स्वास्थ्य

बर्डफ्लु देखिएपछि कास्की र सुनसरीमा उच्च सतर्कता

बर्डफ्लु देखिएपछि कास्की र सुनसरीमा उच्च सतर्कता

चैत १३ । कास्की र सुनसरीमा कुखुरामा बर्डफ्लु देखापरेपछि देशको कुल उत्पादनको आधाभन्दा बढी कुखुराजन्य उत्पादन हुने चितवनमा उच्च सतर्कता अपनाइएको छ ।

यसका कारण अहिलेसम्म जिल्लामा बर्डफ्लु भित्रिन नपाएको सरकारी अधिकारीले बताएका छन् । जिल्ला पशुसेवा कार्यालय चितवनका प्रमुख डा डिल्लीराम सेढाईंका अनुसार जिल्ला भित्रिने र बाहिरिने कुखुराजन्य पदार्थ ढुवानी गर्ने सवारीसाधनमा कीटनाशक औषधि छर्केर मात्रै आवतजावत गर्न दिइएको छ ।

काठमाडौँ, पोखरालगायतका सहरमा कुखुराजन्य पदार्थ ढुवानी गरेका सवारीका साधनलाई भरतपुरको जुगेडी र पूर्वी क्षेत्रमा हेटौँडालगायतका क्षेत्रमा पूरै सफा गरेर कीटनाशक औषधि छर्केर मात्रै जिल्ला प्रवेश गराइने गरेको बताए ।

कार्यालयले अण्डा, मासु, चल्ला, दानाको उत्पादन र बिक्री वितरण गर्न बनेका कुखुरासँग सम्बन्धित सङ्घ सङ्गठनका अध्यक्ष एवम् पदाधिकारीसँग निरन्तर छलफल गरिरहेको सेढाईंले बताए।

दीर्घकालीन रुपमा सुरक्षाका लागि रणनीतिक योजनासमेत बनाइएको उहाँको भनाइ छ । सङ्घ सङ्गठनमार्फत किसानलाई जैविक सुरक्षा अपनाउन अनुरोध गरिएको छ जसमा फार्म प्रवेश गर्दा बाहिर लगाएको कपडा नलगाउन भनिएको छ र प्रवेशद्वारमा पानीको जैविक घोल बनाई त्यसमा टेकेर गाडी र मानिस प्रवेश गराउन लगाइएको छ ।

सेढाईंका अनुसारभित्र छिरेपछि गाडी र मानिसलाई खर्सोलिङ वा पोटासियम परम्याग्नेट मिसाइएको पानी छर्केर निर्मलीकरण गर्न भनिएको छ ।

त्यसैगरी, खोरको ढोकामा पनि पानीको तलाउ बनाएर खुट्टाले टेकेर मात्रै फार्ममा प्रवेश गर्न लगाइएको बताए । फार्ममा अन्य पशुपक्षी जान नदिन कडाइ गर्न लगाइएको छ भने कुखुरा प्रवेश गर्ने र बाहिरिने फरकफरक बाटो प्रयोग गर्न लगाइएको छ । फार्म र घरसँगै नराख्न र फार्ममा नियमित चुना छर्कन अनुरोध गरिएको छ ।

कार्यालयले जिल्लाका १४ वटा सेवा केन्द्रमार्फत तालिका नै बनाएर नियमित अनुगमन गर्ने र खोजी अभियानकै रुपमा काम गरिरहेको प्रमुख सेढाईंले बताए ।  प्रमुख जिल्ला अधिकारी अध्यक्ष रहने जिल्ला प्राविधिक समितिको बैठक बसेर विशेष उच्च सतर्कता अपनाउन सबैमा अपिल गरिएको छ ।

राष्ट्रिय पक्षी रोग अन्वेषण प्रयोगशाला भरतपुरका प्रमुख डा. दयाराम चापागाईंले पूर्वमा मकवानपुर, पश्चिममा नवलपरासी जिल्ला र चितवनका पूर्वी तथा पश्चिमी भेगमा खोजी अभियानलाई तीव्रता दिइएको बताए । शङ्कास्पद देखिएका १० वटा नमुना परीक्षणका लागि काठमाडौँ पठाइएको पनि चापागाईंले बताउनुभयो । कम क्षति पुर्याउने एच ५ एन १ फेला पर्न सक्ने भन्दै उहाँले बढी हानिकारक एच ५ एन १ भने अहिलेसम्म नभेटिएको जानकारी दिए । कुखुरा धेरै मरेका, अण्डा कम पारेका र शङ्कास्पद देखिएका कुखुराको नमुना सङ्कलन गरी तत्काल परीक्षण भइरहेको पनि बताए ।

Birdflu

विशेष