स्वास्थ्य

तीन महिनामा एक हजार चार सयबाट स्वास्थ्य बिमा

तीन महिनामा एक हजार चार सयबाट स्वास्थ्य बिमा

चैत्र १३ । सरकारले आधारभूत स्वास्थ्य सेवा सहज बनाउन नागरिक स्वास्थ्य बिमा कार्यक्रम ल्याएको तीन महिनाको अवधिमा बैतडीमा १ हजार चार सयभन्दा बढीले स्वास्थ्य बिमा गराएका छन्।

सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति बैतडीका प्रबन्धक जनक साउदका अनुसार पुसको पहिलो सातादेखि सुरु भएको स्वास्थ्य बिमा कार्यक्रममा १ हजार ४ सय ६१ जनाले नाम दर्ता गराएका छन्। ‘स्वास्थ्य बिमा गराउन जिल्लाभर दर्ता सहयोगी खटाएका छौं’, साउदले भने ‘स्वास्थ्य बिमा गराएकामध्ये ५७ जनाले सेवा लिइसकेका छन्।’

यसमध्ये ४५ जनाले जिल्ला स्वास्थ्य कार्यालयबाट, ३ जनाले पाटन प्राथमिक स्वास्थ्य केन्द्रबाट र ९ जनाले डडेल्धुरा उपक्षेत्रीय अस्पतालबाट सेवा लिएका हुन्।

स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत ५ जनासम्मको परिवारले वार्षिक रुपमा रु दुई हजार ५ सय तिरेमा रु ५० हजार बराबरको उपचार खर्च सरकारले व्यहोर्ने प्रावधान रहेको छ। पाँचजना भन्दा बढी भएमा ४ सय २५ का दरले थप रकम तिरी अधिकतम रु १ लाखसम्मको उपचार खर्च पाउन सक्ने प्रावधान रहेको छ।

बैतडीमा स्वास्थ्य बिमाबारे जानकारी गराउन ७० जना दर्ता सहयोगी रहेका छन्। स्वास्थ्य बिमा गराइसकेका बैतडीका स्थानीय बासिन्दाले जिल्लाको हकमा जिल्ला अस्पताल पाटन, प्राथमिक स्वास्थ्य केन्द्र केशरपुर, स्वास्थ्य केन्द्र गोकुलेश्वर र उपक्षेत्रीय अस्पताल डडेल्धुराबाट सेवा लिनसक्ने बताइएको छ।

सरकारले सुदूरपश्चिमका बैतडी र अछामसहित यस वर्ष थप २२ जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरेको छ। गत वर्ष कैलाली, बाग्लुङ र इलामबाट बिमा कार्यक्रम सुरु गरिएको थियो।

विशेष