समाज

१० दिनमा १४ किलोमिटर बाटो खने स्थानीयवासीले

१० दिनमा १४ किलोमिटर बाटो खने स्थानीयवासीले

चैत्र १५ । दशवर्षे सशस्त्र युद्धको पीडा बेहोरेका रुकुम खाराका जनताले आफैं रकम संकलन र श्रमदान गरेर गाउँमा सडक र्पुयाएका छन् । प्रतिघर कम्तीमा १० हजारदेखि ८० हजार रुपैयाँसम्म उठाई १० दिन श्रमदान गरेर उनीहरूले रुकुमको त्रिवेणी गाउँपालिका ४ खुम्चेरीबाट पोखरी जोड्ने झण्डै १४ किलोमिटर सडक खनेका हुन् ।

पोखरीगाउँको माथिल्लो टोल र तल्लो टोलका लागि छुट्टाछुट्टै उपभोक्ता समिति गठन गरेर चैत सुरुबाट सडक खन्न थालेको र दस दिनमै निर्माण पूरा भएको जानकारी माथिल्लो टोलकी सडक निर्माण उपभोक्ता समिति अध्यक्ष रामकली खड्काले दिइन् ।

‘आफ्नो घरसम्म सडक ल्याउन धेरैपल्ट गाविस परिषद्मा कुरो उठायौं। कसैले सुनेनन’, रामकली भन्छिन, ‘त्यसैले आफ्नो गाउँका लागि आफैं जुट्नुपर्छ भनेर प्रत्येक घरबाट पैसा उठाई श्रमदानसमेत गरेर सडक बनायौं ।’ साबिकको वडा नं. ५ रहेको पोखरीगाउँ खाराको खुम्चेरी र कुरलको बीच डाँडामा अवस्थित छ । खुम्चेरीको लाँकुरीडाँडासम्म पुगेको सडकलाई गाउँलेले पल्लोगाउँ कुरलसँग जोडेर अगाडि बढाउने योजना बनाएका छन् । आफ्नो घरसम्म सडक आउने भएपछि खुसी बनेका स्थानीय दलबहादुर खड्काले सबैभन्दा धेरै ८० हजार रुपैयाँ सहयोग गरेका थिए ।

स्थानीय लक्ष्मी खड्काका अनुसार गाउँमा सडक ल्याउने सल्लाहबमोजिम पैसा उठाउने र श्रमदान गर्ने निर्णय भएको हो । प्रतिघर अनिवार्य १० हजार र त्योभन्दा माथि इच्छाले सहयोग गर्न आग्रह गरिएपछि स्वतस्फूर्त रूपमा रकम जुटेको थियो । पैसा उठाएर पेस्की दिएपछि डोजर लगाएर र श्रमदान गरेर सडक निर्माण गरेका स्थानीय अगुवाले जनताले यति धेरै गर्दा पनि तत्कालीन खारा गाविसले जम्मा ८० हजार रुपैयाँ मात्रै विनियोजन गरेको र त्यही पनि अहिलेसम्म नपाएको गुनासो गरेका छन् ।

स्थानीयले उठाएको रकमले नै सडक निर्माण गर्न पुगेको उनीहरू बताउँछन् । खाराका अरू सबै गाउँमा सडक पुग्दा आफ्नो गाउँमा पनि पुग्नुपर्छ भनेर पटकपटक कुरो उठाएको तर कसैले नसुनेकाले आफैं जुटेको पोखरीको तल्लो टोल सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष रहेका लक्ष्मी खड्का बताउँछन् ।

सशस्त्र युद्धका कारण धेरै मानवीय र भौतिक क्षति बेहोरेको खाराको यो गाउँको विकासमा राज्यले बेवास्ता गरेको गुनासो स्थानीयले गरेका छन् । झन्डै १० लाख नगद र ८ लाखबराबरको श्रमदान गरी सडक निर्माणमा १८ लाख रुपैयाँ लगानी भएको हो । सडक बनेपछि सदरमुकाम र विद्यालय आउजाउ गर्न सहज भएको छ भने गाउँको उत्पादनसमेत बजारसम्म र्पुयाउन सकिने भएको छ ।

अन्नपूर्ण

Sadak

विशेष