मुख्य समाचार सफलताको कथा

युवा उमेरमै जेल परेका विवेक, जो पटक–पटक आत्महत्याबाट बचेर समाजसेवामा लागे

युवा उमेरमै जेल परेका विवेक, जो पटक–पटक आत्महत्याबाट बचेर समाजसेवामा लागे

‘जिन्दगी आकस्मिक घटनाहरूको संगालो हो ।’ हामी रंगिन योजना बुन्छौँ । पूरा हुने सपना देख्छौँ र त्यसैमा हराउँछौँ । तर, आफ्नै गतीमा दौडिरहेको हाम्रो जीवनमा अकस्मात ‘स्पिड–ब्रेकर’ लाग्छ ।

त्यसपछि जिन्दगीको गति रोक्न आइपुग्छन ती घटनाहरु । हामीलाई पूर्वतयारीको मौकासम्म नदिई आउने यस्ता घटनाले नै हाम्रो जिन्दगीलाई कहिले नाजुक बनाउँछ त कहिले सुन्दर पनि । ३ वर्ष अघि यस्तै भयो विवेक उपाध्यायलाई । युवा अवस्थामा करोडपति भइसकेका उनी सानो गल्तीले जेल परे । युवा उमेरमै उनको रंगिन जीवन जेलको अध्यारो कोठामा धकेलियो । ४६ दिन जेल बसे । जेलबाट निस्केको १ वर्षसम्म उनी समाजको तिरस्कार सहेर बस्न बाध्य भए । समाजको तिरस्कार असह्य भएपछि उनको मनमा आत्महत्या गर्ने सोच पलायो । तर, सफल भएनन् । ‘दुईपटक गरेको आत्महत्या असफल भएपछि तेस्रो पटक प्रयास गरिनँ,’ ती दिनहरु सम्झिदै भन्छन् – ‘मर्नुभन्दा बौलाउनु जाती भनेर त्यतिकै बसेँ ।’ युवा अवस्थामा नै करौडौँ कमाएर विवेक पोखरामा चर्चित बनेका थिए । व्यापारिक पृष्ठभूमि भएकाले उनलाई पैसाको दुःख थिएन् । उनले एकपछि अर्को व्यावसाय गर्दै गए । र,२३ वर्षकै कलिलै उमेरमा करोडपति बन्न सफल भए । क्याफेबाट व्यावसाय सुरु गरेका उनले रेडिमेड कपडा पसल, सहकारी, विद्यालयलगायका व्यवसायमा लगानी गरे ।

यसरी परे जेल

उनका व्यावसाय धेरै थिए । सबै ठाउँमा आफू पुग्न सम्भव थिएन । कर्मचारीको भरमा छोडिएकाले उनको व्यावसाय डुब्यो । पैसा आउथ्यो जान्थ्यो, ठूलो कुरो थिएन । तर, उनलाई फसाइयो । उनी जेल परे । परिवारको सदस्य चौकीसमेत गएका थिएनन् । त्यस्तो अवस्थामा उनी जेलपर्दा परिवारलाई नै बज्रपात परेको थियो । व्यापार व्यासाय राम्रो चलेको थियो । अनावश्यक खर्च थिएन । तैपनि, व्यावसाय घाटामा गइरहेको थियो । पैसा माग्न धेरै आउथेँ । धेरै ठाउँमा तिर्न बाँकी थियो । कारोबार गर्ने क्रममा उनले एकजनालाई साढे सात लाखको चेक दिए । त्योे चेक बाउन्स भयो । पछि मात्र थाहा पाए, सहकारीमा काम गर्ने उनको कर्मचारीहरुले ‘फेक डिपोजिट’ गर्दै पैसा निकाल्ने गर्दा रहेछन् । विश्वास गरेको कर्मचारीले उनलाई घात गरे ।

