देश

चितवन राष्ट्रिय निकुञ्जको गैंडा शुक्लाफाँटा पठाउने

चितवन राष्ट्रिय निकुञ्जको गैंडा शुक्लाफाँटा पठाउने
चैत - १६ चितवन राष्ट्रिय निकुन्जको पश्चिम क्षेत्र सुखिभारबाट दुर्लभ मानिएको एकसिंगे गैंडा कञ्चनपुरको शुक्लाफाँटा वन्यजन्तु आरक्षमा पठाइने भएको छ। गैंडा स्थानान्तरणका लागि बनेको कार्यदल र सरोकारवाला प्रतिनिधिबीच गैंडाको बासस्थान क्षेत्रको स्थलगत अध्ययन तथा निरीक्षणपछि सुकिभार क्षेत्रबाट गैंडा पठाउने निर्णय भएको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए। मङ्गलबारको स्थलगत अध्ययनमा सो क्षेत्रमा मात्रै १४ वटा गैंडा भेटिएको थियो। प्रसस्त घाँसे मैदान र पानी भएकाले सुखिभार क्षेत्र गैंडाका लागि सबैभन्दा उपयुक्त बासस्थान हो। सो निर्णयसँग आजदेखि नै सुखिभार क्षेत्रमा गैंडाको डाटका लागि फिल्डमा तयारीको काम थालिएको छ। ‘स्थानान्तरणका लागि उपयुक्त क्षेत्र र समथल भूभाग भएकाले डाट गर्ने क्रममा गैंडा भाग्यो भनेपनि सुखिभारमा कुनै जोखिम छैन,' निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले भने, 'सो क्षेत्रमा हात्ती लगेर खाल्डाखुल्डी हेर्न समेत निर्देशन भएको छ।' उनका अनुसार गैंडा स्थानान्तरणमा प्रयोग हुने ३० हात्तीका लागि चाहिने सामग्रीहरु चैत १८ भित्र लगिसक्ने, वन्यजन्तु प्राविधिक र चिकित्सक सहितको टोली चैत १९ गते नै सुखिभार पोष्टमा जाने, सो क्षेत्रमा जाने बाटोहरु तत्कालै मर्मत गर्ने निर्णय भएको छ। शुक्लाफाँटामा पाँचवटा गैंडा लैजानका लागि चितवन निकुञ्जमा यही चैत २१ गतेबाट गैंडा नियन्त्रणको डाट गर्ने प्राविधिक सहितको टोली परिचालन हुँदैछन्। अघिल्लो बर्ष बर्दियामा पाँच गैंडा स्थानान्तरण भएको थियो। स्थानान्तरण भएको गैंडाको सुरक्षामा ध्यान नदिएको भन्दै सौराहाका संरक्षणकर्मीहरुले भने चिन्ता व्यक्त गरेका छन्। गैंडा संरक्षण अभियानका संयोजक जितु तामाङले गैंडा संरक्षणभन्दा स्थानान्तरणमा बढी ध्यान गएको भन्दै संरक्षणमा ध्यान केन्द्रित गर्न अपिल गरेका छन्। चितवन निकुञ्जमा हाल ६०० भन्दा बढी गैंडा छन्। शुक्लाफाँटामा नौवटा गैंडा गणना गरिएको छ। सन् २००० मा शुक्लाफाँटामा चार गैंडा पठाइएको थियो। नेपालमा पछिल्लो गणनामा गैंडाको सङ्ख्या ६४५ छ।

गैंडा चितवन राष्ट्रिय निकुन्ज

विशेष