१२ केजी तौल र साढे २ फिटका पूर्वशिक्षक कृष्णप्रसादले कसरी गरे ४२ वर्ष अध्यापन ? (भिडियोसहित)
बागबजारको तरकारी बजार नजिकै रहेको एक गेस्ट हाउस । कौसीमा बसिरहेका उनी । छेउमै राखिएको पत्रिका । उनकै बारेमा लेखिएको लेख । खुसीले प्रफुल्ति उनको मुहार । उनी थिए अर्घाखाँचीको ठूलोपोखरास्थित रोहोटेपानी — २ का शिक्षक कृष्णप्रसाद पौडेल । जीवन एउटा क्यानभास हो । जीवनलाई रंग्याउने कला र रंग चाहिन्छ । रंग्याउने कला जो कोहीसँग कमै हुन्छ । त्यसमाथि पनि जिन्दगीको गति बीचमै रोकिएपछि त्यसमा रंग थप्नजस्तो कठिन काम अरु के नै होला ? यस्तै छ उनको कथा । उनी पहिला क्यानभास जस्तै थिए । तर, उनले आफ्नो जीवनलाई रंगले भर्दै लगे र अहिले उनी पूर्ण चित्रको आकार दिन सफल भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालसँग दर्शनभेटपछि उनी एकाएक चर्चामा आए । अहिले सञ्चार माध्यमलाई अन्तर्वार्ता दिन भ्याइनभ्याइ छ । हामी जाने वित्तिकै जीउ चलमलाए । बसिरहेको ठाउँबाट अलि सिधा भएर प्रश्नको उत्तर दिन तम्तयार भए ।
१२ केजीको तौल र साढे दुई फिट रहेका उनका दुबै खुट्टा चल्दैनन् । विश्वकै कम तौल र उचाई भएका शिक्षकको नाममा उनी गिनिज बुकमा नाम लेखाउने प्रयत्नमा छन् । तर यसका लागि आवश्यक पहलबारे उनी अनविज्ञ नै छन् । अर्घाखाँचीको ठूलोपोखरीमा जन्मिएका पूर्वशिक्षक पौडेल अहिले उमेरले ६३ वर्ष लागिसकेका छन् । उनी जन्मिदा नेपालमा राणा शासनको अन्त्य भएर प्रजातन्त्र आएका जम्माजम्मी ३ वर्ष भएको थियो । त्यो समयमा विद्यालय जान र शिक्षा पाउन कठीन नै थियो । बाबुले उनलाई पढ्नमा हौसला दिन्थे । पढ्न जानुपर्छ भनेर सम्झाउँथे । बाबुको सल्लाहले ढाडस पाएका उनी धुलौटोमा ‘कखरा’ सिक्दै कक्षा पाँचसम्मको अध्ययन पूरा गरे । पाँचको अध्ययन पूरा गरेसँगै उनी अज्ञात रोगले थला परे । उनी त्यतिबेला ११ वर्षका मात्र थिए । स्वस्थ्य परीक्षणका लागि अस्पतालमा लगियो । उनको शरीरमा रगतको कमी देखियो । डाक्टरले उनको परिवारलाई रगत जुटाउनका सुझाव दिए ।
त्यो समयमा रगत जुटाउन प्रयाः असम्भव जस्तै थियो । परिवारले रगत जुटाउन सकेन । उनको उपचार हुन पाएन । त्यसपछि उनको खुट्टा चल्न छोड्यो । उनी शारीरिक रुपमा अशक्त हुँदै गए । उनको शरीरको तौल र उचाइ यथावतै रह्यो । शारीरिक विकास नभएपछि उनी साढे २ फिट उचाई र १२ किलो तौलमै सिमित रहे । १२ वर्षको कलिलो उमेरमा नै अशक्त भएर ओछ्यानमै सिमित भएपछि उनले बल्ल जीवनको महत्व बुझे । तर, घर परिवार र विशेषगरि आमाले उनलाई कहिल्यै अपांगताको महशुश हुन दिइनन् । केही गर्न सकिन्छ भन्ने अठोटका साथ उनी घर नजिकको एक विद्यालयमा ‘कखरा’ पढाउन थाले । त्यसै त ! शारीरिक रुपमा अशक्त उनको लागि पढाउन जान सम्भव थिएन । विद्यालय जाँदा उनलाई विद्यार्थीले नै बोकेर लैजाने र ल्याउने गर्थे । त्यसैले उनी विद्यार्थीहरुप्रति धेरै आभारी रहेको बताउँछन् । बालबालिकालाई ‘कखरा’बाट पढाउन सुरु गरेका उनले पछि नौ कक्षासम्मका विद्यार्थीलाई नेपाली विषय पढाउन थाले ।
