समाज

७७ हजारले प्रयोग गरे भरतपुर–काठमाडौँ हवाईमार्ग

७७ हजारले प्रयोग गरे भरतपुर–काठमाडौँ हवाईमार्ग
चैत्र - १६ । पछिल्लो समय भरतपुरबाट काठमाडौँ हवाईमार्ग प्रयोग गरी आवतजावत गर्नेको सङ्ख्यामा वृद्धि भएको छ । सन् २०१६ मा ७७ हजार आठ सय पाँच जनाले भरतपुर–काठमाडौँ हवाईमार्ग प्रयोग गरेका छन् । भरतपुर विमानस्थलका अनुसार सन् २०१४ यता हवाईमार्ग प्रयोग गर्नेको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । सन् २०१४ मा चितवनबाट काठमाडौँ हवाईमार्ग प्रयोग गर्नेको सङ्ख्या २७ हजार नौ सय ४० जना तथा सन् २०१५ मा २८ हजार पाँच सय ९१ जनाले हवाईमार्गको प्रयोग गरेका थिए । सन् २०१७ को जनवरी र फेब्रुअरीमा मात्रै १५ हजार नौ सय ३४ जनाले सो हवाईमार्गको प्रयोग गरेका छन् । सन् २०१४ मा भरतपुरदेखि काठमाडौँको हवाईमार्ग प्रयोग गर्ने विदेशी नागरिकको सङ्ख्या सात हजार एक सय ४४ तथा काठमाडौँदेखि भरतपुरसम्म पाँच हजार एक सय ८७ विदेशी नागरिकले हवाईमार्ग प्रयोग गरेका भरतपुर विमानस्थलले जनाएको छ । सन् २०१५ मा भरतपुरदेखि काठमाडौँसम्म हवाईमार्ग प्रयोग गर्ने विदेशी नागरिकको सङ्ख्या चार हजार १७९ र काठमाडौँ–भरतपुर हवाईमार्ग प्रयोग गर्ने विदेशी नागरिक दुई हजार आठ सय ८९ रहेका थिए । पछिल्लो समय चितवनमा जग्गाको कारोबारमा वृद्धि, नारायणगढ–मुग्लिन सडकखण्ड मर्मतमा भएको ढिलाइलगायत कारणले हवाईमार्ग प्रयोग गर्नेको सङ्ख्यामा वृद्धि भएको भरतपुर विमानस्थलका प्रमुख शिव शर्मा उपाध्यायको भनाइ छ । अहिले भरतपुर–काठमाडौँ–भरतपुरका लागि वुद्ध एयरको छवटा, यति एयरको तीनवटा र सिम्रिक एयरले एउटा उडान भर्दै आएको छ । तर पनि यात्रुले समयमा टिकट नपाउने समस्या भने अझै उस्तै छ । चितवन घुम्नका लागि आउने विदेशी पर्यटक बढी मात्रामा हवाईमार्गको प्रयोग गर्ने गर्दछन् ।

हवाईमार्ग

विशेष