समाज

साहको परिवारलार्इ १० लाख राहत हस्तान्तरण

साहको परिवारलार्इ १० लाख राहत हस्तान्तरण
चैत - १४ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले भारतीय एसएसबीको गोली प्रहारबाट मृत्यु भएका मोरङका अमाही बरियाती–७ स्थित खयरबनका वासुदेव साहकी धर्मपत्नी उर्मिलादेवी साहलाई सरकारको तर्फबाट राहतस्वरुप आज रु दस लाखको चेक हस्तान्तरण गरे । जिल्ला प्रशासन कार्यालय मोरङको कार्यालयमा आयोजित सो चेक हस्तान्तरण कार्यक्रममा पूर्वान्चलका क्षेत्रीय प्रशासक राजेश्वरमान श्रेष्ठ, प्रहरी नायव महानिरीक्षक रमेशप्रसाद भट्टराई सशस्त्रका प्रहरी नायव महानिरीक्षक जानकीराज भट्टराई, प्रजिअ यज्ञराज कोइराला, पीडितका दुई छोरा गौंतम, जयकान्त र छोरी लक्ष्मी लगायत सञ्चारकर्मीहरूको उपस्थिति थियो । छ वर्षअघि २०६७ साल जेठ ११ गते भारतीय सीमा सुरक्षा बल ९एसएसबी० का दुई जवान नेपालको भूमिमा प्रवेश गरी ५५ वर्षीय वासुदेव साहलाई गोली प्रहार गरी हत्या गरेका थिए । तेल तस्करलाई लखेट्दै भारतीय सीमा सुरक्षा बलको २४ औंँ बटालियनका निरीक्षक हितेन्द्र सिंह र हवल्दार मदन सिंह सादा पोशाकमा नेपालको भूमिमा प्रवेश गरेका थिए । स्थानीय प्रहरी चौकीका प्रहरीले उनीहरूको प्रतिरोध गरेपछि विवाद सुरु भएको थियो । सोही समयमा स्थानीयहरूले पनि एसएसबीका जवानको विरोध गर्दै फिर्ता जान आग्रह गरेपछि एसएसबीका जवानद्वारा चलाइएको गोलीबाट समाजसेवीका रुपमा रहेका साह गम्भीर घाइते भएका थिए । गम्भीर घाइते भएका उनलाई उपचारका लागि विराटनगर ल्याउने क्रममा बाटोमै मृत्यु भएको थियो । सो घटना घटेको दुई दिनपछि जेठ १३ गतेनै सुरक्षा समितिको बैठकले पीडित परिवारलाई क्षतिपूर्तिका लागि गृह मन्त्रालयमा सिफारिस गरेको थियो । सो अवसरमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री निधिले पीडित परिवारप्रति समवेदना प्रकट गर्दै ज्यानसँग क्षतिपूर्तिको तुलना गर्न नसकिने भएपनि परिवारका सदस्यको भावी जीवन अगाडि बढाउनका लागि सो राहत रकम उपलब्ध गराएको बताए । भारतीय सीमा सुरक्षा वलबाट यस्तो घटना नहुनुपर्ने उल्लेख गर्दै उनले कञ्चनपुरका गोविन्द गौतमको घटनापछि मोरङमा पनि छ वर्षअघि सोहीअनुरुपको घटना भएको थाहा पाएपछि मोरङ जिल्ला प्रशासनबाट वास्तविक जानकारी प्राप्त गरेर राहत उपलब्ध गराएको बताए । सोही अवसरमा उनले मृतक साहका दुई छोराले म्यादी प्रहरीमा भर्ना हुन चाहेमा भर्ना गर्नका लागि सम्बन्धित क्षेत्रीय प्रहरी कार्यालयलाई आग्रह गरे राष्ट्रियताका लागि संविधानः उपप्रम निधि
यसैबीच, उपप्रधानमन्त्री एवम् गृहमन्त्री निधिले राष्ट्रियता र लोकतन्त्रलाई व्यवस्थापन गर्नका लागि मुलुकमा संविधान जारी भएको बताए । विराटनगरबाट प्रकासित न्यू सृष्टि दैनिक छैठौँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा सो पत्रिकाद्वारा आज यहाँ आयोजित कार्यक्रममा उनले परिवर्तनको वाहक र रक्षकका साथै जनता र सरकारबीच पुल बनेर अगाडि बढ्ने कार्यमा पत्रिका र सञ्चारकर्मीले अहम् भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे एउटै जनआन्दोलनबाट मुलुकमा पाँच प्रकारका आमूल परिवर्तन भएको प्रसङ्ग उल्लेख गर्दै उनले भने, ‘राजतन्त्रबाट गणतन्त्र, एकात्मक राज्य संरचनाबाट सङ्घीयता, हिन्दु राष्ट्रबाट धर्मनिरपेक्ष, असमावेसीबाट समावेसी र प्रत्यक्ष निर्वाचनबाट मिश्रित निर्वाचन प्रणालीमा मुलुक गएको छ ।’ संविधानलाई सवै पक्षबाट स्वीकार गराउने प्रयास भइरहेको उल्लेख गर्दै उनले कमी कमजोरीलाई सच्याएर मधेसी मोर्चा, थारु र जनजातिलाई विश्वासमा ल्याउनका लागि वार्ता र छलफल भइरहेको जानकारी गराए । संविधानलाई संशोधन गरेर समृद्ध बनाउने स्पष्ट पार्दै उनले भने, ‘तीनवटै निर्वाचन निर्धारित समयमा सम्पन्न गर्नका लागि वातावरण बनाउन अग्रसर हुनुपर्दछ ।’

विमलेन्द्र निधि

विशेष