समाज

एसईईका परीक्षार्थीवाट रकम असुली

एसईईका परीक्षार्थीवाट रकम असुली
चैत्र - १० । भगवती माध्यमिक विद्यालय भेटुखाना अर्छानीमा अध्ययनरत छात्र विकास सिंहले माध्यामिक शिक्षा परीक्षा (एसईई) को प्रवेश पत्र लिन जाँदा विद्यालयका शिक्षकले एक हजार रुपैयाँ मागे । विकासले आफूसँग पैसा नभएको बताएपछि उनले प्रवेश पत्र पाएनन् । प्रवेशपत्र नहुँदा परीक्षा नै रोकिने भएपछि साथीसँग सापटी लिएर एक हजार तिरेपछि उनले बल्ल प्रवेशपत्र पाए । मान्नेढुङ्गा माध्यामिक विद्यालय टालेगाँउ केन्द्रबाट परीक्षा दिइरहेका विशाल जस्तै त्यस विद्यालयका ९७ जना विद्यार्थीले परीक्षा व्यवस्थापन खर्चको नाममा एक एक हजार रुपैयाँ तिर्न बाध्य भए । परीक्षा सञ्चालन तथा व्यवस्थापन भन्दै जिल्लाका विभिन्न विद्यालयहरुले विद्यार्थीहरुवाट तीन सयदेखि दुइ हजार पाँच सयसम्म रकम असुल्ने गरेको विद्यार्थी तथा अभिभावकहरुको गुनासो छ । श्रीमावि शिर्पाचौर कोर्ताङवाट परीक्षा दिइरहेकी विमला घर्तीले प्रवेशपत्र ल्याउन जादा आफूले २ हजार बुझाएको बताइन् । सबैलार्इ २ हजारका दरले रकम दिन अनिवार्य उर्दी जारी गरिएको उनले गुनासो गरिन । त्यस्तै पन्चाला मावि पन्चाला दह केन्द्रमा पनि विद्यार्थीहरुवाट २ हजारका दरले रकम उठाएको स्थानीय अभिभावक सृजना वुढामगरले बताइन् । प्रवेशपत्र लिन आएका विद्यार्थीहरुवाट परीक्षा सञ्चालन खर्च भन्दै विद्यालयका प्रधानाध्यापक लगायतका शिक्षकहरुले रकम उठाउने गरेको विद्यार्थी तथा अभिभावकहरुको गुनासो छ । परीक्षामा खटिएका केन्द्राध्यक्ष र अनुगमनको लागि जिल्ला शिक्षाबाट आएका निरीक्षकहरुलाई खानबस्न, सुरक्षाकर्मीको चियानास्ता र परीक्षामा सहयोग गर्न भनि गएका शिक्षकलाई खानबस्नको लागि उक्त रकम खर्च गर्ने गरिएको एक शिक्षकले बताए । ती शिक्षकका अनुसार परीक्षामा खटिएकालाई राम्रो सँग ‘खुवाईपिवाई’ गरे परीक्षा फितलो गराउन सकिने र नत्र परीक्षा कडा हुने भन्ने भ्रम छरेपछि विद्यार्थीले मागे अनुसारको रकम दिन बाध्य हुन्छन् । शिवपुरी मावि गर्खाकोटका अभिभावक भगवानदेव शाहीले भने नियम विपरीत विद्यालयका शिक्षकहरुले खुलेआम रकम उठाउदा पनि सरोकारवाल निकाय मौन बसेको आरोप लगाए । उनले त्यस विद्यालयले २ हजार रुपैयासम्म असुलेको दावी गरेका छन् । जिल्लाका कोर्ताङ, मजकोट, दह, जुगा, सीमा, दशेरा, पजारु, अर्छानी, कार्कीगाँउ, लिम्सा, टालेगाउँ लगाएतका स्थानका विभिन्न विद्यालयहरुमा विद्यार्थीहरुवाट दुई हजार रुपैयाँसम्म परीक्षा सन्चालन खर्च भनेर रकम उठाउने गरेको पाइएको छ । तर, विद्यार्थीहरुले परीक्षा बिग्रिने डरले कुनै विरोध गर्न नसकेको बताएका छन् । रकम नदिए प्रवेश पत्र नै नदिने भएपछि आफूहरुले बाध्य भएर रकम तिर्नु परेको विद्यार्थीहरुको गुनासो छ । ती क्षेत्रका विद्यालयहरुमा विगतमा पनि चर्काे रकम परीक्षा सन्चालनको नाँउमा उठाउने गरेको गत वर्ष एसएलसी उतिर्ण गरेकी दहकी गीता घर्ती मगरले बताइन् । विथार्थीले एक्लै वोले सरहरुले परीक्षा विगारिदिने हुन कि भनेर विरोध गर्न नसकेको उनले बताइन् । रकम उठाएको वारे सम्वन्धित विद्यालयका प्रधानाध्यापकलार्इ सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंहले कुनै परीक्षार्थीवाट परीक्षा या अन्य वहानामा रकम लिन नपाइने वताए । उनले यसरी कसैले रकम लिएको पाइएमा कडा कारवाहि हुने बताए । जिल्लामा विगतको एसएलसी परीक्षा देखि नै परीक्षा सन्चालन, प्रमाणपत्र शुल्क भन्दै विद्यार्थीहरुवाट शिक्षकहरुले अनियमित ढंगले मनपरी रकम असुल्ने गरेको स्थानीय अभिभावकहरुको गुनासो छ । उनीहरुले सरोकारवाला निकायले कारवाहि नगरेका कारण वर्षेनी विद्यार्थीहरुलाइ शिक्षकहरुले लुट्ने गरेको आरोप लगाए । ३ चैत्रबाट शुरु भएको एसईई परीक्षामा जिल्लाका १९ ओटा परीक्षा केन्द्रबाट ५ हजार ६ सय विद्यार्थीले परीक्षा दिईरहेका छन् । परीक्षा केन्द्र सम्बन्धित विद्यालयबाट दिन नपाईने सरकारले नीति बनाएपछि झन रकमको चलखेल बढेको हो ।
दीपबहादुर घर्ती / जाजरकोट

विशेष