स्वास्थ्य

विश्वभरी तीस करोड मानिसमा मानसिक समस्या

विश्वभरी तीस करोड मानिसमा मानसिक समस्या
चैत्र–१९ । विश्वभरीका झण्डै तीस करोडभन्दा बढी मानिसमा मानसिक समस्या रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ । संयुक्त राष्ट्र संघीय निकायले विश्व स्वास्थ्य दिवसको पूर्वसन्ध्यामा यस्तो तथ्यांक सार्वजनिक गरेको हो । डब्लुएचओका महानिर्देशक मार्गरेट चानले भनिन्, ‘यो तथ्यांकले मानसिक स्वास्थ्यका बारेमा सबै देशहरुले पुनःविचार गर्नुपर्ने अवस्था देखाएको छ, सबै देशहरु फेरि जाग्नुपर्ने भएको छ, मानसिक स्वास्थ्यको क्षेत्रमा तत्कालै केही न केही गर्नै पर्ने भएको छ ।’ गत सन् २००५ देखि २०१५ सम्ममा १८ प्रतिशतभन्दा बढीले मानसिक रोगीको संख्यामा वृद्धि भएको छ । त्यसैले यस वर्षको विश्व स्वास्थ्य दिवसको नारा पनि मानसिक स्वास्थ्यसम्बन्धी राखिएको छ । आगामी अप्रिल ७ तारिख (चैत २५ गते)का दिन विश्वभर विश्व स्वास्थ्य दिवस मनाइँदैछ । मानसिक रोगीलाई सहयोग गर्न र मानसिक रोगीको संख्या बढ्न नदिनेतर्फ विज्ञहरुले जोड दिएका छन् । मानसिक समस्या भएकाका लागि सहयोगको आवश्यकता छ, स्वस्थ्य र उपलब्धिमूलक जीवनका लागि यससम्बन्धी चेतनामूलक तथा निरोधात्मक उपायहरु अपनाउनुपर्ने भएको छ । मानसिक समस्या आत्महत्याको मुख्य कारणको रुपमा देखिएको छ । मानसिक समस्याकै कारण बर्सेनि हजारौँ मान्छेको ज्यान जाने गरेको छ । मानसिक स्वास्थ्यको क्षेत्रमा लगानी पनि बढाउन आवश्यक देखिएको छ । कतिपय देशमा यस क्षेत्रमा लगानी छुट्याइएकै छैन भने कतिपय देशमा निकै थोरैमात्र लगानी गरिएको छ । मानसिक स्वास्थ्यको समस्या भएका झण्डै ५० प्रतिशत रोगीले यससम्बन्धी कुनैपनि उपचार गर्दैनन् । सरकारले स्वास्थ्य क्षेत्रका लागि छुट्याएको झन्डै औसतमा तीन प्रतिशत बजेट मात्रै मानसिक स्वास्थ्यको क्षेत्रमा लगानी हुने गरेको विभिन्न अध्ययनले देखाएका छन् । रासस/सिन्ह्वा

मानसिक समस्या मानिस विश्व विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)

विशेष