खेल

साढे १५ लाखको लागतमा पर्वतमा खेलमैदान

साढे १५ लाखको लागतमा पर्वतमा खेलमैदान
चैत्र–१८ । पर्वतको महाशिला गाउँपालिका वडा नं ३ बालाकोटमा १५ लाख ५० हजारको रुपैयाँको लागतमा व्यवस्थित खेलमैदान निर्माण भएको छ । बालाकोटस्थित दहमा खेलमैदान निर्माणका लागि युवा तथा खेलकुद मन्त्रालयबाट गत बर्ष १० लाख र यो वर्ष पाँच लाख गरी कुल १५ लाख बजेट प्राप्त भएको छ । उक्त खेलमैदान ७० मिटर चौडाइ र १५० मिटर लम्बाइमा बनेको स्थानीय खेलाडी कृष्ण गुरुङले जानकारी दिए । व्यवस्थित खेलकुद निर्माण गर्नका लागि केही रकम अपुग भएकाले सबैलाई यसमा सहयोग गर्न खेलकुद मैदान निर्माण समितिले आग्रहसमेत गरेको छ। आर्थिक अभावका कारण प्याराफिट निर्माण गर्न समस्या भएको छ । खेलमैदानमा फुटबल, भलिबल, बास्केटबल, एथ्लेटिक्सका अन्य खेल सञ्चालन गर्न सहज हुने अर्का खेलाडी रुपेश गुरुङले जानकारी दिए । मैदानको अभावमा युवापुस्तामा खेलप्रतिको रुचि कम हुँदै गएका बेला गाउँमै व्यवस्थित खेलमैदान निर्माण भएपछि स्थानीय युवायुवती उत्साहित भएका छन् । गुरुङ समुदायको बाहुल्यता रहेको उक्त गाविसमा अधिकांश युवायुवती खेलप्रति रुचि राख्दै आएका छन्। सो खेलमैदानलाई जिल्लाकै नमुना बनाउने तयारी उनीहरुको छ ।

खेलमैदान निर्माण पर्वत

विशेष