प्रहरीसँग पहिले नै सेटिङ मिलाएर बाबुरामले पक्राउको नाटक गरे
प्रा.डा. सुरेन्द्र केसी बाबुराम भट्टराईको राजनीति भनेको देश सिध्याउने खेल हो । पतिले चलाएको खेलमा पत्नीको भूमिका हुनु कुन ठूलो कुरा भयो र ! अहिलको गतिविधि भनेको नेपाली जनतालाई दुःख दिएर, तड्पाएर देश सक्नकै लागि हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशी एअर मार्सल राख्न दिनु पर्छ भनेर प्रस्ताव लैजाने पहिलो व्यक्ति हिसिला यमी हुन् ।
हिसिला यमी यहि देशमा जन्मेकी, यहि माटोकी पुत्री, राष्ट्रवादी नेताकी छोरी भएको नाताले उनीमाथि कुनै गलत नगर्लिन भन्ने अपेक्षा त थियो । तर स्वार्थ र लिप्साका कारण हिसिला पनि बाबुरामकै पथमा गइन् ।
यीनले देश खारेजीको माग राख्नुलाई पनि म अनौठो मान्दिन । किनभने यो त बाबुरामको लाइन नै हो । उनले समाज रुपान्तरणका लागि राजनीति गरेकै होइनन् । आइतबार बाबुराम भट्टराई आफ्नै प्लानिङमा पक्राउ परेको खबर आएको छ । राजनीतिक स्टन्ट र जनताको ध्यान तान्न बाबुरामले प्रहरीसँग कुरा मिलाएर आफू पक्राउ परेका हुन् ।
[caption id="attachment_63606" align="alignleft" width="200"] प्रा.डा. सुरेन्द्र केसी[/caption]भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना विदेश सचिव एस. जयसंकरलाई नेपाल पठाएर संविधान जारी नगर्न दबाब दिए । त्यो दबाब प्रचण्डले मानेनन् । बाबुराम रिसाए । अनि जयशंकरले ‘हामीले हुन्छ नभनी संविधान जारी गरेपछि त्यो संविधान कार्यान्वयन चाहिँ कसरी हुन्छ, हेरौला’ भनेका थिए । अहिलेका घटनाक्रम जति पनि देखिरहनु भएको छ, तिनै जयशंकरको भनाइ प्रमाणित गराउन वा उनको भनाइ सत्य सावित गर्न संविधान कार्यान्वयन हुन नदिने प्रपञ्च हो । यो प्रपञ्चको एउटा सरोकारवाला पक्ष मधेसी मोर्चा र अर्को बाबुराम पनि हुन् ।
बाबुरामको त यो देशमा अब उपयोगिता पनि सकिसकेको छ । उनको राजनीतिले देशमा टाउको उठाउने अब कुनै सम्भावना पनि छैन । सामाजिक राजनीतिक क्षेत्रमा उनको हैसियत नै देखिदैन । अब उनी राजनीतिक हिसाबले समाप्त भएका छन् । पहिले पनि मैले भनेको थिएँ । अब पनि भन्छु बाबुरामले १७ हजार मान्छे मारेकोमा माफी मागेर पश्चताप गर्दै राजनीति छाडेर जेएनयुको भिजिटिङ प्रोफेसर भएर काम गर्दा हुन्छ । राजनीतिमा काम छैन ।
यी बाबुराम कुनै बेला मोहन विक्रम सिंहको एक संगठनको जिल्ला कमिटी सदस्य थिए । यीनलाई प्रचण्डले सोझै पोलिटब्यूरो सदस्य बनाएर लगे । उनको महत्वाकांक्षा बढ्दै गयो । न पार्टी अध्यक्ष, न संसदीय दलको नेता उनै नेपालको प्रधानमन्त्री पनि भए । उनैले काठमाडौं युनिभर्सिर्टीबाट सुरेशराज शर्मालाई निकालेर ध्वस्त पारिदिए । रसायनशास्त्रको मान्छे (उनकी जेठी सासू)लाई लोकसेवाको अध्यक्ष बनाए । केयुकेएलमा त्यस्तै गरे ।
देश सिध्याउने खेलको अर्को डिजाइन भनेको मधेसलाई पहाडबाट छुट्याउने, पहाड र मधेसमा बेग्ला बेग्लै चुनाव गराउने, अनि बहुराष्ट्रको देश नेपाल हो भनेर प्रमाणित गराउने हो । यो धन्दामा लाग्नेहरु पनि छन् । तर दूर्भाग्य मान्नु पर्छ, यस्तो संवेदनशील विषय नेपाली कांग्रेस जस्तो ठूलो पार्टीको सभापति शेरबहादुर देउवा नै बुझ्दैनन् । थाहा पाउँदैनन् ।
संवैधानिक समितिको सभापति बाबुराम नै थिए । भित्र संविधानमा हस्ताक्षर गरे, बाहिर आएर विरोधमा उफ्रिन थालिहाले । भारत पनि संविधान जारी भएको भनेर रिसाइरहेको थियो । मधेसी मोर्चामार्फत ताण्डव गरिरहेको थियो । बिचरा बाबुराम त्यो धारविपरीत कसरी जान सक्थे । लाजै पचाएर आफैले हस्ताक्षर गरेको संविधानको विरोधमा उभिए ।
मलाई एकजना साथीले हिजो फोन गरेर भने कि ‘नेपालका राजनीतिक दलहरु धेरै गन्हाए, तपाईहरु राजनीतिमा आउनु पर्यो । काठमाडौंको मेयरमा उठनुस् । ५० लाख खर्च गर्दा मेयर भइ हालिन्छ ।’ अर्को एकजनाले सुनायो, ‘काठमाडौंको मेयरकालागि ५० करोड खर्च हुन्छ । त्यति खर्च गर्दा पनि फरक पर्दैन ।’
कुरा के रहेछ भने काठमाडौंको बजेट १ खर्बको हुन्छे रे, त्यसको एक प्रतिशतमात्रै जोगाउन सक्ने हो भने पनि १ अर्ब त भइहाल्छ । यस्तो हिसाब लगाइँदो रहेछ ।
अब मेरो मनमा आएको प्रश्न के भने यसरी जितेको चुनावको के अर्थ ? यस्तो राजनीतिले देश कहिले बन्छ होला ?
अन्तमा म नेपालका दाजुभाई दिदीबहिनीहरुमा के भन्छु भने देश सिध्याउने खेलमा नेताहरु लागेका छन् । सतर्क रहनु होला । (प्रा.डा. केसीसँग गरिएको कुराकानीमा आधारित)