स्वास्थ्य

बिरामीकै हातमा कान उमारेर सफल प्रत्यारोपण

बिरामीकै हातमा कान उमारेर सफल प्रत्यारोपण

चैत २० । चिनियाँ चिकित्सकको एक टोलीले दुर्घटनामा कान गुमाएका एकजना बिरामीको लागि बिरामीकै हातमा दाहिने कान उमारेर प्रत्यारोपण गरिदिएका छन् ।

चिकित्सकहरुले कानको लोती बिरामीकै हातको नाडीभन्दा पछाडिको भागमा कृत्रिम पद्धतिबाट उमारेर दुरुस्तै देखिने गरी शल्यक्रियामार्फत् सफल प्रत्यारोपण गरिदिएका हुन् ।

प्रत्यारोपण टोलीका प्रमुख प्लाष्टिक सर्जन डा.गुओ शुझोंगले गत साता करिब सात घन्टा लगाएर शल्यक्रिया सम्पन्न गरिएको बताएका हुन् ।

डा. शुझोंगकाअनुसार ‘जी’ नाम गरेका ती व्यक्तिको दुर्घटनामा दाहिने कान पूर्णरुपमा क्षति भएपछि उनकै हातमा एक महिना लगाएर कान उमारिएको थियो । उनले भने–‘उमारिएको त्यहि कानलाई काटेर दाहिने कान प्रत्यारोपण गरिएको हो ।’अहिले ‘जी’ नाम गरेका ती व्यक्तिले कान प्रत्यारेपणपछि पहिलेकोजस्तै अनुभव भएको बताएका छन् । अस्पतालले उनको कानको प्रत्यारोपण सफल भएको पुष्टि गरेको हो ।

डा. शुझोंग शीआन सहरस्थित जियाओटोंग विश्वविद्यालयअन्र्तगत् मेडिकल अस्पतालमा काम गर्छन् ।सन् २०१५ मा कार दुर्घटनामा आफ्नो कान गुमाएपछि ‘जी’ अस्पताल भर्ना भएका थिए । उनको उमेर, थर र ठेगाना गोप्य राखिएको डेलीमेल अनलाइनले उल्लेख गरेको छ । अस्पतालकाअनुसार ती व्यक्तिको अनुहारलगायत शरीरका अन्य भागहरुसमेत क्षतविक्षत भएकाले सबै उपचार क्रमश गर्दै लगिएको थियो ।

अस्पतालले भनेको छ–‘जीकै चाहनाअनुसार उनको यो अन्तिम शल्यक्रिया गरिएको हो । यसपछि उनी पूर्णरुपमा स्वस्थ्य हुनेछन् ।’ ‘जी’ले यसअघि नै चाइना न्यूजलाई एउटा कान गुमाएकोले आफूलाई नराम्रो लागेको र साथी–भाइहरुले जीस्काउनेसमेत गरेकाले दुःख लागेको बताएका थिए ।

कानकै कारण ‘जी’को मानसिक स्वास्थ्य खराब देखिएपछि चिकित्सकहरुले नयाँ उपायको खोजी गरेका थिए । डा. शुझोंगले सुरुमा उनलाई कृत्रिम कान संयन्त्र प्रयोग गराउने निर्णय गरेका थिए ।

तर, गत नोभेम्बर महिनामा ‘थ्रीडी प्रिन्टिङको’ सहायताले मानिसको शरीरको कुनैपनि भागमा मासुलाई चाहेको आकृतिमा बढाउन सकिने पद्धतिको सफल परीक्षण गरिएको थियो । यसै पद्धतिमा रहेर जीको देब्रे कानको बनोटअनुसार दाहिने कानको स्केच तयार पारी उनकै हातको मासुलाई कानको आकारमा उमारेर प्रत्यारोपण गर्ने निर्णय डा. शुझोंगले लिएका थिए ।

करिब एक महिना लगाएर ‘जी’कै हातमा कान उमारिएपछि सात घन्टाको शल्यक्रियामार्फत् कान प्रत्यारोपण गरिएको हो ।अस्पतालकाअनुसार जी अहिले अस्पतालमै रहेको र उनी पूर्णरुपमा निको भएपछिमात्रै घर जाने अनुमति दिइने उल्लेख गरेको छ ।

डा. शुझोंग र उनको टिम हरेक वर्ष करिब ५०० बालबालिकाका लागि यसै पद्धतिबाट उपचार गर्ने तयारीमा छन् । उनले सन् २००६ मा चीनमा पहिलोपटक अनुहारको सफल प्रत्यारोपणसमेत गरेका थिए ।

` Ear

विशेष