समाज

पुनर्वासका घाइते भन्छन्, सीमा मिचिएको सहनै गाह्रो

पुनर्वासका घाइते भन्छन्, सीमा मिचिएको सहनै गाह्रो

चैत्र १६ । शरीरभरि चोट छन, दाहिने कुम छुट्टिएको छ, ढाडको तीन नम्बर हड्डी चर्किएर हिँड्न नसक्ने अवस्थामा छन् टीकाराम चौलागाईं। तैपनि उनको मनमा चिन्ता छ, भारतीय अतिक्रमणबाट कसरी सीमा जोगाउने ?

कञ्चनपुर पुनर्वास सीमा अतिक्रमण विवादमा घाइते भएका पुनर्वास– ४ का ३३ वर्षीय चौलागाईं अहिले त्रिवि शिक्षण अस्पताल महाराजगन्जको शड्ढयामा छन् । उनलाई गृहमन्त्री विमलेन्द्र निधिले गत साता उपचारका लागि काठमाडौं ल्याएका हुन् । चौलागाईंले मंगलबार आफ्नो स्वास्थ्यभन्दा सीमाको चिन्ता गरे। उनले भने, ‘सीमा अतिक्रमण भयो भने फेरि जान्छु ।’

फागुन २६ आनन्दबजार (गोविन्दबजार) र भारतको बसाइ बजार सीमा पक्षबीच झडप हुँदा चौलागाईंसहित ६० जना घाइते भएका थिए । भारतीय सीमादेखि पाँच सय मिटरभित्र पुनर्वासवासीले कल्भर्ट निर्माण गरेका थिए । कल्भर्ट निर्माण सकिएको दिन भारतीय पक्ष सीमावारि पसेर राति ९ बजे वितन्डा मच्चाएका थिए । त्यसको भोलिपल्ट दुई पक्षबीच झडप भएको थियो ।

भारतले सीमाका नेपालीलाई हेप्दै आएको पीडा सहन नसकेरै अतिक्रमणविरुद्ध उठेको चौलागाईंले बताए । उनका अनुसार भारतले सीमाको दुई सय नम्बरको पिलर गायब पारेको छ । भारतमा श्रम गरी फर्केका नेपालीको गोजीमा हात हाली पैसा असुल्ने गरेको, सीमावारिका नेपाली पारि जाँदा अनुमति लिएरमात्र जानुपर्ने र उताबाट भारतीय आउँदा नसोधी आउने प्रवृत्ति थियो । भारतको यस्तो प्रवृत्तिले सीमावारिका नेपालीले हेपिएको महसुस गरेका छन् ।

कल्भर्ट निर्माण समितिका सदस्य दिनेश शर्माका अनुसार फागुनमा पुनर्वासवासीले जग्गा लालपुर्जा आधारमा कल्भर्ट निर्माण गरेका थिए । भारतीय पक्षले कल्भर्ट निर्माण स्थल भारतीय भूमि भन्दै विवाद गरेको थियो । विवादपछि कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मनोहर खनाल र भारतीय एडिएमबीच कल्भर्ट नभत्काउने सहमति भएको थियो । तर कल्भर्ट निर्माण पूरा भएको राति भारतीय गुन्डा, प्रहरी र बजारवासी नेपालभित्र पसी खसी चोर्ने, बिजुलीको तार चुँडाल्ने जस्ता गतिविधि गरेको चौलागाईंंले बताए ।

भोलिपल्ट थप तीन सय मिटर नेपालभित्र आएर भारतीयले ‘भारत जिन्दाबाद’ को नारा लगाए । उनीहरूलाई भारतीय प्रहरीले सुरक्षा दिइरहेको थियो । त्यसपछि १० औं हजारको संख्यामा नेपाली भेला भई भारतीयलाई लखेटे । फेरि दसगजामा बसेर आन्दोलन गरे । भारतीय प्रहरी आएर १२ राउन्ड गोली चलायो । गोली लागेर गोविन्द गौतमको घटनास्थलमै मृत्यु भयो । नेपाली पक्ष आफ्नो भूभाग छोडेर वर आयो । फेरि सबै नेपाली जम्मा भएर एक घन्टापछि प्रदर्शन गरे । चौलागाईं अग्रपंक्तिमा थिए । ‘गोविन्द गौतमलाई गोली लागेपछि देश बचाउनुपर्छ भन्ने मात्र सोच आयो, मृत्युका बारेमा केही सोचिनँ’, उनले भने ।

