खेल

विश्वकपमा ६ देशबीच प्लेअफ, दुई देशलाई स्थान दिने प्रस्ताव अघि बढ्यो

विश्वकपमा ६ देशबीच प्लेअफ, दुई देशलाई स्थान दिने प्रस्ताव अघि बढ्यो
चैत्र–१८ । फुटबलको उच्च निकाय फिफाले सन् २०२६ मा हुने विश्वकप फुटबलमा ६ देशबीच प्लेअफ प्रतियोगिता गराएर उत्कृष्ट दुई राष्ट्रलाई ४८ देशभित्र स्थान दिने प्रस्ताव अगाडि बढाएको छ । फिफाले सार्वजनिक गरेको विज्ञप्तिमा ५ महादेशबाट १–१ राष्ट्र र ओसियाना समूहबाट एक राष्ट्र गरी ६ टोलीले प्लेअफ प्रतियोगिता खेल्ने प्रस्ताव अगाडि सारेको हो । फिफाको जनवरीमा बसेको बैठकले विश्कपमा सहभागी हुँदै आएका ३२ देशबाट बढाएर ४८ देश बनाएको हो । सन् २०२६ को विश्वकपमा ४८ राष्ट्र सहभागी हुने भनिएपनि महादेशलाई कति कोटा दिने भन्ने अझै टुँगो लागेको छैन । तर, सबै महादेशले आफूलाई चाहिने कोटा अघि सारेका छन् । सबैभन्दा धेरै १३ देश सहभागी हुँदै आएको युरोपबाट अब १६ देश हुनु पर्ने माग गरेको छ । अफ्रिका महादेशबाट ५ देश सहभागी हुँदै आएकोमा त्यसलाई बढाएर ९ देश हुनु पर्ने प्रस्ताव अघि सारेको छ । त्यस्तै एसिया महादेशबाट ४–५ देश सहभागी हुँदै आएकोमा त्यसलाई बढाएर ८, उत्तर–मध्य अमेरिका तथा क्यारेबियनबाट ३–४ बाट ६, ओसियानाबाट १ देश र दक्षिण अमेरिकाबाट ४ देश सहभागी हुँदै आएकोमा ६ हुनु पर्ने प्रस्ताव अघि सारेका छन् । फिफाको आउँदो मे ९ तारिखमा बस्ने बैठकले उक्त प्रस्तावमाथि छलफल गरी टुंगो लगाउने बताइएको छ ।

प्लेअफ प्रतियोगिता फिफा फुटबल विश्वकप

विशेष