विद्यार्थीहरुले पनि कहिल्यै उनलाई नराम्रो रुपमा हेरेनन् । उनले यसरी नै ४२ वर्षमा शिक्षक पेसामा आवद्ध भएर शिक्षा दिए । उखानै छ ‘एक कान दुई कान मैदान ।’ फलानो गाउँमा त १२ केजी तौल भएका शिक्षक छन् रे । गाउँघरमा गाईंगुईं चर्चा चल्न थाल्यो । ओल्लो गाउँ पल्लो गाउँ हुँदै उनको देशव्यापी चर्चा हुन थाल्यो । उनको चर्चा सुनेर सामान्य व्यक्ति चकित पर्न थाले । वृत्तचित्रकार घनश्याम खतिवडाले उनको बारेमा वृत्तचित्रसमेत बनाए । खतिवडाले वृत्तचित्र बनाएर पैसा पनि कमाए तर सहयोग भने गरेनन् । वृत्तचित्रको भिडियो माग्दा उल्टै पैसा मागेको उनले गुनासो पोखे । केही सहयोग नपाएपनि उनलाई चिनाउने काम चाही पक्कै गर्यो खतिवडाको वृत्तचित्रले । त्यसपछि उनलाई गिनिज बुक अफ द वल्ड रेकर्डमा नाम लेखाउने जोसचल्यो । त्यसपछि उनी प्रधानमन्त्री दाहाललाई भेटेर सहयोग गर्न आग्रह गरे ।
प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेपछि फोटो खिचाउँदै कृष्णप्रसाद पौडेल र अन्य प्रधानमन्त्रीलाई भेटेपछि उनलाई सञ्चारमाध्यमले पछ्याउन थाल्यो । अन्तर्वार्ता दिन भ्याइनभ्याइ भयो । उनले एकदिन आफू पनि यसरी सञ्चारमाध्यममा एकाएक छाउँछु भन्ने सोचेका पनि थिएनन् । उनले आफ्नो जीवनको संघर्षबाट जिन्दगीको गति कुन मोडमा आएर बन्द हुन्छ कसैलाई पत्तै नहुने पाठ सिके । संघर्ष गर्न सिक्नु पर्ने उनी बताउँछन् । त्यस्तै शारीरिक रुपमा अशक्त भएका मानिसहरुलाई पनि केही गर्ने अवसर दिनुपर्ने उनको भनाइ छ । उनी हिँड्डुल गर्न सक्दैनन् । सधैँ उनलाई सहयोगीको आवश्यकता पर्दछ । सहयोगीको काम उनका भतिज दीलिप पौडेलले गरिरहेका छन् ।
उनको स्वस्थ्य अवस्थाप्रति स्वास्थ्यमन्त्री गगनकुमार थापाले सहयोग गर्ने आश्वासन दिएका छन् । स्वास्थ्यमन्त्री थापाले उनलाई निवेदन तयार पारेर ल्याउन भने तर, सहयोग आउने नआउनेमा उनी अनविज्ञ छन् । निवेदन दिए पनि कुनै प्रतिक्रिया नआएको उनका सहयोगी भतिज पौडेल बताउँछन् । उनको खाना जाने नलीमा समस्या रहेको छ । उपचारको लागि करिब ८० हजार रुपैयाँको खाँचो छ । उपचारको लागि पैसा जुटाउन असमर्थ भएका उनको लागि अहिले विभिन्न ठाउँबाट सहयोग जुटिरहेका छन् ।
–कञ्चन न्याैपाने
krishna prasad paudel puspakamal dahal prachanda