समाज

हुलाकको ‘पोष्टल इन्टर्नल ट्रयाकिङ सिस्टम’ सुरू, सामान कहाँ पुग्याे सहजै थाहा हुने

हुलाकको ‘पोष्टल इन्टर्नल ट्रयाकिङ सिस्टम’ सुरू, सामान कहाँ पुग्याे सहजै थाहा हुने
चैत्र - १५ । गोश्वारा हुलाक कार्यालयले ‘पोष्टल इन्टर्नल ट्रयाकिङ सिस्टम’ (पिआइटिएस) सञ्चालनमा ल्याएको छ । दुई महिनाको परीक्षणपछि मंगलबारदेखि औपचारिक रुपमा सञ्चालनमा ल्याइएको उक्त पद्धतिबाट ग्राहकले काउन्टरमा दर्ता गर्न ल्याएदेखि आफ्नो सामान कहाँसम्म पुग्यो भनी सहज जानकारी प्राप्त सक्नेछन् । पहिलो चरणमा उपत्यकाका तीन जिल्लासहित झापा, मोरङ, चितवन, गुल्मी, पाल्पा, कास्की, सल्यान र बाँके जिल्लामा यो पद्धति सुरु गरिएको छ । सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले हुलाक सेवाको विगतको पहिचानलाई जगेर्ना गर्दै अहिले गरिरहेको भन्दा अन्य काम पनि गर्नुपर्ने सुझाव दिए। उनले भने, “अहिले हुलाकमा कर्मचारीको काम हुँदैन। दिनभर घाम तापेर बस्ने र घर जाने काम भएको भन्ने भनाइ सुनिन्छ। त्यसकारण यसलाई काम दिएर सक्रिय बनाउन जिल्लाका एफएमका लाइसेन्स नवीकरण गर्ने र नयाँ दर्ता गर्ने काम जिल्ला हुलाकबाटै गर्ने व्यवस्था मिलाइएको छ। यस्तै अन्य काम पनि थप गर्दै लाने विषयमा छलफल भइरहेको छ।” सञ्चार सचिव महेन्द्रमान गुरुङले हुलाक विभागले सुरु गरेको यो पद्धतिले अन्तर्राष्ट्रियस्तरको सेवा दिनसक्ने विश्वास व्यक्त गरे। उनले हुलाक सेवालाई विस्तार गरी नयाँ ढङ्गबाट अगाडि बढ्न कम्पनी वा प्राधिकरण कस्तो स्वरुपमा लैजाने भन्ने विषयमा निर्णय लिनुपर्ने समय आइसकेको बताए। गोश्वारा हुलाक कार्यालयका प्रमुख हरि ज्ञवालीले यो पद्धतिले जनताले आफ्नो सामग्रीको घरमा बसेर जानकारी लिन मोबाइल र ल्यापटपबाट हेर्नसक्ने र सरकारले अहिले टिकट र बारकोटमा गरिरहेको खर्च कटौती हुने बताए। तर सबै जिल्लामा यो पद्धति नभएकाले सबै स्थानमा यस्तो नतिजाको अपेक्षा गर्न नसकिने भएकाले भएकाले सबै जिल्लामा यो पद्धति लागू हुनुपर्ने उनको भनाइ थियो ।

Post Office हुलाक

विशेष