समाज

१७ घण्टा काम लगाउने उद्योगी पक्राउ, ४ बालश्रमिकको उद्धार

१७ घण्टा काम लगाउने उद्योगी पक्राउ, ४ बालश्रमिकको उद्धार
चैत्र - १७ । बालश्रमको प्रयोग गरी यातना दिएर १७ घण्टा काममा लगाउने दुई उद्योग सञ्चालकलाई बिहीबार प्रहरीले पक्राउ गरी त्यहाँबाट ४ बालकको उद्धार गरेको छ । जिल्ला बाल कल्याण समिति भक्तपुर, महानगरीय प्रहरी बृत्त थिमि, सिविन र श्रम कार्यालय टेकुको संयुक्त टोलीले बालश्रमिकको उद्धार गर्दै काममा लगाउने सञ्चालकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सूर्यविनायक नगरपालिका–२ बालकोटमा सञ्चालित आरके कापी उद्योगका सञ्चालक पर्सा मधुवन मथैलका राजीव चौधरी र मध्यपुरथिमि नगरपालिका शङ्खधर चोकस्थित विशाल माछा पसल सञ्चालक भारत मोतिहारीका सन्तोष गुप्ता रहेका छन् । चौधरीले एउटा सटरभित्र तीन बालकलाई थुनेर दैनिक १७ घन्टा काममा लगाउने आरोपमा चौधरीलाई र माछा पसलमा एक बालकलाई दैनिक १७ घण्टा काममा लगाउने आरोपमा गुप्तालाई सो टोलीले पक्राऊ गरेको हो । उद्धार गरिएका बालकमा कापी उद्योगमा काम गर्ने बालश्रमिक भारत मुज्फरपुर घरभएका १० वर्षिय शाहिल मोहम्मद र १२ वर्षिय इसाद मोहम्मद तथा लड्डन मोहम्मद रहेका छन् भने माछा पसलबाट भारत मोतिहारीका १२ वर्षिय मुन्नाज अन्सारी रहेको सिविनद्वारा सञ्चालित बाल हेल्पलाइन नेपालका संयोजक सागर भण्डारीले जानकारी दिए। बाल अधिकारको चरम रुपमा हनन् भएको अवस्थामा बालकहरुको उद्धार गरिएको उनले जानकारी दिए। जिल्ला बाल कल्याण समितिका सदस्यसचिव एवम् महिला तथा बालबालिका कार्यालय भक्तपुरकी प्रमुख नीला घिमिरेले पक्राउ परेकालाई श्रम ऐनअन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाइने र उद्धार गरिएका बालश्रमिकलाई उनीहरुका परिवारसँग पुर्नमिलन गराउन पहल गरिने बताए।

Child Labor बालश्रमिक

विशेष