कारोबार मिलाउन नसक्दा उनी जेल परे । प्रतिष्ठित व्यापारीको कान्छा छोरा जेल पर्दा विभिन्न पत्रपत्रिकामा नकारात्मक समाचार आयो । उनीसँग कारोबार गर्ने व्यक्तिले काठमाडौं, पोखरालगायत ठाउँमा रहेका व्यवसायमा ताला लगाइदिए । पैसा डुब्नुका साथै उनको स–परिवारले समाजबाट बदनाम कमाए । जेलमा उनले बाहिर हुदाँ सुनेजस्तो यातना पाएनन् । जेलमा समय काट्न गाह्रो हुन्थ्यो । उनी त्यहाँ डायरी लेख्थे । पुस्तकहरु पढ्थे । जेलमा भएका विविध समस्याहरु त नियमित भोग्नु नै पथ्र्यो । चेक बाउन्स हुँदा जेल परेका उनी ४६ दिनपछि साढे सात लाख धरौटी तिरेर छुटे । सहकारीमा सबै सामान्य कर्मचारीहरु राखेकाले धोका पाएको उनी बताउँछन् । समाजले मानशिक रोगी बनायो कास्की जेलबाट छुटेपछि उनी सिधै काठमाडौं आए । जेलभित्र भन्दा बाहिर आएपछि तनाव हुन थाल्यो । आफन्तहरुले नै राम्रो मान्दैनन् थिए । आफू त डुबिस् परिवारलाई पनि डुबाइस् भन्ने धेरै थिए । पसलमा जाँदा होस् अथवा बाहिर कतै हिँड्दा उनलाई नकरात्मक दृष्टिकोणले हेर्ने र तुक्ष्छ वचन बोल्नेहरुको कमी थिएन । जेलबाट निस्किएपछि उनी मानसिक रुपमा विक्षिप्त भए । के गर्ने कसो गर्ने केहीपनि सोच्न सकेनन् । पीर चिन्ता भुलाउन रक्सी सेवन गर्न थाले । जेलबाट छुटेपछिको १ वर्ष भौतारिदैमा बित्यो । आत्महत्या सफल भएन । विदेश जान मनले मानेन । व्यापार गर्न मन थिएन । करोडभन्दा बढी ऋण थियो । तिर्न सकिरहेका थिएनन् । के गर्ने त ? के गर्दा ठीक होला ? उनीसँग बिकल्प केही थिएन । कसैको साथ र सल्लाह चाहिएको बेला साथ र सहयोग गर्ने पनि कोही थिएन । त्यसरी नै उनको दिनचर्या बितिरहेको थियो ।

जेलबाट छुटेपछि

एकदिन जेलमा रहदाँ लेखेको डायरी पल्टाए । जेलमा छदाँ लेखेका थिए– ‘जेलबाट छुटेपछि जेलमा रहेका कैदीहरुलाई छुटाउने काम गर्छु । जो सामान्य केशमा परेर सामान्य धरौटी तिर्न नसकेर वर्षौँदेखि जेलमा छन् ।’ किनकि, दुई–चार हजार धरौटी तिर्न नसक्दा मानिसहरू वर्षौं जेलमा सडिरहेका देखेका थिए । केही अपराध नगरिकन अरुले फसाएर जेल सजाए भोग्नेहरु पनि धेरै थिए । आफ्नै परिवारको सदस्यहरुले मानशिक सन्तुलन गुमेको सदस्यलाई बलात्कारको आरोपमा जेलमा थुनेका थिए । कतिपय युवक राजीखुसीले यौन सम्पर्क गर्दासमेत जेलमा परेका थिए । युवतीले आफ्नो इज्जत जोगाउन ‘उसले मलाई जबरजस्ती गरेको हो’ भनेकै कारण कतिपय युवाहरु जेलमा थिए । जेल पर्नेहरुलाई आफ्नै मान्छे भेट्न आउदैनन् थिए । उनीहरुलाई माया र सहनुभूति दिने मान्छेहरु थिएनन् । जेल सुधार केन्द्रभन्दा पनि तनाव केन्द्रजस्तो थियो ।

