एएफसी एसियन कप छनौट चरणमा नेपालले फिलिपिन्ससँग भोलि खेल्ने
चैत्र–१४ । एएफसी एसियन कपको अन्तिम चरणको छनौटअन्तर्गत समूह ‘एफ्’ को खेलमा भोलि नेपाल र फिलिपिन्स भिड्दैछन् ।
सन् २०१९ मा युएइमा हुने एएफसी एसियन कपकोलागि नेपाली टोलीले मंगलबार रिजाल मेमोरियल स्टेडियममा घरेलु टोली ‘अजकल’ सँग प्रतिस्पर्धा गर्दैछ । विराज महर्जनको कप्तानीमा रहेको नेपाली टोलीले नेपाली समय अनुसार बेलुकी पौने ६ बजे फिलिपिन्ससँग खेल खेल्ने छ ।
नेपालले अहिलेसम्म फिलिपिन्ससँग खेलेको ४ खेलमा एक जित र बाँकी तीनमा हार व्यहोरेको छ । सन् १९८२ मा भएको पहिलो भेटमा नेपालले १–० ले हराए यता तीन खेलमा पराजित भएको छ ।
सन् २०११ मा फिलिपिन्ससँग भएको मैत्रिपूर्ण खेलमा म्याच फिक्सिङ भएको प्रहरी अनुसन्धानले देखाएको थियो । खेल ४–० ले हार्ने सर्तमा प्रति खेलाडीले अमेरिकी डलर ५ हजार लिएको दावीसहित विशेष अदालतमा तत्कालीन कप्तान सागर थापासहित राष्ट्रिय फुटवल टिमका पूर्व खेलाडीहरु अन्जन केसी, विकास सिंह क्षेत्री, रितेश थापा, र सन्दिप राईविरुद्ध राज्यद्रोहको मुद्दा जारी छ ।
नेपाली टोलीका प्रमुख प्रशिक्षक ग्योतोकु कोजीले फिलिपिन्स माथिल्लो स्तरको टोली भएतापनि आफ्नो टोली उसलाई टक्कर दिन सक्षम रहेको दावी गरे । ’नेपाली टोली सन्तुलित छ र टोलीले आफ्नो क्षमता अनुसार खेल्न सके घरेलु टोलीविरुद्ध तीन अंक खोस्न सक्छौं ।’
एएफसी एसियन कप
छनौट चरण
नेपाल
फिलिपिन्स