समाज स्वास्थ्य

साङ्लाले बाँधिएका लीला उपचारपछि घर फर्किए

साङ्लाले बाँधिएका लीला उपचारपछि घर फर्किए
चैत्र–१४ । सत्र वर्षदेखि साङ्लोमा बाँधिएका बाह्रदशी गाउँपालिका– ३ राजगढका १९ वर्षीय लीला चम्लागार्इं उपचारपछि साेमबार घर फर्किएका छन् । मानसिक सन्तुलन गुमेपछि लीलालाई उनका परिवारले विगत १७ वर्ष वर्षदेखि घरमा नै साङ्लाले बाँधेर राखेका थिए । राष्ट्रिय समाचार समिति (रासस)ले फागुन ३० गते १७ वर्षदेखि साङ्लोमा लीलाप्रसाद शीर्षकमा तस्बीर सहितको समाचार प्रकाशन गरेपछि उनको विर्तामोडस्थित बिएन्डसी अस्पतालले निःशुल्क उपचार गर्ने घोषणा गरेको थियो । अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसार्इं, मानसिक रोग विशेषज्ञ डा सन्दिप बर्मा र सहायक प्रमुख जिल्ला अधिकारी भीमप्रसाद तिवारीलगायत टोलीले चम्लागार्इंको घरमै पुगेर लीलालाई उपचारका लागि अस्पताल ल्याइएको थियो । चैत १ गते अस्पताल भर्ना भएका लीलको सम्पूर्ण औषधि उपचार अस्पतालले निःशुल्क गरेको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिष गिरीले बताए । दुई सातासम्म अस्पतालमा डा बर्मासहितको चिकित्सक टोलीले उनको उपचारपछि आज लीलालाई एक समारोहको आयोजना गर्दै घर फर्काइएको छ । सो अवसरमा उनको उपचारमा संलग्न चिकित्सक बर्माले लीलालाई अब साङ्लोले बाध्नु नपर्ने बताए । उनमा बुद्धिको विकास नभएको र छारे रोगका कारण यस्तो समस्या देखिएको भन्दै उनले केही समयसम्म लीलाले निरन्तर औषधि सेवन गर्नुपर्ने बताए । २०५४ सालमा जन्मिएका लीला बाल्य अवस्थादेखिनै बोल्दैनथे । उनको दाँहिने हातसमेत नचल्ने र टोलाइरहने स्वभावका उनी अहिले सबै कुरा बुझ्नसक्ने भएको उनकी आमा जानुकाले बताईन् । उपचारपछि छोरो निको भएको भन्दै उनले उपचारमा सहयोग पुर्याउने सबैलाई धन्यवाद दिए । अस्पतालका प्रबन्ध निर्देशक प्रसाईंले लीलाको उपचारमा लागेका सम्पूर्ण खर्च अस्पतालले नै व्यहोरेको र अब लाग्ने सम्पूर्ण औषधिसमेत अस्पतालले निःशुल्क प्रदान गर्ने बताए । रासस

उपचार लीला चम्लागार्इं साङ्ला

विशेष