देश

जनता अझै सदरमुकाम धाउन बाध्य

जनता अझै सदरमुकाम धाउन बाध्य
चैत - १५ । जाजरकोटको त्रिवेणी नलगाड नगरपालिका –८ का गोपाल खत्रीलाई स्थानीय तह कार्यान्वयनमा आएपछि सबै काम गाउँबाटै हुन्छ भन्ने लागेको थियो । धेरैजसो काम नगरपालिकाबाटै हुने सुनेका उनलाई अब भने पत्यार लाग्न छाडिसक्यो । वडाबाटै पाउनुपर्ने सिफारिस उनले सदरमुकाममा आएपछि मात्रै पाए । जिल्ला समन्वय समितिमा एउटा योजना सम्झौताको सिफारिस बनाउन उनलाई दुई दिन लाग्यो । 'सबै भन्ने कुरामात्र रहेछ कि क्या हो ?', जिल्ला समन्वय समिति परिसरमा भेटिएका खत्रीले प्रश्न गरे – 'सबै काम जिल्लाबाटै हुने हो भने सिंहदरबार गाउँ गयो भनेर होहल्ला किन गरेका ?' नगर तथा गाउँपालिका कार्यान्वयनमा ल्याइए पनि वडापालिकाबाटै काम हुनेगरेको बताउने सर्वसाधारण बिरलै भेटिन्छन् । तीन नगरपालिका र चार गाउँपालिका अधिकांशको काम अहिले पनि जिल्लाबाटै हुने गर्छ । गाविसबाट नगर तथा गाउँपालिका बनाइएकाले यसअघिको हिसाबकिताब मिलाउन्जेल जिल्लामा बस्नुपरेको सम्बद्ध वडा सचिवको भनाइ छ । त्रिवेणी नलगाड नपाका सचिव नरेन्द्र सिंहले लेखा परीक्षणलगायतका कामकाज मिलाउन सदरमुकाम बसेको जानकारी दिए। हिसाब मिलाउन बाँकी रहेका कारण कर्मचारीले चार महिनादेखिको तलबसमेत बुझ्न पाएका छैनन् । नगरपालिका र गाउँपालिकाका लागि तोकिएका कार्यकारी अधिकृतहरु अहिलेसम्म गाउँमा पुगेका छैनन् ।

Jajarkot

विशेष