अज्ञानतावश गरेको सामान्य अपराधको कारण धेरै मानिसहरु वर्षौँदेखि जेलमा थिए । उनीहरु धरौटी तिर्न सक्ने स्थितिमा थिएनन् । जेलमा धेरै किसिमका कैदीहरुलाई प्रत्यक्ष देख्ने, भोग्ने र संगत गरेको कारण उनले ठम्याइसकेका थिए जेल परेका सबै अपराधी हुँदैनन् । जेलमा लेखेको डायरी पल्टाउदै जादाँ उनको आखाँ डायरीमा लेखेको शब्दहरुमा पर्न गयो । ‘मैले धरौटी तिर्न नसकेर जेलमा बसिरहेका ३ जना कैदीहरुलाई घरबाट पठाएको पकेट मनी तिरेर छुटाइदिए ।’ यो पढ्ने बित्तिकै उनी खुसी भए । ‘त्यो पल मैले टाउको हलुका भएको महशुश गरेँ। वर्षाैदेखि थलिएको बिरामी सञ्चो भएजस्तै भयो । शरीरका अंगप्रत्यंगहरुमा स्फुर्ती बढे जस्तो लाग्यो ।’ उनले भने– ‘मैले बाँच्ने उद्देश्य पत्ता लगाएँ । कुनै वैज्ञानिकको वर्षौदेखिको खोज सफल भएको जस्तो अनुभव गरेँ ।’ उनको जीवनले नयाँ बाटो पक्रेको थियो । के गर्ने कसो गर्ने भनेर भौतारिरहेको उनका पैतालाले नयाँ गन्तब्य पाएको थियो । उनले तत्कालै निर्णय गरे –‘अब म जेल परेका कैदीहरुलाई छुटाउँछु । जो सामान्य अपराधमा वर्षौँदेखि जेलमा छन् । धरौटी तिर्न नसकेर बाध्य भएर जेल बसिरहेका छन् । अनि, जेलभित्रका समस्याहरु समाधान गर्न पहल गर्छु ।’ उनको यो निर्णय आफ्नै परिवारका सदस्यहरुले मन पराएनन् । अलग अलग सल्लाह दिन थाले । उनको निर्णयप्रति शंका गर्न थाले । तर, उनी आफ्नो निर्णयमा अडिग रहे । सबैलाई उनको जवाफ थियो– ‘एकदिन सबैले मर्नुपर्छ, बाचुन्जेल समाजलाई हित हुने काम गर्छु । यो काम नगरी म बाँच्न सक्दिन सायद,मर्न पनि । ’ संस्था दर्ता गर्नको लागि सातवटा नागरिकता आवश्यक पथ्र्यो । तर, त्यो सातवटा नागरिकता आफ्नो आफन्तहरुबाट पाउन सकेनन् । नागरिकता लगेर फसाउँला भन्ने डरले उनलाई नागरिकता दिएनन् । तर, आफन्तबाट नागरिकता नपाए पनि टाढाको मानिसहरुले उनलाई विश्वास गरे । सातजनाको नागरिकता जम्मा गरेर ‘हिडेन लाईफ फाउन्डेसन’ नामक संस्था दर्ता गरे । संस्था दर्ता गरेको केही दिनमा पैसा जम्मा गरेर जेलका कैदीहरु निकाल्न थाले ।

 कैदीहरु निकाल्ने काम सजिलो थिएन

काम सुरु गर्न सजिलो थिएन । उनको प्रहरीसँग सम्र्पक थिएन । जेलरहरुसँग चिनजान थिएन । उनको योजनामा सहयोग गर्न कोही तयार थिएनन् । प्रहरीहरु उल्टै भन्थे– ‘हामी अपराधी जेलमा थुन्छौँ, तपाईं निकाल्नुहुन्छ । यो कस्तो काम हो ।’ उनको कामको उद्देश्य सुरुवातमा बुझ्ने कोही थिएनन् । काम गर्न गाह्रो भएपनि काम गर्न छोडेनन् । उनी झोला बोकेर एक ठाउँबाट अर्को ठाउँमा दिनहुँ पुग्थे । कार्यलयका कर्मचारीहरुले अनेक बहाना गरेर फर्काइदिन्थे । तर, उनी आफ्नो लक्ष्यमा डगमगाएनन् । संस्था दर्ता भएको केही समयपछि उनले प्रहरी अधिकृत विज्ञानराज शर्मालाई भेटे ।