त्यही बेला भारतीय प्रहरीले हवाई फायर ग¥यो । कतिपयलाई भारतीय प्रहरीले समातेर कुटे । चौलागाईं पनि कुटिएका थिए । ‘बन्दुकको कुन्जा, बेल्चा, बाँसको लाठीले कुटेर म¥यो भन्ने लागेपछि छाडेका रहेछन्’, चौलागाईंले भने । त्यस दिन नेपाली पक्ष पछि हटेको भए भारतले सीमा मिच्ने थियो भन्ने चौलागाईंलाई लागेको छ । ‘त्यस्तै गरी सीमा मिचेका छन्, हामीलाई सानो देश भनेर हेपेका छन्, देशको माया लाग्दो रहेछ’, उनले भने ।

सीमामा हुने हेपाहा व्यवहारले असाध्यै पीडा हुने चौलागाईं बताउँछन् । ‘भारतको हेपाहा व्यवहार सानैदेखि थाहा पाएँ, देश हेपिएको मलाई सहनै गाह्रो हुन्छ’, उनले भने । भारतमा जागिर खान जाँदा हेपिएको पीडाले जागिर छाडेर नेपालमै सानो व्यापार सुरु गरेको उनले बताए । ‘सीमामा भारतीय प्रहरीले खल्तीमै हात हालेर तीनपटक पैसा लगेको छ’, उनले भने । ६ कक्षा पढेका चौलागाईंले मोबाइल मर्मत पसल खोलेका छन् ।

उनको मनमा देशको सीमा मिचिएला भन्ने चिन्ता छ । भारतले सानो देशको अस्तित्वमाथि गरिरहेको हेपाहा व्यवहार अन्तर्रा्ष्ट्रिय जगत्लाई भनिदिन उनको आग्रह छ । ‘ठूलो देशले सानो देशमाथि हेपेको यो खबर अन्तर्रा्ष्ट्रिय तहमै पु¥याउनुहोला’, उनले भने । सीमाक्षेत्रमा नेपालले उचित नाका गठन गरी सुरक्षाको व्यवस्था नगर्नाले समस्या बढ्दै गएको उनको ठम्याइ छ । ‘जनता देश बचाउन लागेका छन्, अब सरकारले ध्यान देओस्’, उनले भने ।

सीमा विवादका कारण गोविन्द गौतम सहिद भएपछि स्थानीयले आनन्द बजारलाई गोविन्द बजार नाम राखेका छन् । फेरि हुन सक्ने भारतीय अतिक्रमणलाई ध्यानमा राखी ५१ सदस्यीय सीमा बचाउ संघर्ष समिति गठन गरिएको छ ।

उनलाई पत्नी र दुई छोरीको चिन्ताले पनि सताएको छ । चिकित्सकले पूर्ण निको हुन थप पाँच महिना लाग्ने बताएका छन् । घाइते भएपछि तीन लाख रुपैयाँ खर्च भइसकेको छ । दैनिक खर्च धान्न मुस्किल परेको उनले बताए । ‘एक सांसदले उपचारको बिल राख्न भनेका छन्, अहिलेसम्म नगद हात परेको छैन’, चौलागाईंकी पत्नी सबिनाले भनिन् । घाइते चौलागाईंलाई सरकारले विशेष सहयोग गर्नुपर्ने कल्भर्ट निर्माण समिति सदस्य दिनेश शर्माले बताए ।

नागरिक

Tikaram Chaulagain

विशेष