाउनु पर्छ । जात र भाषाको नाममा कहिल्यै संघीयता हुँदैन । जातको नाममा राज्य सञ्चालन पनि हुँदैन । संघीयताको नाममा भिन्न राज्य माग गर्नु मूर्खता आज संघीयताको नाममा विभिन्न प्रदेशलाई छुट्टै राज्य चाहिने र जात र धर्मका नाममा भिन्नै राज्य चाहिने माग गरिरहेका छन् । यदी अमेरिकामा पनि काला र गोराका लागि भिन्नै राज्य खडा गरिदिएको भए आज अमेरिका अमेरिका रहने थिएन । त्यसकारण त्यो गल्ति हामीबाट हुनु हुँदैन ।
यसरी सुरु भएको थियो डिभी (डाइभर्सीटी भिसा) अमेरिकामा १९९१ मा लस एन्सेलसमा भएको झडपमा धेरै मान्छेको ज्यान गयो । उक्त घटनाको बारेमा धेरै छानबिन र अनुसन्धान भयो । त्यो अनुसन्धानले के देखायो भने, जहाँ कुनै एक जातिको बाहुल्यता धेरै भएर राज्य सञ्चालन भएको हुन्छ त्यहाँ द्वन्द्व धेरै हुन्छ । जहाँ सबै जाति रहेर सञ्चालन गरेको राज्य हुन्छ त्यहाँ विकास पनि तीव्र हुन्छ । त्यसपछि अमेरिकाले हरेक जातजातिको बाहुल्यता बढाउनका लागि मिश्रित प्रणालीको विकास गर्न डिभी अर्थात डाइभर्सिटी भिसा अघि सार्यो । यस भिसा मार्फत अमेरिकाले विभिन्न देशका र फरक जातका मानिसहरु एकै ठाउँमा ल्याएर विकास गर्ने उद्देश्य राखिएको छ । यही कुराले प्रभावित भएर हुन सक्छ तत्कालिन राजा महेन्द्र शाहले २०२२-२३ सालमा एउटा नयाँ योजना ल्याएका थिए । पहाडियाहरुलाई पैसा कमाउनका लागि मधेस पठाउने र मधेसीहरुलाई पहाडमा पठाएर मिश्रित समाज बनाउने बस्ती विकास गराउने योजना थियो । अहिले पनि जहाँ मिश्रित समाज बन्न सक्यो त्यहाँ द्वन्द्व कम छ र जहाँ उक्त समाज बन्न सकेन त्यहाँ द्वन्द्व बढी छ ।
धर्म परिवर्तन रोक्न सरकारले सुविधा दिनुपर्छ विश्वमा दुई धर्मको बीचमा ठूलो खाडल देखिन्छ । एउटा इशाइ र अर्को इस्लाम । हिन्दू र बौद्ध धर्म शान्तिपूर्ण छन् । हिन्दू र बौद्ध धर्ममा द्वन्द देखिदैन । हिन्दूमा जातको नामले भेदभाव बढी छ । त्यो कुरालाई अहिलेसम्म पनि राज्यले पुर्न सकेको छैन । यसको फाइदा उठाएर इशाइ धर्मले धेरै मानिसहरु तानिरहेको छ । इस्लाम धर्म बढि कट्टरता देखिन्छ ।
पैसाको प्रलोभनमा धर्म परिवर्तन गर्नु गलत हो कुनै पनि व्यक्तिले आफ्नै कारणले धर्म परिवर्तन गर्न सक्छ । तर, पैसा, पढाइ लगायतका प्रलोभन देखाएर तथा जनताको मजबुरीको फाइदा उठाएर धर्म परिवर्तन गराइनु गलत हो । धर्म परिवर्तनमा रोक लगाउनका लागि जनताका कमसेकम आवश्यकता राज्यले पूरा गरिदिनु पर्दछ । ग्रामीण क्षेत्रमा सरकार पुग्न सकेको छैन । तर, एउटा इशाइ पैसा लिएर पुग्छ । दुर्गमको मजबुरीको फाइदा उठाउँछ । मुख्य समस्या त्यही नै हो ।

Nepal Telecom NTC sunil kumar pokharel

विशेष