त्यसपछि शर्माले उनलाई सहयोग गरे । दोर्जे छिरिङ् शेर्पा र उनको स्काई मेमोरियलबाट पनि सहयोग पाए । त्यसपछि उनको काम अघि बढ्दै गयो । कतिपय कैदीहरुलाई निकाल्न साथीभाइहरुसँग सहयोग मागे । दुई चार हजारको अभावमा जेल परेको सुन्दा उनका साथीहरुले अनौठो मानेर सहयोग गर्थे । काम गर्न थालेपछि सहयोग आउँदै गयो । कतिपय अवस्थामा उनले आफ्नो पकेटमनीबाट कैदीहरु छुटाए । ती कैदीहरुलाई ४ हजारदेखि बिस हजार रुपैयाँसम्म तिरेर निकाले । उनले निकालेका कैदीहरु जेलबाट फर्केपछि सामान्य जीवनयापन गरेर बसेका छन् । ती मध्ये ३ जना कैदीहरु पुनः पक्राउ परे । ३ जना पुनः पक्रापरेपछि उनलाई ‘अपराधी अपराधी नै हुन्छन्, कैलेपनि सुध्रिदैनन्,‘ भन्दै निरुत्साहित पार्नेहरु धेरै आए । त्यो घटनापछि उनी निराश बने । तर, प्रहरी अधिकृत विज्ञानराज शर्माले उनलाई सकारात्मक पाटो हेर्न आग्रह गरे । उनी सोच्थे ‘घोडा चड्ने मान्छे लड्छ । लड्यो भन्दैमा चढ्न छोड्नुहुन्न ।’ कसैको कुरा नसुनी उनी आफ्नो काम गर्न थाले ।

जेल पर्ने हरेक मानिसको कथा फरक–फरक छ

उनले जेल मुक्त गराएका ३४ जनाको आफ्नै छुट्टै कथा थियो । तीमध्ये उनले निकालेका २ जना कैदीहरुलाई उनी विर्सन सक्दैनन् । उनले जेलबाट एकजना सुत्केरी महिलालाई निकाले । ती महिलाले लागूऔषधी प्रयोकर्तासंगै प्रेम विवाह गरेकी थिइन् । लाहुरेकी छोरी उनी लागूऔषधी साथमा राखेकाले पक्राउ परिन् । उनी पक्राउ पर्दा श्रीमान् बैदेसिक रोजगारका लागि विदेश गएका थिए । श्रीमानले उनलाई जेलबाट निकाल्न आर्थिक सहयोग त गरेनन् गरेनन् उल्टै कसको पेट बोकेको भन्ने आरोप लगाए । अन्य आफन्तले उनलाई भेट्न इन्कार गरिदिए । उनी जेलपर्दा पेटमा बच्चा थियो । जेलबाट निकाल्दा बच्चा डेढ वर्षको भइसकेको थियो । त्यो बच्चाको मुस्कान हेर्दा उनलाई कैदीहरु सम्बन्धि काम गर्न धेरै प्रेरणा मिलेको बताउँछन् । त्यसैगरी एकजना युवा ६ महिनादेखि जेलमा थिए । आफ्नै दाइपर्ने आफन्तको सुन पसलमा काम गर्ने उनी सामान्य गल्तीमा जेल परेका थिए । श्रीमतीलाई सुत्केरी व्याथा लागेको थियो । डेलीभरीको लागि ट्याक्सीमा चढेर उनी थापाथली प्रसुती गृह पुगे । त्यही ट्याक्सी चढेर काम गरेको ठाउँमा पैसा लिन आए । तर, त्यस्तो अवस्थामा दाइले पैसा दिएनन् । श्रीमती अस्पतालमा थिइन् । ट्याक्सीलाई दिने भाडा थिएन । उनले दाइको मोबाइल ट्याक्सी ड्राइभरलाई दिएर पठाए । भाउजूले झैझगडा गर्यो र मोबाइल चोर्यो भनेर प्रहरीलाई उजुरी दिइन् । त्यही कारण उनी ६ महिनासम्म जेल परे । श्रीमती अस्पतालमा भर्ना गर्ने बित्तिकै ती युवा जेल परेका थिए । जेल परेको श्रीमतीलाई थाहा थिएन । श्रीमतीको हेरविचारका लागि उनी अस्पतालमा जान असमर्थ भए । उनको श्रीमतीले सुत्केरी अवस्थामा आफूलाई अस्पतालमा छोडेर बेपत्ता भएको ठानिन् । १४ दिनपछि ती युवाको श्रीमतीलाई अस्पतालका नर्सहरुले नै कोठमा ल्याएर छोडिदिए । अनि मात्र थाहा पाइन श्रीमान् जेल परेको । जेलबाट छुट्न ५० हजार धरौटी तिर्नुपथ्र्यो । ज्यालामजदुरी गरेर जीवन धान्ने उनीहरुसँग त्यति पैसा थिएन । कमाउने श्रीमानसमेत जेलपर्दा सुत्केरी भएको बेला उनले हेरविचार पाइनन् । सुत्केरी अवस्थामा उनी आफन्तकोमा बसिन् । विवेकको हिडेन लाइफ पाउण्डेसनले धरौटी तिरेर उनलाई जेल मुक्त गरिदए । श्रीमान्–श्रीमतीको मिलनको क्षणले विवेकलाई अझै अगाडि बढ्ने प्रेरणा थप्यो । उनी आनन्दका पलहरु हरेक कैदीहरु छुटाउदाँ देख्छन् । उनले छुटाएका कैदीका परिवारसँग पुनःमिलन मेल हुदाँ उनी खुसीले गदगद हुन्छन् । सामान्य गल्ती वा कतिपयलाई फसाएर जेल परेकाहरु छुट्दा उनलाई भगवान् जस्तै व्यवहार गर्छन् । त्यसैले उनलाई यो काम गर्न आनन्द आइरहेको बताउँछन् । किनकि, उनले जेल पर्नेहरुको बाध्यता र अवस्था बुझेका छन् । त्यसैले, जेल पर्ने सबैलाई अपराधी मान्न तयार छैनन् उनी । जेल पर्नेहरुलाई समाजले मानसिक सजाय दिन नमिल्ने उनको तर्क छ । गल्ती गर्नेहरुले सुध्रिनको लागि दोस्रो मौका पाउनुपर्छ भन्ने उनको मान्यता रहेको छ ।

जे हुन्छ राम्रैको लागि हुन्छ जेल परेपछि उनी आफ्नो विगतलाई झलझली सम्झिन्थे । आफ्नो हितैसी मित्रहरु पनि भेट्न नआउँदा उनलाई खल्लो लाग्थ्यो । आत्मियसम्बन्ध भएकाले समेत सम्बन्ध टुटाएर जाँदा उनलाई आफ्नो जीवन देखिनै घृणा लाग्थ्यो । त्यतिबेला पैसा ईज्जत र स्तर सबै थियो । साथीभाई आउने जाने गर्थे, सबैसंग राम्रो व्यवहार थियो । उनले पनि साथीभाईलाई आपतविपत पर्दा सहयोग गर्न कुनै कसुर बाँकी राखेका थिएनन् । जुनबेला उनलाई माया र सद्भावको आवश्यक थियो, त्यो बेला कोही भएनन् । ‘म एक्लै मेरो सारा समस्याहरुसँग लडेँ, उठ्न चाहन्थे, पछाँरिए । उठाउनको लागि हात दिने कोही भएनन् ।’ भावुक हुदैँ उनी भन्छन्– ‘तर, म एक्लै उठ्न सकेँ ।

एक्लैले सारा समस्याहरुलाई जितेँ । पैसा भए मात्र साथीहरु हुदाँ रैछन् भन्ने तितो सत्यको अनुभव गरे ।’ उनलाई अहिले अतितप्रति कुनै गुनासो छैन् । उनी जीवनदेखि खुसी छन् । जेल परेकै कारणले जेल परेको कैदीहरुको समस्या बुझ्न सकेका छन् । कैदीहरुको हकहितको लागि काम गर्ने मौका पाएका छन् । ‘जे भयो राम्रैको लागि भयो । समय र परिस्थतीले मानिसलाई कहाँबाट कहाँ पुर्याउँछ । मलाई पनि समयले त्यस्तै गर्यो ।’ उनले भने– ‘कुनै समय करौडौँ कमाएर नामी बनेको थिए । केही समयपछि करौडौँ डुबाएर जेल परे । सबैले तिरस्कार गर्थे । अहिले जेलबाट निस्केपछि समाजसेवा गरेको छु । समाजमा नाम र ईज्जत पाएको छु । सुखमा नमात्तिनु र दुःखमा नआत्तिनु भन्ने सन्देश आफ्नै जीवनबाट पाएको छु ।’ अहिले उनी समाजसेवा संँगसँगै परिवारको व्यापारमा पनि सहयोग गर्छन् । काठमाडौंको विभिन्न ठाँउहरुमा उनको परिवारको व्यावसाय छ । समाजसेवा गर्नको लाागि पनि स्रोत चाहिन्छ । कतिपय अवस्थामा अन्तबाट आएको सहयोगले मात्र पुग्दैन् । कतिपय कैदीहरु छुटाउन उनी पसलको पैसा खर्च गर्छन् । भन्छन्– ‘आफूबाट सुरुवात गर्यो भने काम गर्न सजिलो हुन्छ । जस्तोसुकै असम्भव काम पनि सम्भव हुन्छ ।

 

जेलमा समस्या बाहेक केही छैन जेलमा उनले समस्याको जालो मात्र देखेका छन् । पुराना राणाकालिन दरबारहरुलाई जेल बनाएको हुनाले भत्किने अवस्थामा पुगेको छ । गत वर्षको भूकम्पबाट केन्द्रिय कारागारका दर्जनौ कैदीले ज्यान गुमाएका थिए । जेलमा बस्नमात्र हैन, खान पिउन र सुत्न सबैको समस्या छ । न खेलकुदको सामाग्री छ, न पढ्नको लागि पुस्तकालय नै छ । खानेपानी शौचालयको समस्या अधिकाशं जेलहरुमा छ । जेलमा बसेकाहरुलाई सरकारले कुनै सीपमुलक तालिम पनि सिकाउन सकेको छैन । उनीहरु काम पनि नहुने र अन्य गतीविधी पनि नहुने भएकाले जेल गएपछि झनै समस्यामा पर्ने गरेका छन् । उनको संस्थाले जेलका यस्तै समस्याहरु निराकरण गर्दै आएको छ । कतै खानेपानी उपलब्ध गराइदिएको छ भने कतै शौचालयको व्यवस्था गरिदिएको छ । कतै पुस्तकालय बनाइदिएकाे छ त कतै खेलकुद सामाग्री उपलब्ध गराएका छन् । ‘यत्ति कामले समस्या समाधान हुनेवाला छैन । जेलभित्र छिरेपछि समस्या नै समस्या छ । उनी अगाडि भन्छन् –‘ जेलभित्र तथा बाहिरका सबै समस्याहरु समाधान गर्न निरन्तर पहल गर्ने छु ।’ उनले जेलभित्र र बाहिर निकालेपछि पनि सीप सिकाउँदै आएका छन् । उनी भन्छन्– ‘जेलबाट निस्केपछि फेरि कोहीपनि जेल जानू नपरोस् । जेल पर्ने सबै अपराधी हुदैनन् । समाजले जेल पर्ने सबैलाई अपराधीको नजरले नहेरोस् । किनकि, समाजले नै निर्धारण गर्छ त्यो मान्छेले फेरि जेल जाने काम गर्छ की गर्दैन् ।’ नेपालमा हालसम्म १८ हजार कैदीहरु ७४ वटा जेलमा रहेका छन् । दुईवटा बालसुधार केन्द्र छन् । जेलभित्र काम गर्ने हिडन लाइफजस्ता अन्य संघसस्थाहरु पनि छन् । सरकारले ध्यान दिने हो भने जेलभित्रको समस्या र कैदीहरुको जीवनस्तर उकास्न धेरै मेहनत नलाग्ने उनको भनाई छ । ‘सबैले सबैसँग सहकार्य गरेर, कसैले कसैको खुट्टा नतानिकन काम गर्ने हो भने जेलको समस्या समाधान गर्न सकिन्छ ।

देशको मात्र हैन, विदेशका कैदीहरुको हितमा काम गर्ने योजना छ उनी निकट भविष्यमा विदेशको जेलमा रहेका नेपालीहरुलाई निकाल्नसमेत पहल गर्ने बताउँछन् । नेपालीहरु काम गर्न गएको देशमा एकजना विदेशी प्रतिनिधी राख्ने योजनामा छन् उनी । देशको ७५ वटै जिल्लामा कार्यालय बनाएर जिल्ला कारागारको सुधारमा लाग्ने उनको योजना छ । उनको संस्थामा समाजसेवा गर्न चाहनेहरुलाई सदस्यता दिने सोचसमेत बनाएका छन् ।

 

 

 

central jail Crime hiden life foundation neplease youth vivek updhaya

विशेष